Logo
Logo

मन्त्रीसँग डनहरूको कनेक्सन


2.5k
Shares

काठमाडौं । उपत्यकामा राजनीतिक आडमा गुन्डागर्दी फेरि मौलाउन थालेको छ । पछिल्लो केही वर्ष प्रहरीले नरम रणनीति लिएको फाइदा उठाउँदै गुन्डाहरू सक्रिय हुन थालेका छन् ।

काठमाडौंका पछिल्ला दुई घटनाले पनि यसको संकेत गरेको छ । गत महिना ठमेलमा एक समूहले क्लब सञ्चालकमाथि कुटपिट ग¥यो भने, गत साता बौद्ध एरियामा हप्ता असुल्ने समूह समातियो ।

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डानाइके कुमार घैंटे समूहका युवराज गुरुङ लगायतले गत महिना ठमेलको ओम्निमिया क्लबका सञ्चालक राजेन्द्र गुरुङ लगायतमाथि कुटपिट गरेको थियो । सानुभाई उपनामले चिनिने गुरुङ घटनापछि पोखरा भागेका थिए ।

प्रहरीले इन्काउन्टर गर्ने तयारी गरेको सूचना पाएपछि काठमाडौं फर्कदै गर्दा नागढुंगामा समातिएका थिए । सो मुद्दामा जिल्ला प्रशासनले १० हजार धरौटी माग गरेकोमा नतिरी जेल गएका छन् । आफुमाथि प्रहरीले गोली हान्ने सक्ने डरले नै उनी भागेको बताइन्छ ।

घैंटे इन्काउन्टरमा मारिएपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिड्ने गर्दथे । त्यसपछि केही समय निष्क्रिय भएका उनी पछिल्लो समय कांग्रेस नेताहरूकै संरक्षणमा गुन्डागर्दीमा लागेका छन् । अर्थमन्त्री रहेका डा.प्रकाशशरण महत लगायतसँग उनको निकटस्थ सम्बन्ध छ ।

नुवाकोटका धेरै ठेकदारहरु पनि उनको समूहबाट आजित हुँदै आएका थिए । ठमेलका क्लबहरुमा समूह लिएर जाने र पैसा नतिरी धम्काउने गरेका थिए । उनी पक्राउ परेपछि धेरैले प्रहरीमा उनले दिएको धम्की सुनाएका छन् । यसले गुन्डागर्दी भित्रभित्रै मौलाउँदै गएको प्रष्ट हुन्छ ।

त्यस्तै, गत १६ साउनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बौद्ध क्षेत्रमा गुन्डागर्दी गर्ने पाँच जनालाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकका श्याम लामा, विक्की लामा, भिमबहादुर बस्नेत, गोविन्द गजमेर र प्रविण तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरुमा स्थानीयले बौद्ध वृत्तमा उजुरी गरेका थिए । तर, बौद्ध वृत्तका डिएसपी हरि बस्नेत र गुन्डागर्दीमा संलग्नहरू सिन्धुपाल्चोककै स्थानीय भएकाले कारबाही भएन । त्यसपछि अपराध अनुसन्धान कार्यालयले एक्सन लिएको हो ।

पक्राउ परेकाहरुको स्वास्थ्यमन्त्री मोहन बस्नेतसँग निकटता देखिएको छ । नेता र केही प्रहरीकै आडमा उनीहरुले हप्ताअसुली गर्दै आएका थिए । बौद्ध वृत्तका डिएसपी बस्नेत स्वास्थ्यमन्त्रीकै आफन्त हुन् । नेता बस्नेतले नै उनलाई बौद्धमा सरुवा गरिदिएका हुन् । त्यसकारण बौद्ध क्षेत्रमा कांग्रेस निकट टोले गुन्डाहरुको आतंकबाट स्थानीयहरु हैरान भएका थिए ।

विगतमा यस्तै आतंक मच्चाएपछि प्रहरीले केही डनलाई इन्काउन्टर गरेको थियो । २०७१ सालमा डन दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा परे । त्यतिबेला अपराध महाशाखाको प्रमुख पुष्कर कार्की थिए । त्यसको एक वर्षपछि कुमार घैंटे मारिए । सर्वेन्द्र खनालको नेतृत्वमा त्यो अप्रेसन भएको थियो । पछि रुपन्देहीमा मनोज पुनको समूह मारियो ।

त्यस्तै, २०७५ सालमा बालक अपकरण गर्ने दुई व्यक्ति भक्तपुरमा मारिएका थिए । यी इन्काउन्टरपछि पेशेवर अपराधीहरू डराएका थिए । पुराना डनहरू समेत सुध्रिए । तर, अहिले प्रहरी नरम भएपछि उनीहरु सक्रिय भएका छन् ।

जसकारण फेरि इन्काउन्टरबारे प्रहरीले छलफल थालेको छ । त्यसैका लागि पनि एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको चर्चा प्रहरीमा छ । उनी विगतमा चरी र मनोज पुन इन्काउन्टरमा संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्