काठमाडौं, १७ पुस । भ्रमण बर्ष २०२० को उदघाटन बुधबार दशरथ रंगशालामा भब्यरुपमा सम्पन भएको छ । भ्रमण बर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो । भ्रमण बर्षको उदघाटन समारोहको स्वागत मन्तब्य नायक राजेश हमाललाई गर्न लगाइएको थियो । भ्रमण बर्षका संयोजक ब्यापारी सुरज बैद्य हुन् ।
भ्रमण बर्षको स्वागत मन्तब्य संयोजक बैद्यबाट ब्यक्त गर्न लगाउनुपर्नेमा कलाकार हमालबाट गराइएको थियो । हमालले स्वागत भाषण गरिरहँदा भ्रमण बर्षका संयोजक बैद्य दशरथ रंगशालाको ग्राउन्डमा ज्याकेट लगाएर डुलिरहेका थिए ।
पर्यटन ब्यवसायीलाई भ्रमण बर्षको संयोजक बनाउनुपर्नेमा गाडीको कारोबार गर्ने बैद्यलाई बनाइएपछि नै प्रश्न उठेको थियो । पर्यटन क्षेत्रको बारेमा जानकारी नै नभएका बैद्यलाई संयोजक बनाएर भ्रमण बर्षको गरिमा घटाउने काम गरिएको ब्यवसायीले गुनासो गर्दैआएका थिए ।
त्यसैगरी, भ्रमण बर्ष उदघाटन समारोहमा भीभीआइपीका लागि निलो पासको ब्यवस्था गरिएको थियो । मन्त्री, सांसद, सचिव र प्रतिष्ठित ब्यक्तिहरुलाई भीभीआइपी कार्ड दिइएको थियो । अपराह्न ३.३० बजे भीभीआइपीका लागि भन्सार विभागअगाडिको निलो गेटबाट प्रस्थान गर्ने सूचना गेटमा टाँसिएको थियो । ३.३० बजे भीभीआइपीको निलो गेट पुग्दा गेट बन्द थियो ।
भीभीआइपीको निलो कार्ड बोकेर जानेहरुलाई सुरक्षाकर्मीहरुले निलो गेटबाट फर्काउँदै सैनिक मुख्यालयको पश्चिम गेटबाट प्रवेश गर्न आग्रह गरेका थिए । भीभीआइपीहरु होला त नि भनेर सेनाको पश्चिम गेटबाट रंगशाला प्रवेश गर्न लाम लागे । तर भीभीआइपीको प्याराफिटमा जाने बाटो पाएनन् । त्यो प्याराफिट सेतो कार्ड बोक्ने सर्वसाधारणका लागि थियो । त्यसपछि भीभीआइपीको कार्ड बोक्नेहरु त्यहाँबाट फर्कदै मूल गेटबाट प्रवेश गरेका थिए ।
भ्रमण बर्षका लागि ३ प्रकारका कार्डको ब्यवस्था गरिएको थियो । सेतो सर्वसाधारणका लागि, पहेँलो भीआइपी र निलो भीभीआइपीका लागि । यसरी भ्रमण बर्षको उदघाटन समारोह भब्य भए पनि ब्यवस्थापन अत्यन्त कमजोर देखियो ।