Logo
Logo

जसपा बाहिरिए राप्रपालाई फकाउने प्रचण्डको दाउ


6.7k
Shares

काठमाडौं । गौर हत्याकाण्डको फाइल खोल्ने तयारीपछि सरकारमा रहेको जसपा र माओवादीबीच खटपट सुरु भएको छ । एमालेसँग कुरा नमिलेर माओवादीसँग सरकार बनाउन पुगेको जसपा गौर हत्याकाण्डको फाइल खोल्ने तयारीपछि सरकारभित्रबाटै सशंकित बन्न पुग्दा खटपट सुरु भएको हो ।

भर्खरैमात्र समाजवादी मोर्चा बनाएर एउटै निर्वाचन चिह्न लिएर आउँदो निर्वाचनमा भाग लिने तयारसमेत गरेका यी दुई पार्टीबीच खटपट सुरु हुँदा सरकारलाई अप्ठेरो परेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा बसिरहनुको कुनै अर्थ नभएको भन्दै आफ्ना पार्टीका नेताहरुसँग कुराकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचड’लाई सरकार छाड्ने सन्देश पुर्याएका थिए ।

जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिए पनि रौतहटको गौरमा २७ जनाको मृत्यु हुने गरी भएको घटनाको फाइल खोल्ने चेतावनी दिँदै प्रचण्डले सरकार छाडेपनि फाइल खोलिछाड्ने जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ ।

१७ वर्षअघि भएको हत्याकाण्डबारे छानबिन गर्ने गरी गृह मन्त्रालयले घटनाका पीडितसँग मंगलबार पाँच बुँदे सहमति गरेपछि जसपाका अध्यक्ष यादव झस्किएका थिए । मन्त्रालयमा भएको सहमतिको १ नम्बर बुँदाले गौर हत्या काण्डको फाइल खोल्ने देखिएको छ । ‘उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएको जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने,’ सहमतिमा उल्लेख गरिएको छ ।

यो सहमति आफू र आफ्ना कार्यकर्ता फसाउनका लागि नै भएको भन्दै जसपा अध्यक्ष यादव झस्किएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री दाहाललाई गौर हत्याकाण्डको फाइल खोलेमा सरकार छाड्ने सन्देश पठाएकोमा प्रचण्डले पनि जवाफी सन्देश फर्काएको स्रोतको दावी छ ।

यादवले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेर प्रधानमन्त्री दाहाललाई यस्तो सन्देश पठाएका थिए । देउवासँगको भेटमा यादवले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईंलाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठ्यारो पार्न प्रधानमन्त्री दाहाल उद्धत रहेकोे’ भन्दै फाइल खोल्ने सुरसार भएकाले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने बताएका थिए ।

स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन यादवलाई आग्रह गरेको भएपनि दाहाल सकारात्मक बन्न नसकेको र पार्टीभित्र यो फायल खोल्न दबाब रहेको बताएका थिए । देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको भेटमा दाहालले जसपा गए पनि रौतहट काण्डको फाइल खोल्ने बताएका थिए ।

माओवादीले उपेन्द्र यादवलाई बाहिर राखेर राप्रपालाई सरकारमा ल्याउन सक्ने भन्दै गौर हत्याकाण्डको फाइल खोल्न तयार भएको स्रोतको दावी छ । यद्यपि, राप्रपाले संघीय सरकारमा माओवादीसँग सहकार्य गर्न तयार भएको छैन । स्रोतले जसपा बाहिरिए राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउने तयारी प्रचण्डले गरेको सूचना देउवामा पुर्याएको छ ।

राप्रपालाई केन्द्र सरकारमा समावेश गराउँदा कोशी प्रदेशमा पनि गठबन्धन बलियो हुने र कांग्रेस नेतृत्वको सरकार टिक्ने बचन प्रचण्डले देउवालाई दिएको स्रोतको दाबी छ । यादवले प्रधानमन्त्री दाहाल आफूसँग सकारात्मक नदेखिएपछि मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका भन्दै देउवाकोमा खबर पठाइएको पनि प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । तर, ओली निवास बालकोटमा उपेन्द्र यादव नगएको र ओलीसँग भेटघाट नभएको एमालेका एक उपाध्यक्षले दृष्टिलाई बताए ।

सरकारबाट बाहिरिनेबारे बुधबार पार्टी कार्यालय बालकुमारी यादवले उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यसँग छलफल गरेका थिए । १७ वर्षअघि रौतहटको गौरमा माओवादीको सभा बिथोल्ने क्रममा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु हुने गरि भएको घटनामा यादवको हात रहेको पीडितहरूले बताउँदै आएका छन् ।

के हो गौरहत्या काण्ड ?

गौरस्थित राइस मिल्स चौरमा फोरमले २०६३ चैत ७ गतेका लागि आमसभा आयोजना गरेको थियो । फोरमको जिल्ला कमिटीले आयोजना गरेको सो आमसभाका लागि उसले केही दिन अघिदेखि नै प्रचार पनि गरिरहेको थियो । माओवादीले पनि सो स्थानमा कार्यक्रम जुधाएको थियो । पार्टी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले त्यहाँ कार्यक्रम गर्ने भन्दै अघिल्लो दिन मात्रै प्रचार गरेको थियो ।

कार्यक्रमका लागि चौरमा दुवैले १०० मिटरको दूरीमा मञ्च पनि बनाएका थिए । दुवै दलको मनोबल उच्च रहेको अवस्थामा कार्यक्रम स्थलमा झडप हुनसक्ने अनुमान धेरैको भएपनि नरसंहार नै होला भन्ने केही सोचेका थिएनन । ७ गतेको सुरुवात सामान्य थियो । बिहान ११ बजेदेखि नै फोरमको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । फोरमको कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट मानिसहरु आएका थिए । पौने २ बजे माओवादीको जुलुस सुरु भयो । कार्यक्रमका लागि उसले विभिन्न जिल्लाबाट ट्रकमा वाइसिएल कार्यकर्ता ल्याएको थियो । दुवैको जुलुस जम्काभेट हुँदा एकअर्कालाई ताली बजाएर स्वागत गरेका थिए ।

माओवादी जुलुस गरिरहेकै समयमा यता फोरमको कार्यक्रम सुरु भयो । फोरमका केही कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए । माओवादी कार्यकर्ताले सहन सकेनन । केही बेरमै उनीहरु पनि फोरमको मञ्चमाथि जाइलागे,तोडफोड गरे हानाहान भयो । कार्यक्रम स्थलमा गोलीका आवाज आएको थियो । कार्यक्रमस्थल एकै छिनमा रणभूमिका परिणत भयो, भागभाग भयो । पछि त्यहीं ६ जनाको लास भेटिएको थियो ।

त्यस्तै, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजमुनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भयो ।

कूल २७ जनामा ५ महिला र २२ पुरुषको मृत्यु भएको थियो । घटनास्थलबाट भागेका माओवादी कार्यकर्तालाई फोरम पक्षले नियन्त्रणमा लिँदै बर्बरतापूर्वक हत्या गरेको थियो । आक्रमणकारीसँग राइफल, भाटा र लाठी थिए भन्ने धेरै घाइतेहरुले बताएका थिए । सो घट्नामा उपेन्द्र यादवको हात रहेको भन्दै माओवादीले लामो समयसम्म कुरा उठाएपनि यसको सुनुवाइ भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्