Logo
Logo

ओरालो लाग्दै सानिमा बैंक


6.9k
Shares

काठमाडौं । एक समय सानिमा बैंकको क्रेज ह्वात्तै थियो । तर, पहिलेको क्रेज जोगाउन बैंकले सकेन । जसकारण अहिले यस बैंकप्रति ग्राहकको धारणा खस्कँदै जान थालेको छ । त्यतिमात्र हैन राष्ट्र बैंकको कारबाहीमा समेत सानिमा बैंक पटक–पटक पर्ने क्रम बढेको छ ।

प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे

सानिमा बैंकलाई हाँकिरहेका छन्, प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले । तर, पाण्डेले सही दिशामा सानिमाको आकार दिन भने सकेका छैनन् ।

सानिमा बैंकको ओरालो यात्रा बैंकका सूचकहरूले समेत देखाएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा यस बैंकको खराब कर्जा ह्वात्तै बढ्न पुगेको छ । मनलाग्दी ऋण दिएको यस बैंकले ऋण असुली गर्न नसक्दा खराब ऋण बन्ने क्रम बढेको हो ।

अघिल्लो आवमा बैंकको खराब ऋण कुल कर्जाको ०.३३ प्रतिशत मात्रै रहेको थियो । तर गत आवमा दोब्बरले बढ्दै १.३३ प्रतिशत खराब कर्जा थुप्रिएको छ ।

खराब कर्जा बढ्दा बैंकको प्रोभिजन रकम पनि ह्वात्तै बढेको छ । बैंकले कर्जा लगानी खासै गर्न सकेको छैन । गत आवमा बैंकको कर्जा लगानी ६.५० प्रतिशतले मात्रै बढेर १ खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । ऋण विस्तारको तुलनामा निक्षेप निकै बढी छ । निक्षेप ११.५१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च हुँदा ब्याज आम्दानीको तुलनामा बैंकको ब्याज खर्च पनि बढेको छ । बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन छुट्याउनुपरेको छ । जबकि, अघिल्लो आवमा प्रोभिजनका लागि ५५ करोड ४४ लाख रुपैयाँ मात्रै छुट्याएको थियो । खराब कर्जाको उच्च वृद्धिका कारण प्रोभिजन रकम बढ्न पुगेको हो ।

गैर आवासीय नेपालीहरूसमेतको लगानीमा स्थापना भएको यस बैंकले पछिल्लो समय आशातित प्रगति गर्न नसक्दा बैंकको लगानी खेर जाने हो कि भन्ने चिन्ता थपिएको जानकारहरू बताउँछन् ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणमा समेत बैंक कमजोर देखिएको गुनासो आउने गरेको छ ।

बैंकको सीईओको रुपमा भुवन दाहालले कार्यभार सम्हाल्दा बैंकका सूचकहरू ठिकै थिए । नेपाल राष्ट्र बैंकका नेतृत्वसँगको उठबस तथा हिमचिमका कारण बैंक जोगिएको थियो । यद्यपि, भित्र पूरै खोक्रो बन्ने तरखरमै थियो । तर अहिलेका सीईओ पाण्डेले बैंकलाई राम्रोसँग सञ्चालन गर्न नसकेको गुनासो बैंकका कर्मचारीहरूले नै बताउँदै आइरहेका छन् ।

बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन छुट्याउनुपरेको छ । जबकि, अघिल्लो आवमा प्रोभिजनका लागि ५५ करोड ४४ लाख रुपैयाँ मात्रै छुट्याएको थियो । खराब कर्जाको उच्च वृद्धिका कारण प्रोभिजन रकम बढ्न पुगेको हो ।

वि.सं. २०६८ मा विकास बैंकबाट सानिमा बैंकको वाणिज्य बैंकमा स्तरोन्नती भएको थियो । वाणिज्य बैंक बनेदेखि नै जनमानसमा राम्रो छवि बनाउँदै अघि बढेको यस बैंक पछिल्लो समय भने खस्किएको छ ।

के–के विवाद ?

केही समयअघि बैंकको विराटनगर शाखामा किर्ते हस्ताक्षर गरेको चेकमा पनि बैंकले भुक्तानी गरेको थियो । केही समय यो विषय निकै तात्यो । जसले अहिलेसम्म पनि बैंकप्रति बचतकर्ताहरू शसंकित हुने गरेका छन् । विराटनगरमा भोजपुरको षडानन्द नगरपालिका– २ का घर भई हाल मोरङको सुन्दरहरैंचा नगरपालिका – ६ का कमल घिमिरेको चेकबाट कीर्ते हस्ताक्षरमा पनि बैंकले रकम भुक्तानी दिएको हो । वैदेशिक रोजगारीमा रहेका घिमिरेको चेकमा कीर्ते हस्ताक्षर गरी ४ लाख २२ हजार रकम झिकिएको थियो ।

यसबाहेक अन्य विवादमा पनि सानिमा बैंक फसेको छ । केही समयअघि नेपाल धितोपत्र बोर्डको निर्देशन विपरित सिआश्वा शुल्क लिएपछि बैंकको चर्को आलोचना भएको थियो । शेयर भर्दा लाग्ने सीआश्वा शुल्क नियमविपरित उठाएपछि चर्को विरोध खेपेपछि बैंकले गैरकानूनी रुपमा उठाएको शुल्क पनि फिर्ता गरेको थियो भने सि आश्वा शुल्क पनि खारेज गरेको थियो ।

यस्तै नेपाल राष्ट्र बैंकले केही महिना अघि सानिमा बैंकलाई बाफियाको गम्भीर उल्लंघन गरेको भन्दै सचेत समेत गराएको थियो । सीईओलाई आफूखुसी नियमभन्दा बढी सुविधा दिएको भन्दै राष्ट्र बैंकले सचेत गराएको थियो ।

यी प्रतिनिधि घटना मात्रै हुन् । सानिमा बैंकसँग पछिल्लो समय असन्तुष्टी हुने ग्राहकहरूको संख्या पनि बढ्दो छ । बैंकले बाटो विराउँदै जाँदा यसको भविष्यप्रति चिन्ता थपिएको बैंकका पूराना कर्मचारीहरूले गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्