Logo
Logo

भैरहवामा निजी विद्यालयहरुको बद्मासी


630
Shares

रुपन्देही । सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका निजी विद्यालयहरुले छात्रवृत्ति वितरणमा जालझेल गरेको पाइएको छ । निजी विद्यालयले प्रत्येक कक्षामा प्रथम विद्यार्थीलाई शतप्रतिशत र द्वितिय विद्यार्थीलाई पचास प्रतिशत शैक्षिक शुल्कमा छुटका अतिरिक्त कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतलाई समावेशीको आधारमा छात्रबृत्ति दिनु पर्ने कानुनी प्रावधान छ । यो प्रावधानलाई कुनै पनि विद्यालयले पालना गरेका छैनन् ।

गरिव, अपाङ्ग, द्वन्दपीडित, सहिद परिवार, जनजाती, दलित, अल्पसंख्यक, पिछडावर्ग, सीमान्तकृतलगायतका समुदायका विद्यार्थीलाई छुट दिएको देखाएर नगरपालिकामा विवरण पेस गरेका विद्यालयको वास्तविकता भने फरक छ । साई ग्लोबल स्कुलमा आफ्नी छोरीलाई पढाउँदै आएका सिद्धार्थनगर–८ का एक परिवारले छोरी प्रथम हुने गरे पनि स्कुलले जम्मा ५० प्रतिशत छुट दिने गरेको गुनासो गरे । जवकी कानुनी प्रावधान अनुसार ती विद्यार्थी शतप्रतिशत छुट पाउनुपर्ने हो ।

साई ग्लोबलले अधिकांश विद्यार्थीलाई यस्तै गर्दै आएको छ । कागजमा छुट दिएको विवरण गराएर नगरपालिकाका बुझाउँदै आएको साई ग्लोबलले विद्यार्थीलाई भने पुरै छुट दिँदैन । यस्तै, भैरहवाको काशी नोबल एकेडेमीले पनि नगरपालिका झुट विवरण पेस गरेको छ । भैरहवाका ठूला र गनिएका स्कुलहरुले नै बद्मासी गरे पनि कारबाही हुन सकेको छैन । अमरज्योति, नालन्दा, शनसाइन लगायत स्कुलले नगरपालिकामा झुट विवरण पठाएर बद्मासी गरिरहेको कर्मचारीहरु बताउँछन् ।

नगरको शिक्षा समितिमा प्रभाव जमाउँदै आएका निजी स्कुलले सधैं बद्मासी गरे पनि कारबाही हुन सकेको छैन । कैयन् बिद्यालयले यस्ता समुदायलाई छात्रबृत्ति दिइएको भनि कागजी प्रक्रिया मिलाए पनि वास्तविकतामा नदिइएको र कतिपयले आफू निकट तथा अनुकुलका विद्यार्थीलाई सुविधा दिलाएर नियम अनुरुप दिएको भनि ढाँट्दै आएका छन् ।

कतिपयले एउटै घरका दुईजना पढाएमा एकजनालाई निःशुल्क वा दुईजना पढाएमा एकजनालाई सहुलियत दिने बिद्यालयको स्किमलाई नै छात्रबृत्ति दिएका देखाउने गरेका छन् । बिद्यालयले पेश गरेको विवरणमा कुन कक्षाको शैक्षिक शुल्क कति ? कुन विद्यार्थीलाई कुन समूह अन्तर्गत छात्रबृत्ति दिइएको ? कति प्रतिशत छात्रबृत्ति दिइएको ? वारेमा स्पष्ट पारिएको छैन ।

आफूले छात्रवृत्ति दिएका विद्यार्थीको सूचिसहितको बिबरण अस्पष्ट तरिकाले नगरको शिक्षा शाखामा पेश गरेका छन् । विद्यालयले पेस गरेका विवरणमा शंका गर्ने प्रशस्त ठाउँ छन् । सिद्धार्थनगरको नगर शिक्षा शाखाले छात्रबृत्ति दिइएका विद्यार्थीको नाम र अविभावकको नामसहितको सूचि पेश गर्न गत जेठ २६ मा सबै विद्यालयहरुलाई सूचना जारी गरेको थियो । निजी स्तरबाट संचालित विद्यालयले नियम अनुरुप विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने शैक्षिक छात्रवृत्ति उपलब्ध नगराएको गुनासो बढेपछि शिक्षा शाखाले उक्त सूचना जारी गरेको हो ।

सिद्धार्थनगरका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले सिद्धार्थनगरमा संचालित ४० वटा निजी विद्यालयहरुले बिबरण पेश गरेको बताए । उनका अनुसार, छात्रबृत्ति दिइएका विद्यार्थी र उनीहरुका अविभावकको नाम उल्लेख गरिए पनि बिबरणमा अभिभावकको सम्पर्क नम्बर कसैले पनि उल्लेख गरेका छैनन् । ‘उनीहरुले पेश गरेको विवरण अनुरुप विद्यार्थीले छात्रबृत्ति पाए–नपाएका वारेमा अब छानबिन गर्दै र्छौं’, लम्सालले भने, ‘पहिला सम्बन्धित विद्यार्थी र त्यसपछि विद्यार्थीका अविभावकसँग सोधपुछ गर्ने छौं ।’

केही बिद्यालयले विद्यार्थी भर्नामा छुट दिएको देखाएका छन् । जवकी, एउटा विद्यालयमा एक पटक विद्यार्थी भर्ना भएपछि उक्त विद्यालय नछाड्दासम्म विद्यार्थी भर्ना महशुल भनेर कुनै शुल्क लिन नपाउने व्यवस्था छ । विद्यालयले यसको सट्टा अन्य विभिन्न शीर्षकमा विद्यार्थीबाट शुल्क असुल्ने गरेका छन् । तर, एउटा विद्यार्थीसँग कुन–कुन शीर्षकमा शुल्क लिने गरिन्छ ? भन्ने वारेमा विद्यार्थी र अविभावकलाई पारदर्शिता गराउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्