नेपालीमा एउटा उखान छ, ‘आफ्नो जिउमा भैँसी हिँडेको नदेख्नेले अर्काको जिउमा जुम्रा हिँडेको देख्छ ।’ नेपालको राजनीतिमा आरोप–प्रत्यारोपको खेती मज्जैले चल्ने गरेको छ । अरुलाई आरोप लगाउँदा आनन्द मान्ने नेताहरुको कमी छैन । त्यसमाथि कुनै यस्ता नेताहरु पनि छन्, जसले अरुलाई गाली नगरी खाएको पनि पच्दैन ।
कुनै कार्यक्रममा निस्कनुपर्याे भने, त्यो कार्यक्रमको विषयवस्तु के हो भन्नेतिर विचारै नपुर्याई मञ्चमा माइक समाउने बित्तिकै गालीगलौज गरेर सबैलाई हँसाउने, होच्याउने प्रवृत्तिले नेपालको राजनीतिक चरित्र धुमिल बनेको छ ।
जस्तो नेता त्यस्तै कार्यकर्र्ता भनेझैं कार्यकर्ताहरु पनि आलोचनाको ‘अ’ पनि सुन्न चाहँदैनन् । कसैले नेताको आलोचना गर्यो भने सामाजिक सञ्जालमा जथाभावी शब्द पोखिहाल्छन् । कमजोरी नभएको मानिस हुँदैन । उसको कमजोरी आलोचनाबाट मात्र पखाल्न सकिन्छ ।
मनमोहन अधिकारी, तुलसीलाल अमात्यलगायत जति पनि नेताहरु थिए, सबै सामान्य नै थिए । त्यही जगमा नेपालको कम्युनिष्ट आन्दोलन हुर्कियो, बढ्यो । त्यही कम्युनिष्ट पार्टी आज विचारविहीन, गतिहीन बाटोमा हिँडेको देख्दा कसको मन नदुख्ला ?
सकारात्मक आलोचनाले सभ्य समाजको निर्माण हुन्छ । आलोचनै सुन्न नचाहने नेता र कार्यकर्ताले समाज, देश बर्बाद गराउँछ । कम्युनिष्ट भनेका सभ्य विचारका संवाहक हुन् । अरु विचारका भन्दा कम्युनिष्ट विचारधारा अगाल्ने नेता, कार्यकर्ता आलोचनात्मक चेतका हुन्छन् । जुनसुकै विषयलाई कम्युनिष्ट चेत भएका नेता, कार्यकर्ताहरुले गहिरोसँग बुझ्न अध्ययन गर्न सक्छन् । विश्लेषण गर्न सक्छन् ।
दुर्भाग्य, हिजोआज बुद्धिमा बिर्को लगाएर हो कि क्या हो, माक्र्सवादी चेत बोेकेका नेता, कार्यकर्ताहरुकै बोली, व्यवहार, चिन्तन, प्रवृत्ति गैरमाक्र्सवादी चरित्रको बन्दै गएको छ । कम्युनिष्ट पार्टी निर्माण गर्न पहिला असल, इमान्दार कम्युनिष्ट कार्यकर्ता जन्माउनुपर्छ ।
एकजना कार्यकर्ता जन्मन वर्षौं लाग्छ । तर, बिग्रन एक क्षण पनि लाग्दैन भन्ने कुरा कम्युनिष्ट नेता र कार्यकर्ताहरुको व्यवहारले देखाउँदैछ । त्यसैले कसै–कसैले माओवादीलाई ‘खाओवादी’ एमालेलाई ‘लेमाले’ अथवा ‘बा’ माले पनि भन्ने गरेका छन् ।
लोकतन्त्रका लागि वर्षौंवर्ष जेलनेल भोगेका नेताहरु सत्तामा पुगेपछि आम जनताले यसो भन्नुको कारण हरेक कम्युनिष्ट नेता, कार्यकर्ताहरुले आफूभित्र खोज्नुपर्छ । गल्ती कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ । नेता भएपछि आफू कम बोल्ने, अरुको कुरा बढी सुन्ने धैर्यता हुनुपर्छ । नेताको घरमा आउने को कार्यकर्ता इमान्दार हो, को बिचौलिया, तस्कर, भ्रष्ट हो भन्ने कुरा नेताले छुट्याउन सक्नुपर्छ । नेताका घरमा बिहान–बेलुकी चाकडी पुर्याउन जाने सबै इमान्दार हुँदैनन् ।
बेइमानको फेला परियो भने जिन्दगीभर कमाएको इज्जत जान्छ । यति कुरामा आफूलाई कम्युनिष्ट पार्टीको नेता हुँ भन्नेले विचार पुर्याउन सक्यो भने सभ्य समाज मात्र होइन, समृद्ध नेपाल पनि बनाउन सकिन्छ ।
‘मै जान्ने, मै सुन्ने’ सामन्ती प्रवृत्ति हो । आफूलाई कम्युनिष्ट नेता पनि भन्ने सामन्ती चिन्तन र चरित्र पनि बोक्ने कुराले समाजलाई अगाडि बढाउन सकिँदैन । विचारले समाजलाई अगाडि डोहोर्याउने ठूलो कुरा हो । आज विश्वमा जे जति क्रान्तिकारी परिवर्तन भएका छन्, ती सबै विचारका कारणले नै भएको हो । ‘जस्तो भाँडोमा पानी राख्यो, त्यस्तै आकार लिन्छ’ भनेझैं कम्युनिष्ट नेता, कार्यकर्ताहरुको गुण, दोषकै आधारमा सभ्य समाज निर्माण हुने हो । त्यसैले विचार मात्र महान् बोकेर हुँदैन, त्यसअनुरुपको आचरण पनि महान् हुनुपर्छ ।
नेपालकै सन्दर्भमा कुरा गर्दा पुष्पलालको पारिवारिक पृष्ठभूमि त्यति धनी थिएन । तर, पुष्पलाल यति गरिब थिए कि वनारसको गल्लीमा एक कप चिया पिउन पनि कार्यकर्ताको आशामा बस्नुपथ्र्यो । मदन भण्डारी त्यस्तै सादा जीवन उच्च विचारका नेता थिए । नक्सालमा थापा थरका एकजना व्यक्तिको घरमा उनको सामान्य डेरा थियो ।
अरुको के कुरा गर्नु केपी शर्मा ओलीसँगै १७ वर्ष जेल जीवन बिताएका मोहनचन्द्र अधिकारी अझै जिउँदै छन् । उनी श्रीमतीको पेन्सनले बाँचेका छन् । मनमोहन अधिकारी, तुलसीलाल अमात्यलगायत जति पनि नेताहरु थिए, सबै सामान्य नै थिए । त्यही जगमा नेपालको कम्युनिष्ट आन्दोलन हुर्कियो, बढ्यो । त्यही कम्युनिष्ट पार्टी आज विचारविहीन, गतिहीन बाटोमा हिँडेको देख्दा कसको मन नदुख्ला ?