Logo
Logo

‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्न’


315
Shares

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् ।

राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त गर्न जरुरी भएको बताए ।

‘हामीकहाँ विकास हुनबाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ’, उनले भने, ‘अवसर हेर्ने सुक्ष्म आँखा चाहियो यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, करछुट लगायतका सुविधा दिइरहेको छ । अहिले युवाहरुमा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाई हाबीहुँदै गएको छ, जुन चिन्ताको विषय हो ।’

अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच्नुपर्ने बताए । उनले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिए ।

अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको पनि बताए ।

चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको उनले बताए । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ ।

आर्थिक विकास, उद्यमशीलता र रोजगारी अवसर र चुनौती शीर्षकको पहिलो सत्रमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले उद्यमशीलता भनेको व्यक्तिको क्षमतामा निहित हुने र त्यस्तो क्षमता सिकाइमा भरपर्ने बताए ।

उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्वपूर्ण हुने उनको भनाइ छ । उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन नसकेको पनि पूर्व अर्थमन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्