लिम्बूवानको आठराई थुमको ऐतिहासिक महत्त्व ठूलो छ । लिम्बूहरूले सेन तथा शाह राजाबाट किपटिया अधिकारसहित स्वशासन पाउँदा उनीहरूलाई ‘राय’ पद्वी दिइएको हो । यिनै राय पद्वी पाउने आठ थरका लिम्बूहरूको मुख्य बसोबास रहेका हुँदा यस क्षेत्रलाई आठराय अर्थात् आठराई भनिन थालियो ।
आठराई क्षेत्रमा बसोबास गर्ने आठ थरका लिम्बू उल्लेख भएको एउटा पुरानो टिपोटे कागज पाइएको छ । भरत तुङघङ (हालः दिवंगत)बाट प्राप्त उक्त टिपोटे कागजमा यस्तो लेखिएको छः
सुंमेवा राय———१
हांपां राय ———१
कंदंवा राय ———१
सेंदां राय ———१
इंनां राय ———१
आंभां राय ———१
याक्सो राय ———१
पोमु राय ———१
भइकन ज्म्मा आठ राई भयाका हो ।
यो टिपोटे कागजअनुसार सुनैवा, हाङवाङ, कन्दङ्वा, सेन्दाङ, इङनाम, आङबुहाङ, यक्सो र पोमु मिलेर आठराई थुमको नामाकरण भएको स्पष्ट हुन्छ । यस क्षेत्रलाई आवाद गर्ने प्राचीन लिम्बूमध्ये हाङपाङ गाउँमा रहेका सुनैवा र हाङवाङहरू अल्पसङ्ख्यामा रहेका छन् ।
आठराई थुमलाई आवाद गर्ने प्राचीन लिम्बूहरूमध्ये यक्सोहरूको मूल आवादी आठराईको हाङपाङमा रहेको छ । यस्तै यक्सोहरू सान्थाक्रा गाउँमा पनि रहेका छन् । यस लेखमा यक्सो वंशका लिम्बूहरूको इतिहास र उनीहरूको वंशावलीसम्बन्धी चर्चा गरिएको छ ।
यक्सोको मूल थलो
ताप्लेजुङ जिल्लाको सन्थाक्रा र हाङपाङमा प्रमुख रूपमा बसोबास गर्दैै आएका लिम्बू यक्सोहरू आफूलाई प्राचीन ऐतिहासिक राजा मावोहाङका सन्तान ठान्छन् । उनीहरूले हाङपाङ र सान्थाक्रामा सुवांगी पाएका थिए । हाङपाङमा यक्सोले मूल किपटिया सुवांगी चलाएका थिए । यहाँको अन्तिम मूल सुब्बा शरणध्वज यक्सो (वि.सं.१९७६—२०५३) हुन् ।
हाङपाङका यक्सोहरू किपटिया जिम्माका क्रममा पाँच सुवांगी र तीन सुवांगीमा बाँडिएका थिए । यक्सोहरूले यस क्षेत्रमा चलाएको सुवांगीसम्बन्धी केही महत्त्वपूर्ण ऐतिहासिक कागजपत्रहरू यो लेखकसँग पनि सुरक्षित छन् ।
यक्सोहरू आफ्नो वंशावलीको इतिहास केलाउँदा मुनातेम्बेतिर पुग्छन् । यो क्षेत्र फक्तालुङ हिमाल आसपास पर्छ । त्यसबेला त्यहाँ लिम्बूहरूको मौलिक युमा धर्म जोगाउन गाह्रो भएको थियो । बौद्ध धर्मको प्रभुत्त्वले पेल्दै लगेको कारण आफ्नो मौलिक धर्म जोगाउन उनीहरू दक्षिणतिर झरे । वंशावलीअनुसार उनीहरूको पुर्खा मुनाफेनहाङ हुन् । उनलाई मुनाफेन, मुक्केगुवा वा सिक्केथुक्पा पनि भनिन्छन् । उनी साह्रै रिसाहा भएका कारण उनलाई ‘सिक्केथुक्वा’ भनिएको हो ।
सिक्केथुक्पाका छोरा लासाहाङले मौलिक धर्म जोगाउने अभियानमा लाग्दा उनको हत्या गरियो । त्यसपछि उनका शक्तिशाली छोरा उवाहाङ (सन् ८४९–८६५)ले राज्यको पुख्र्यौली विरासत थामे । इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो पुस्तक ‘किरात इतिहास र संस्कृति’ (२०६३ः८२)मा उल्लेख गरेअनुसार उनी त्यसबेलाका शक्तिशाली लिम्बू राजा थिए । उनले नयाँ धर्मदर्शन समेत प्रतिपादन गरेका थिए । उवाहाङपछि उनका छोरा मावोहाङ सन् ८६५देखि ८८० सम्म १५ वर्ष राजा भए । मावोहाङ निक्कै धार्मिक र प्रतापी राजा थिए (चेम्जोङ, २०६३ः८९) ।
आज पनि उनकै प्रतापका कारण आफूलाई मावोहाङका सन्तान वा मावोहाङवंशी भन्ने लिम्बूहरूमध्ये यक्सोहरू पनि एक हुन् । लिम्बू मुन्धुममा उवाहाङ र मावोहाङका प्रशस्त उपदेश र देववाणीहरू पाइन्छन् ।
मावोहाङका सन्तानहरू
यक्सोहरूको वंशावली ‘यक्सो इत्लाम” (२०७३ः६३)ले मावोहाङका सन्तान को को थिए भनी प्रस्ट पारेको छ । वंशावलीअनुसार यहाँ केही तथ्य प्रस्ट पार्ने प्रयास गरिएको छ ।
मुनाफेनहाङका तीन भाई छोरामध्ये जेठा लासाहाङका छोरा उवाहाङ र नाती मावोहाङ हुन् । माइला खालाहाङका सन्तान काङभा, मावखिम, यरङ्वा, लक्सम र मादेम्वा भए । यस्तै कान्छा इमेहाङका सन्तान लेप्चा भए ।
लासाहाङका चार छोरामध्ये जेठा उवाहाङ, माइला चाङ्वाहाङ, साइला पारावाहाङ र कान्छा मुरेंगन हुन् । तीमध्ये माइलातिर सुवाङसङ् र महरेसङ भए । साइलातिरका सन्तान फुरूम्वो र पालुङ्वाहरू भए । कान्छा मुरेंगनतिर तवेबुङ, मांयुक, ईजम, पतङ्वा, लाबुङ र संसंवो भए ।
उवाहाङका एकै जना छोरा मावोहाङ भए । उनका पनि एकै जना छोरा थिए, मुदाहाङ । मुदाहाङका तीन भाई छोरामध्ये जेठा थाक्मिया, माइला मुरेगन र कान्छा काप्पेनहाङ भए । मुरेगनका सन्तान तुम्वाहाम्फे, सर्वन्दुङ, यङदेन र मादेन फेन्दुवाहरू हुन् । यस्तै काप्पेनहाङका सन्तान चाहिँ लेचेन्जे, लेखक्पा, थगम्बा, लुङदेपु, हिदुम, फाक्फेक्वा मावोहरू हुन् ।
जेठा थाक्मियाका सन्तान मुजिवा हुन् । उनका सन्तान चेम्जोङहरू हुन् । कान्छा थाक्काइनहाङका दु्ई छोरामध्ये तागेहाङका सन्तान इङ्वादक, सवेइनाम, फुङदित आङ्छङ्वोहरू भए भने कान्छा सुल्लिफुङका सन्तानहरू नै यक्सोहरू हुन् ।
यक्सो वंशावलीको पुराना मुल कागजमा भने उवाहाङलाई देवानाम्जे, मावोहाङलाई देवारोङ्गे र मुदाहाङलाई देवा फुनजांपा लेखिएको छ । वि.सं. १९०९ मा तयार पारिएको वंशावलीको पुरानो सक्कली कागज यो लेखकसँग सुरक्षित छ । वंशावलीको यो पुरानो कागज आफ्ना पुर्खाले सुरक्षित राख्दै आउँदा यो लेखकका बुबा कप्तान आशबहादुर यक्सो (वि.सं. १९६८–२०४२)को सङ्कलनमा रहेको अवस्थामा फेला परेको हो ।
वंशावली लेखनको क्रम
पुरानो भएकोले यो वंशावलीमा यो लेखकभन्दा ६ पुस्तामाथिका पुर्खाहरूको नाम मात्र उल्लेख छ । श्रीवाजका छोरा फौदल, फौदलको छोरा भगिवन्त, भगिवन्तको छोरा सिंहबहादुर र सिंहबहादुरका छोरा आशबहादुर हुँदै उनको छोरा यो लेखक हो । यो वंशावलीमा श्रीवाजका बुबा श्रीदेउदेखि उताका पुस्ताको नाम हुनुले यो वंशावलीको प्राचीन महत्त्व स्पष्ट रूपमा झल्किन्छ ।
मूलथलो हाङपाङबाट धनकुटा नगरमा बसोबास गरेका कप्तान आशबहादुर यक्सोसँग भएको वंशावलीको उक्त कागजको आधारमा हाङपाङ निवासी क्याप्टेन खड्गेन्द्रसिंह आङबुहाङ (वि.सं. १९८१—२०५१)ले यक्सोहरूको विस्तृत वंशावलीको पहिलो प्रारूप २०४६ सालमा तयार पारेका थिए । यो वंशावली हाङपाङका मूल सुब्बा शरणध्वजका जेठा छोरा अमृतकुमार यक्सोले प्रकाशित गर्ने योजना बनाए पनि कुन कारणले हो, प्रकाशित हुन सकेन । तर क्याप्टेन आङ्बुहाङले तयार पारेको वंशावलीको प्रारूपबाट मूलसुब्बा शरणध्वजको हाँगा भने सानो पुस्तिकामा प्रकाशित भएको छ । यो नै यक्सो वंशावलीको पहिलो प्रकाशित प्रारूप हो ।
पछि वंशावलीलाई विस्तृत रूपमा सङ्कलन र सम्पादन गर्ने क्रममा अधिवक्ता तेजबहादुर यक्सो र तत्कालीन हाङपाङ गाविसका अध्यक्ष लक्ष्मीप्रसाद यक्सोले आ–आफ्नो ढङ्गले प्रयास गरेका थिए । यी दुवै वंशावली सङ्कलकहरूको निधन भइसकेको छ । २०७३ सालमा प्रकाशनमा आएको ‘यक्सो इत्लाम’ लक्ष्मीप्रसाद यक्सोले तयार गरेका हुन् । यसमा बौद्धिक व्यक्तित्त्व काजीमान यक्सोको पनि पसिना परेको छ ।
यक्सोको माङ्गेना यक
यक्सोहरूको यक ताप्लेजुङको तमरखोलामा रहेको छ । यस क्षेत्रलाई युमासामको तान बुन्ने ठाउँका रूपमा लिइन्छ ।
खासगरी ‘यक केगोवा’ अर्थात यकको सुरक्षा गर्ने भएकोले यक्सो भनेको हो भन्ने मान्यता रहँदै आएको छ । यक अर्थात् गढीलाई सुरक्षा गर्नका लागि शक्तिशाली हुनुपथ्र्याे । यक्सोहरूको मुकुसाम्माङ पनि भएकोले उनीहरू कुनै बेला शक्तिशाली थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ । कसैले जित्न नसक्ने र उड्न सक्ने शक्ति थियो, यक्सोहरूसँग । उनीहरूको यकलाई ‘यक्चे यक’ भनिन्छ । यक्सोहरूको सन्दर्भमा थाक्मिया र मुरेगनको गाथा गाउने गरिन्छ । क्याप्टेन आङ्बुहाङले तयार पारेको यक्सो वंशावलीको पाण्डुलिपीमा यो गाथा समेटिएको छ । गाथाको भाका यस्तो छ :
थाकमिया नु मुरेगानले मुथाक्का थाक्का
थाक्काइनले थाक्का इनले कुगप्मा
सा कुवाप्मा कुवाप्मा सा सी
यसको अर्थ होः
थाकमिया र मुरेगानको भावी सन्तान
उनीहरूको सुरक्षा गर्ने
गहनाले सुसज्जित सन्तानहरू ।
यस भाकामा थाक्मिया र मुरेगनको प्रसङ्ग आउँछ । सिक्केथुक्पाका यी सन्तान निक्कै वीर थिए र उनीले गढीको राम्रो रक्षा गरेका कारण यस्तो गाथा गाइएको हो भन्न सकिन्छ ।
यस्तै माङगेना यक मुन्धुम पनि यक्सोहरूसँग रहेको छ । जो यस्तो छ :
यक्चे यक : थिक्नाहाङ्ग इम्भामायु
थिक्नाहाङ्ग फेम्फामा यु:
साप्चारी कुलुम्मे यु:
साप्चीरी
कुलुुम्मेयो खाम्बुचङमेत्थो किधीरे
सुमेन्देत, पधेरे फाम मेन्देत, मयारे
ईमेन्देत, थुपमेन पेंवारे कप मेन्देत् थो
लासोनेत्नारो ।
यसको अर्थ होः
यक्चे यक एकापटि चाहिँ इम्भामा खोला झर्छ अर्काेतिर फेम्भामा झर्छ
ठीक त्यसको बीचमा माटोको ठूलो ढिस्कोमाथि
मलसाप्रोले पनि छुन नसक्ने ठाउँ
शालकले पनि कोट्याउन नसक्ने
चील पनि त्यसको वरिपरि घुम्न नसक्ने
मृग पनि घुम्न नसक्ने ठाउँ
माथि टुप्पा चाहिँ अलिकलि फराकिलो ठाउँ ।
यक्सोहरूको हाङपाङ आगमन
सन्थाक्रा पुगेर अमरबहादुर यक्सोले सङ्कलन गरी ल्याएको र हाङपाङ ६ का बासिन्दा हाल सैवु ४ भैसेपाटी निवासी विष्णुकुमार यक्सोले यो लेखकलाई सुनाएको यक्सोहरूको हाङपाङ आगमनको लोककथा यस्तो छ :
यक्सोहरू पहिले शक्तिशाली थिए । त्यो शक्ति चाहिँ चेलीले भगाइदिए । अहिले पनि यक्सोहरूलाई चेलीबेटीको सराप परेको भन्ने मान्यता जिवितै छ ।
पहिले यक्सोहरूलाई उड्न सक्ने शक्ति बरदानको रूपमा प्राप्त थियो । परापूर्वकालमा राजा सरेङहाङलाई उनको शत्रुले साह्रै दुःख दिइरहेका थिए । सेरेङहाङ एक्लै लड्न नसक्ने भएपछि पोमुहाङ अर्थात उड्ने राजालाई मद्दत माग्न पुगे । मद्दत माग्न जादा पोमुहाङले ‘मभन्दा अझ शक्तिशाली यक्सो छन् । उनीसँग मद्दत लिनु’ भन्ने सल्लाह दिए । यो सल्लाहअनुसार सेरङहाङ यक्सोहरूसँग मद्दत माग्न गए । दुई भाई यक्सो लड्न तयार भए । तर यी दुईलार्ई एउटा कुरा शंका भयो, शत्रु कति शक्तिशाली छ ? आफूभन्दा शक्तिशाली छ भने आफू मरिन्छ, के गर्ने सल्लाह भयो ।
जेठोले भनेछ, ‘ल हामी एउटा जोखाना हेरौं, यो ओढारमाथि एक एक लात्ती हानौं, हाम्रो पाइला ओढारमाथिको ढुंगामा गाडियो भने जित्छौं, गाडिएन भने हाछौं ।’ सोहीअनुसार दुवैले एक एक लात्ती हाने, पाइला गाडियो । उनीहरूले बुझे, हामी शत्रुलाई जित्छौं । त्यहीँ अनुसार सरेङहाङसँग उनको शत्रु चिनाई मागे ।
दुई भाइ शत्रुलाई खोज्दै गए । खोज्दै जादा शत्रुको राजा दिउँसो भात खाएर सुतिरहेको रहेछ । त्यस्तो बेला उनीहरूले आफ्नो धनुकाँड हानेर मारिदिए । शत्रुको राजा मरेपछि उनको सेनाले थाहा पाए । त्यो थाहा पाएर शत्रु सेना दुई भाइलाई खेद्दै आए । दुई भाइ भाग्दै आए । बीचमा एउटा ठूलो पहरा फाटेको थियो । दुई भाइ फाटेको पहरा नाघेर पारी पुगे । उनीहरूलाई खेद्दै आउने शत्रु पहरा नाघ्न नसकेर पहरामुनि झरे । कोही पनि पारी तर्न नसकेपछि दुई भाइलाई शंका लाग्यो । घुमेर भीरमुनि गएर हेर्दा उनीहरू सबै मरेका थिए । उनीहरूको लुगा दुई भाइले फुकाएर लगाए । लुगा १३ जोर थियो ।
यी दुई दाजुभाई सेरेङहाङसँग बस्दै आए । त्यहीँ बेला दुई भाइको फुपु पनि भदैहरूलाई पछ्याउँदै आएकी रहिछन् । भेट भयो ।
दुई भाइले तमोर मिया दोभानमा माछा मार्ने ढडिया थापेका रहेछन् । त्यहाँ सधैं एउटा मान्छे माछा चोर्न आउँदा रहेछन् । त्यो देखेर फुपुलाई सोधेछन्, ‘फुपु, त्यो हाम्रो डढियामा माछा चोर्न आउँछन् । मारि दिऊँ ?’
‘मारे पनि मार’, फुपुले भनिछन् ।
कान्छाले चाहिँ देवी देवता भाकेर धनुकाँडले हान्दा मान्छे मर्यो ।
तर सोधखोज गर्दा ती मान्छे त फुपुको प्रेमी रहेछन् । प्रेमी मारिदा फुपुलाई चित्त दुख्नु स्वभाविक भयो । त्यसपछि फुपुले उनीहरूको मुकु (शक्ति) छ, त्यो झारिदिने प्रण गरिन्, षड्यन्त्र रचिन् । भदैहरूलाई दिउँसो घाम लागेको बेला ढुङ्गामाथि बोलाई ‘तिमीहरूको लिखा जुम्रा केलाइ दिन्छु’ भनिन् । फुपुले चाहिँ लिखा तान्ने निहुँमा मन्त्र जप्दै उनीहरूको शीरमा भएको शक्ति फ्याकिदिइन् ।
त्यसपछि दुई जनाको शक्ति सकियो । जेठो भाइ निराश भए । अब यो सराप लगेको ठाउँमा बस्दिनँ भन्दै पलायन हुन मन भयो, उनलाई । सेरेङहाङले उनलाई आफ्नो राज्यमा बस्न भने पनि त्यहाँबाट पलायन हुने निर्णय गरे । उसले आफ्नो फुपुलाई सोधे, ‘म कतातिर जाँदा हुन्छ ?’ फुपुले ‘माथि फुकेको तल तिरमा सुकेको ठाउँमा गएर बस’ भनिन् । सान्थाक्राबाट त्यस्तो ठाउँ हेर्दै आउँदा चाँगेबाट त्यस्तो ठाउँ देखे । त्यो हाङपाङ थियो । हाङपाङमा जेठो र सान्थाक्रामा कान्छो बस्न थाले ।
सान्थाक्राका यक्सोहरू कान्छा सन्तान भएकोले साइनोमा ठूला छन् भने जेठा सन्तान भएकाले हाङपाङका यक्सोहरू साइनोमा साना छन् ।
यक्सोको किपटमा प्रसाईं बाहुन
लिम्बूहरूको पुरानो किपट भूमी आठराईमा कुमाई बाहुनहरू प्रशस्तै पाइन्छन् । प्रधानमन्त्रीसम्म भइसकेका केपी शर्मा ओली पनि लिम्बूहरूकै किपट क्षेत्रमा जन्मेका कुमाई बाहुन हुन् । सीपी मैनाली, राधाकृष्ण मैनाली, कृष्णप्रसाद सिटौला आदि आठराईमै जन्मेका नेताहरू हुन् ।
आठराईका कुमाई ब्राहृमणमध्ये प्रसाईंहरू हाङपाङका किपटिया यक्सो लिम्बूहरूको बोलावटमा त्यहाँ पुगेका हुन् ।
‘प्रसाईं वंशवृक्ष’ (२०५८ )लाई उद्धृत गर्दै भगिराज इङनाम र शेरबहादुर इङनामले ‘तेह्रथुम जिल्लामा सुब्बागी प्रथा’ (२०७०ः१५९)मा प्रसाईंहरूको हाङपाङ आगमनका बारेमा महत्त्वपूर्ण सन्दर्भ उल्लेख गरेका छन् ।
त्यहाँ उल्लेख भएअनुसार गोरखाका खडानन्द प्रसाईंलाई पृथ्वीनारायण शाहले अड्डा अदालतको निरीक्षण गर्ने जिम्मेवारी दिएका थिए । काठमाडौंमा एक दिन दाह्री जुँगा नभएका र राडीपाखीका लुगा लगाएका दुई जना व्यक्ति देखा परे । उनीहरूलाई ‘तिमीहरू को हौ’ भनी सोध्दा आफूहरू पल्लोकिरात आठराई हाङपाङबाट आएका लिम्बूहरू भएको र राजाले बाँधिदिएको थितिअनुसार आफूहरूले सुब्बा अमाली पाउनुपर्नेमा दाजुभाईबाट अन्यायमा परेकोले राजासँग बिन्ति बिसाउन आएको बताए ।
खडानन्दले उनीहरूको निवेदन लेखिदिएपछि उनीहरूको जिम्मावाल अमालीको अधिकार कायम हुनपुग्यो ।
यति जान्ने मानिस पनि चाहिने रहेछ भन्ने सोचेर ती सुब्बाहरूले खडानन्दलाई तपाईंहरूका सन्तान पूर्व आए भने आफूहरूको ठाउँमा आऊन् भन्ने निम्ता पनि दिए । पछि खडानन्दका छोराहरू कुलानन्द, कर्णानन्द र हर्कदेव पूर्वतिर लागे । हाङपाङमा पाँच सुब्बे यक्सोहरूले स्वागत गर्दै आफूहरूले मान्ने आराध्यदेवी युमालाई मान्ने सर्तमा कर्णानन्दलाई थरी पद दिए ।
पाँच सुब्बे यक्सोहरूमा प्रचलित भनाईअनुसार हाङपाङका मूल सुब्बाका पुर्खा राजगुन्दका पाँच छोराहरूमध्ये गजबीर लिम्बू आफूहरूको सुवांगीको विषयलाई लिएर काठमाडौं गएका थिए । सम्भवतः उनैले प्रसाईंहरूलाई आफूहरूको किपट भूमीमा आउन प्रसाईंहरूलाई निम्तो दिएका थिए ।