Logo
Logo

यी १० मध्ये दुई जनाले जित्नेछन् एक-एक करोड


1.2k
Shares

काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’को फिनाले शनिबार हुँदैछ ।

यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले ३० लाख र दोस्रोले २० लाख रुपैयाँसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ प्रस्तुती रहने छ । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको संखुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा छन् ।

यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छन् ।

तीन महिनासम्म प्रसारण भएका दुई कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको नेपाल तथा विश्वमा रहेका नेपाली कलाकारहरूले बताएका छन् । दुवै प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका प्रतिभाहरूले यही प्रतिस्पर्धाका लागि आफ्नो मातृ तथा पितृभूमि नेपाल आउन पाएकामा खुसी व्यक्त गर्दै अन्तिम प्रतिस्पर्धामा रहेको भए पनि आफूहरूले एकले अर्कालाई सफल भएको देख्न चाहेको बताउँछन् ।

यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्