आर्यूवेदको सूत्र पछ्याएर
सूर्योदयको ४५ मिनेटअघि
ब्रह्ममुहूर्तमा उठ्ने म
उठ्ने बित्तिकै एउटा चकोर देखे
चकोरले झ्वाट्ट सम्झायो
चन्द्रमा हेरिरहेको पागललाई
जो वारिपारि गरिरहेको थियो
वारिको अन्याय सहन नसक्दा
पारीको अग्नादि बोकेर आयो
महापण्डितको बोलीको अपमान
गोली बनेर फर्कायो
विद्वत्ताको स्वर्गमा बस्नेलाई
नरक भनेर ललकार्याे
वारिका चलाकहरूलाई
पारीबाट हेर्दा लाटो देख्यो
त्यो सुन्दर चकोरले बात मार्यो
चकोर फूलसँग उसैको भाषामा
चन्द्रमाको किरण हेरेर बाँच्दा पनि
सुख पाएन अन्यायको आगो देख्दा
न्यायको आगो लिएर स्वयं आगो बन्यो
चकोर रमेको शान्ति लिन
ऊ पागल बनेर भौँतारियो
उसको पागलपन अझै बाँचेको छ यहाँ
त्यसैले म पागल बन्न रुचाउँछु
जति आजका यी अपराधीहरू महान् बनेको देख्छु ।