Logo
Logo

प्रहरी सेटिङमा जुवाअखाडा संचालन, ९ जुवाडे पक्राउ पर्नासाथ छुटे


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, २० पुस । प्रहरीकै संरक्षणमा चितवनको खैरहनीमा जुवा अखाडा संचालन हुँदैआएको छ । शनिबार खैरहनीका जंगबहादुर रावलको घरमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । जुवाको खालबाट ७५ हजार रुपैयाँसहित ९ जना पक्राउ परेका थिए । तर इलाका प्रहरी कार्यालयले पक्राउ परेका जुवाडेलाई शनिबार बेलुकै सुटुक्क छाडेको छ ।

जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुलाई म्यादथप गरी मुद्दा चलाउनुपर्ने हो । तर प्रहरीलाई घुस लेनदेन गरेपछि उनीहरु छुटेका छन् । चैनपुरका हवल्दार आशबहादुर गुरुङले जुवा खालबाट मासिक रुपमा घुस लिएर संरक्षण गर्दैआएको आरोप छ । तिनै हवल्दार गुरुङमार्फत् खैरहनी इप्रकाका इन्स्पेक्टर ऋषिराम घर्ती मगरले पक्राउ परेका जुवाडे छाडेका छन् । इन्स्पेक्टर घर्ती मगर हाजिर भएको ६ दिनमात्र भएको छ । चितवनमा एसपी नभएको मौका पारी इन्स्पेक्टर घर्तीमगरले घुस लिएर जुवाडे छाडेका छन् । चितवनका डिएसपी एकनारायण कोइरालाले पनि एसपी नभएको मौकामा जुवा खालदेखि विभिन्न ठाउँबाट रकम उठाउन थालिसकेका छन् ।

चितवनका एसपी दानबहादुर मल्ललाई १२ घन्टे अल्टिमेटम दिएपछि रमाना बुझेर काठमाडौंतर्फ गइसकेका छन् । चितवनमा एसपी गंगा पन्तलाई सरुवा गरिएको थियो । तर उनलाई पनि पठाउने नपठाउने टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्