काठमाडौं, २२ पुस । ललिता निवास बालुवाटारको १ सय १४ रोपनी जग्गा अतिक्रमण गर्ने देशका प्रतिष्ठित ब्यक्तिहरु नै रहेका छन् । नीति निर्माण तहमा रहेका र प्रभाव पार्नसक्नेहरुले नै प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवाससँगैको जग्गा अतिक्रमण गरे ।
यस्तै नीति निर्माण तहमा रहेकाहरुले ललितपुरस्थित सैबुको नख्खु खोलाको हजार भन्दा बढी रोपनी जग्गा अतिक्रमण गरेका छन् । नख्खु खोला बग्ने ठाउँ नै अन्यत्र सार्ने निर्णय मन्त्रिपरिषदबाट २०६५ मंसिर १ मा गरेर हजार रोपनी जग्गा अतिक्रमण गर्नेमा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्व शिक्षामन्त्री तथा नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव, मनकामना केवलकारका संचालक राजुबाबु श्रेष्ठ लगायतका भीभीआइपीहरु छन् । यादव केही दिनअघिसम्म पनि वर्तमान सरकारमा कानुन मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री थिए ।
नख्खु खोलाको बहावको बाटो नैनक्कली बनाएर जीवनभरको कमाइ खर्च गरी जग्गा किनेर घर बनाएका अमृता थापा, उत्तर गुरुङ लगायतका करिब ३ सय घर परिवारलाई नै उठीबास लगाउने काम भएको छ । अहिले ती भीआइपीहरुले स्थानीयलाई धम्काएर धमाधम नख्खु खोला बगिरहेको ठाउँमा जग्गा प्लानिङ गरिरहेका छन् । र, जनताको घरजग्गा भएको ठाउँमा नक्कली नदी बग्ने ठाउँ हो भनी पर्खाल लगाइरहेका छन् ।
नक्कली नख्खुखोलामा छिटो ढल हाल्न पनि उनीहरुले सहरी विकास मन्त्रालयमा दबाब दिइरहेका छन् । वडाबासीको हितमा लाग्नुपर्ने हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष कुमार कार्की समेत नख्खुखोला सार्न उद्यत देखिएका छन् । उनले समेत नख्खुखोलाले चर्चेको ४५ रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरी प्लटिङ गर्ने गरी कीर्ते नख्खुखोलाको बहाव बदल्ने र सयौं बासिन्दाको उठिबास गराउन लागेका छन् ।
हाल नख्खु खोला बगिरहेको ठाउँलाई १ सय मिटर पर सारी खोला बगेको बगरको सबै जग्गा उनीहरुले कब्जा गरी प्लटिङ सुरु गरेका छन् । र, अरबौं कमाउने नियतका साथ ३ सय बासिन्दालाई उठिबास लाउँदैछन् । बागमती सभ्यता एकीकृत विकास समितिबाट धमाधम ढल हाल्नेदेखि पर्खाल लगाउने काम गराउँदै छन् । नख्खु खोला बगिरहेको ठाउँमा उनीहरुले जग्गा प्लानिङ गरी ललितपुरको संैबुतिर कीर्ते नख्खुखोला हो भनेर पर्खाल लाएका कारण करिब ३ सय घर परिवार विस्थापित हुने भएका छन् ।
बीसौं बर्षअघिदेखि जीवनभरको कमाइ खर्च गरेर घर बनाएका नागरिक विस्थापित हुने भएका छन् । पुष्पकमल दाहाल‘प्रचण्ड’ २०६५ सालमा प्रधानमन्त्री हुँदा उपेन्द्र यादव उपप्रधानमन्त्री थिए । त्यही बेलाको मन्त्रिपरिषदबाट नख्खुखोला हाल बगिरहेको ठाउँबाट सैंबुपट्टि सार्ने निर्णय गरी बागमती सभ्यता विकास समितिदेखि सबैतिर त्यो निर्णय अनुसार ब्यवस्थापन गर्न निर्देशन दिइयो । मन्त्रिपरिषदको निर्णय भएको जानकारी सैबुका बासिन्दाले नख्खुखोला नै नभएको बस्तीका बीचमा नक्कली खोला बनाउन सुरु गरेपछि मात्र थाहा पाए । साविक सैंबु गाविसबाट नक्सापास गरी घर बनाएका थुप्रैको घर नै डोजर लगाएर भत्काउन थालिएको छ ।
सबै कमाइ जम्मा गरेर संैबुमा २ बर्षअघि जग्गा किनेकी बन्दिता थापाले भावुक हुँदै भनिन्–‘जीवनभरको कमाइ खर्च गरेर जग्गा खरिद ग¥यौं, नख्खु खोला ऊ पारी (१ सय मिटर पर देखाउँदै) बगिरहेको छ, तर सरकारमा बसेका शक्तिशालीहरुले रातारात नख्खु खोला सारेर मेरो जग्गामा डोजर लगाएर नख्खुखोला हो भन्दैछन् । हामीलाई घरबारविहीन पार्न लागेका छन् ।
नख्खुखोलामा प्लटिङ गरी आनाको २५ लाखका दरले उपेन्द्र यादवहरुले जग्गा बिक्री गर्न थालिसकेको सुनेका छौं, हामीलाई घरबारविहीन पार्ने काम राज्यका शक्तिशाली ब्यक्तिबाटै भएको छ । बैंकबाट ऋण लिएर घर बनाएको, अब रातारात नख्खु खोला यही हो भन्दै भत्काउन थालिएको छ । अब के गर्ने ? नदी नै सार्ने ? अन्यायको हद भयो, हामी आत्मदाह गर्ने अवस्थामा पुगेका छौं ।’
अख्तियारदेखि सबैतिर सेटिङ मिलाएर नख्खुखोला सार्ने काम उपेन्द्र यादवहरुले २०६५ सालमै गरेको कुरा सैबुबासीले थाहा पाउन सकेनन् । अहिले आएर खोला यही हो भन्दै पर्खाल लाउन थालेपछि पो थाहा पाएका छन् ।