Logo
Logo

एमालेलाई इन्द्र आङ्बो प्रश्न- सांसदलाई रातारात बिरामी बनाएर किन दुःख दिएको ? 


9.7k
Shares

काठमाडौं । कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेले आफ्ना सांसदलाई नाटकीय रुपमा अनुपस्थित गराएको बताएका छन् ।

सोमबार प्रदेशसभा बैठकमा बोल्दै आङ्बोले एमालेले संसद् विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले किन भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘संसदभित्रबाट बेकाइदा विश्वासको मत लिने हो । संसद विघटन गर्न खोजेको होइन । त्यसो भएकोले सांसदहरूलाई रातारात बिरामी बनाएर किन दुःख दिएको ? आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहिने । अरुको नेतृत्वमा बहुमत हुने बेलामा गंगालाल अस्पतालमा लगेर सांसदलाई सुताइदिने ?  यो विचित्रको प्रदर्शन प्रदेशसभामा किन गरिरहेका छौं ।’

आङ्बोले घरायसी समस्यामा परेको भन्दै बिदा लिएका सांसदहरू एनजिओको कार्यक्रममा सहभागी भएको दृष्टान्त दिए । ‘तीन दिन अगाडिसम्म सहमतिमा फर्कौं, सहजीकरण गरौँ, सहकार्य गरौँ भन्ने राजनीतिक दलबाटै अहिले असंसदीय क्रियाकलाप भयो । यो सुहाउँदो कुरा होइन,’ उनले भने, ‘बिरामी भएर प्लेनमा चढेर आफैं हिँडेर अस्पतालमा किन लगियो । यसको पुष्टि कसरी हुन्छ रु यसरी यो सदन, संसद् र प्रदेशको दायित्वप्रति हामीलाई कति जिम्मेवार र जवाफदेही बनाउँछ ?’

उनले सामान्य विषयमा महिनौँ संसद् विघटन गर्नेहरूसँग सहज संसदीय अभ्यासको अपेक्षा कति गर्ने भन्ने विषय सोच्ने विषय भएपनि जिम्मेवारी राजनीतिक दलहरूले सकारात्मक सन्देश दिने बेलामा कोशी प्रदेशमा मनपरी भइरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्