एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा आफ्नो मनमौजी नचलेपछि केपी शर्मा ओलीले पहिला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि बाँकी रहेको एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाललगायतका प्रतिस्पर्धीहरूलाई गलहत्याएर एकलौटी बनाएको एमालेमा फेरि नयाँ ध्रुवीकरण सुरू भएको छ ।
ओलीको एकलकाँटे नेतृत्वमा पार्टी लगातार ओरालो लागिरहे पनि उनले बाँचुञ्जेल पार्टी नेतृत्व नछाड्ने छाँट देखाएपछि ध्रुवीकरणले आकार लिन थालेको हो । यसका लागि हिजो ओलीका लागि मर्न र मार्न तयार रहेका उनका अनुयायीहरू नै विस्तारै सल्बलाउन थालेको संकेत मिलेको छ ।
विषयमा प्रवेश गर्नुपहिले पृष्ठभूमिको कुरा गरौं । मिर्गौला रोगले जीवनको उत्तराद्र्धमा पुगेका ओलीले एकपटकका लागि पार्टी अध्यक्ष हुने भन्दै नवौं महाधिवेशनमा माधव नेपाललाई पराजित गरेका थिए । उनले नेपाललाई हराउन महासचिव पद्धतिमा रहेको बेला एमालेको १५ वर्ष नेतृत्व गरिसकेको भन्ने चुनावी हत्कण्डा प्रयोग गरेका थिए ।
यही क्रममा उनले आफू एकपटक मात्र नेतृत्वमा रहने वाचा कसम मात्र खाएका थिएनन्, आफू कक्षा दोहोर्याएर नपढ्ने विद्यार्थी भएको भन्दै आश्वासन बाँडेका थिए । त्यतिबेला पार्टीमा शक्तिशाली रहेका वामदेव गौतमले ओलीपछि पार्टी अध्यक्ष हुने लोभमा ओलीको वैतरणी तारिदिएका थिए । त्यसो त नवौं महाधिवेशनमा ईश्वर पोखरेलको साथ लिँदा दशौंमा पोखरेललाई अध्यक्ष दिने वचन दिएका थिए ।
ओलीले कक्षा नदोहोर्याउने ललिपप र वामदेवको पार्टी अध्यक्ष बन्ने सपना त्यतिबेला ओलीको प्रतिकूल स्वास्थ्यस्थितिका कारण सिर्जना भएको पृष्ठभूमि थियो । तर, पछि ओलीको मिर्गौला प्रतिस्थापन भयो र ओलीको भाग्यसँगै वामदेवको दुर्भाग्य सुरू भयो । त्यसपछि ओलीले कक्षा नदोहोर्याउने वाचाकसम र बामदेवलाई उत्तराधिकारी बनाउने दुवै कुरा बिर्से । ईश्वर पोखरेलको कुरै छाडौं । नेकपा भाँड्न मात्र उनी प्रयोग भए । अहिले पोखरेलको राजनीति घर न घाटको बनेको छ ।
यही बीचमा ओली पहिलोपटक प्रधानमन्त्री भए । यही बेला देशमा अघोषित भारतीय नाकाबन्दी लाग्यो । महाकाली सन्धीका कारण एक राष्ट्रघाती नेताका रूपमा खलनायक छवि बनाएका ओलीले नाकाबन्दीको विरोधमा खह्रो उतारेर त्यो पुरानो छवि बदले र रातारात राष्ट्रवादका मोहरा बने । यसरी एकाएक महान राष्ट्रवादी बनेका ओली सत्ताच्युत भए पनि उनले बडेमाको राष्ट्रवादी छवि बनाए । यही छविका भरमा उनी चुनावी नायक बने ।
राजनीतिक स्थायित्वको नाममा माओवादीसँग पछि पार्टी एकीकरण गर्ने शर्तमा चुनावी गठबन्धन गरेका ओली प्रचण्ड बहुमत ल्याएर प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेको केही समयमै ओली एमाले र माओवादी पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टीको एक नम्बर अध्यक्ष बने ।
यसरी रातारात शक्तिशाली बनेका ओलीले पार्टी र सरकार दुबैको सत्ता कब्जा गरेपछि उनले आफ्नो मनमौजी सुरू गरे । उनको त्यो मनमौजी मुलतः आफ्नो गुटलाई बलियो बनाएर दोस्रोपटक पार्टी अध्यक्ष बन्ने रणनीतिको एक हिस्सा थियो ।
ओलीको मनमौजी खप्न नसकेका पूर्वमाओवादी र एमालेको नेपाल समूह एक ठाउँमा आएर उनलाई चुनौति दिए । त्यही चुनौती पार गर्न उनले दुई दुईपटक संसद् विघटन गर्ने असफल प्रयास मात्र गरेनन्, माओवादीलाई छुट्टिन चोलेन्द्र प्रयोग गरे भने नेपाल समूहलाई पार्टी छोड्न बाध्य पारे ।
यसरी एमालेलाई ‘बा’माले बनाएका ओलीले एमालेको विधानमा रहेको ७० वर्षे उमेर सीमाको खड्को टार्न निर्धारित समयभन्दा अगाडि नै महाधिवेशन गराए । यति गर्दा पनि निर्विकल्प हुने योजनामा तगारो हालेका भीम रावलविरूद्ध ओलीले केसम्म गरेनन् ?, सबैका सामु छर्लङ्ग छ ।
यस बीचमा ओलीले विधानबाटै ७० वर्षे उमेर सीमाको खड्को हटाइदिए । नेतृत्वमा आफूपछि को ? भन्ने प्रश्नको उत्तर दिने त धेरै टाढाको कुरा, त्यसको छनकसम्म नदिएर मनोमानी गरिरहेका ओलीले पार्टीमा रहेका अनेक गुटका नेताहरूको पेटी स्वार्थमाथि खेलेर आफूलाई निर्विकल्पजस्तै बनाए । एक किसिमले भन्ने हो भने एमाले कब्जा गरेर ‘बा’माले बनाए, आफूलाई कम्रेडबाट ‘बा’ बनाए ।
अब विषयमा प्रवेश गरौं । यसरी सुविचारित किसिमले एमाले कब्जा गरेका ओलीको मनमौजी यतिमा अडिएको छैन । केही समययता त उनी थप तानाशाह बन्दै गएका छन् । पार्टीको कार्यक्रममा आफूबाहेक जिउँदा नेताहरूको तस्बिर नै राख्न नपाउने निर्णय गराएका उनले केही केन्द्रीय सदस्यलाई समेत गोर्खेठ्याक लगाइदिएका छन् । यसरी गोर्खेठ्याक लगाइएकामा उनको आलोचना गर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति बफादार केन्द्रीय सदस्य नै बढी देखिन्छन् ।
यो सबै ओलीको तेस्रो कार्यकाल हुँदै बाँचुञ्जेलसम्मका लागि पार्टी अध्यक्ष भइरहने सुविचारित योजनाको हिस्सा हो । ओली पात्र हैन, प्रवृत्तिका रूपमा बुझेकाहरूले उनको यो प्रपञ्च राम्रैसँग बुझेका छन् । यद्यपि, एमाले पार्टी कब्जा गरेर ‘बा’माले बनाएका ओलीविरूद्ध बोल्नसक्ने हैसियत उनीपछिका लोभीपापीले बनाउन सकेका छैनन् । अझै पनि उनीहरू ओलीले टीका लगाइदिएर पार्टी नेतृत्व आफूलाई देलान् भन्ने आशमै मुख मिठ्याइरहेका छन् । ओलीमा कुनै नाटकीय परिवर्तन आयो भने बेग्लै कुरा अन्यथा, उनीहरूका लागि त्यो आशा ‘आकाशको फल आँखा तरी मर’ हुने निश्चित छ ।
भनाइ नै छ, शत्रुको शत्रु मित्र हुन्छ । ओलीको उत्तराधिकारी हुन लाइन लागेर एक अर्काविरूद्ध प्रयोग हुँदै आएका ओलीका जर्नेलहरूको अब होश खुल्न थाले जस्तो छ । ओलीलाई तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष बनाउनुभन्दा आफूमध्ये कोही वा तेस्रो व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने कुरामा उनीहरू सहमत भएजस्तो देखिँदैछ । झट्ट सुन्दा विश्वास नै गर्न नसकिने यो परिस्थितिले विस्तारै आकार लिदैछ ।
आखिर किन उनीहरू ‘ओली बा’लाई पार्टी अध्यक्षमा दोहोर्याउन चाहिरहेका छैनन् त ? यस प्रश्नको उत्तर सपाट छैन । राजनीतिक विश्लेषकहरू भन्छन्, ‘यसको मूलकारण ओलीको भष्मासुर प्रवृत्ति नै हो । ओली आफूलाई नभए कसैलाई पनि नहोस् भन्ने थेसिसका मान्छे हुन् । यही थेसिसले अगाडि बढेका उनी आफू नभए एमाले मात्र हैन, अरू वामपन्थी पनि बाँकी नरहोस् भन्ने चाहन्छन् । यसरी नेपालका वामपन्थीको भविष्य नै सखाप पार्ने कुबाटोमा लागेका ओली अध्यक्ष हुञ्जेल वाम–गठबन्धनको त टाढैको कुरा, वाम–मोर्चा पनि हुने कुरै छैन ।
नेपाल अब वैचारिक धरातलमा दुई दलीय ध्रुवीकरणमा नगई सुखै छैन । प्रस्तुत पृष्ठभूमिमा कांग्रेसको नेतृत्वमा दक्षिणपन्थीहरू एकातिर र एमालेको नेतृत्वमा वामपन्थीहरू अर्कोतिर हुनु नै प्राकृतिक कुरा हो । तर, ओली त्यो प्राकृतिक ध्रुवीकरण नचाहने एक प्रकारका खलपात्र हुन् । उनले एकपटक हैन, पटकपटक वाम ध्रुवीकरणलाई असफल बनाएर त्यसलाई स्थापित सत्य बनाइदिएका छन् ।
यस क्रममा उनले एमाले र माओवादी एक भएर बनेको नेकपालाई तुहाएका मात्र छैनन्, चुनावलगत्तै बनेको वामपन्थी नेतृत्वको सरकार र वामगठबन्धनको सम्भावनालाई पनि दुत्कारी दिएका छन् । राष्ट्रपतिका लागि उम्मेद्वार छान्दा इमान्दार भएको भए पनि नेपालमा वामपन्थी ध्रुवीकरणको सम्भावना जिवीतै थियो । त्यसमा पनि उनी इमान्दार देखिएनन् । त्यसपछि एमालेले केन्द्रीय सत्ता र प्रदेश सत्ता सबै गुमाएर लगभग एक्लो अवस्थामा पुगेको छ । अहिले ऊ वामपन्थी गठबन्धनकै कारण प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाको नेतृत्व मात्रै रहेको अवस्थामा छ ।
ओली अध्यक्ष हुन्जेल एमाले यसरी नै अगाडि बढ्ने र त्यसबाट नेपालका वामपन्थी भारतको पश्चिम बंगालपथमा जाने सम्भावना बढ्दो छ । धेरै टाढा पुग्नै पर्दैन, २०८४ को आमचुनावमा एमाले एक्लै जाने हो भने थुप्रै नेताको राजनीति भविष्य नै सकिने निश्चित छ । यसपटक नै चुनाव हारेका ईश्वर पोखरेल, शंकर पोखरेलजस्ता ठूला हस्तीको संसदीय राजनीतिमा पुनरागमन लगभग हुदैन भन्दा पनि हुन्छ ।
प्रस्तुत पृष्ठभूमीमा एमालेभित्र ओलीको विकल्पको खोजी अरू घनिभूत हुन थालेको हो कि जस्तो देखिएको छ । एमालेको अहिलेको शीर्षपंक्ति मनोवैज्ञानिक रूपमा पनि ओलीको विरूद्धमा उभिन सक्ने स्थितिमा छैन । ओलीपछिको वरियतामा पुर्याइएका ईश्वर पोखरेलको नेतृत्व सर्वसम्मत छैन । खासै अग्लो कद बनाइ नसकेका र केही घोटालामा समेत मुछिएका पोखरेललाई अध्यक्ष मान्न विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङजस्ता नेता सहजै तयार देखिदैनन् । एमालेभित्र त उनको स्थिति नाजुक छ भने माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पार्टीसँग वाम गठबन्धन गर्दै वाम एकताको बाटोमा पार्टीलाई लैजाने हैसियत आर्जन गर्ने कुरै भएन ।
यसै पनि पोखरेल नेकपा र एमाले फुटाउने खलपात्रका रूपमा बदनाम छन् । एमालेले जतिसुकै वामपन्थी भने पनि यस पार्टीमा अझै पनि जनजाति अध्यक्ष हुने कुरा धेरै टाढाको कुरा छ । यस अर्थमा नेम्वाङ अध्यक्ष हुने सम्भावना छैन भन्दा पनि हुन्छ । त्यसपछिको नेतृत्वमा रहेका विष्णु पौडेल र शंकर पोखरेल पनि सर्वस्विकार्य नाम हैनन् ।
यस्तो अवस्थामा को हुन सक्छ त एमालेको अध्यक्ष ? जसले ओलीलाई चुनौती दिँदै एमालेमा सर्वसम्मत नेतृत्व दिने हैसियत मात्र राख्दैन, नेपालका वामपन्थी दलहरूलाई गठबन्धनमा ल्याँउँदै अन्ततः एउटै पार्टीमा एकबद्ध गर्न पनि सक्छ ? सम्भावनाको खोजी गर्दा, ओलीकै कारण बदनामी व्यहोरेर व्यक्तित्वमा केही दाग लागे पनि विद्यादेवी भण्डारी नै त्यस्तो व्यक्तित्व हुने देखिन्छ । यसअघि एमाले उपाध्यक्ष भइसकेकी भण्डारीसँग मदन भण्डारीकी विधवा हुनुको ठूलो पूँजी पनि बाँकी नै छ । उनलाई माओवादी र नेकपा एसका नेताहरूले पनि तुलनात्मकरूपमा बढी स्वीकार्न सक्ने सम्भावना देखिन्छ ।
प्रश्न, राष्ट्रपति भैसकेकी भण्डारी पार्टीको अध्यक्ष हुने हो कि हैन भन्ने मात्र हो ? संविधानले त छेक्दैन तर नैतिक प्रश्न भने हुन सक्छ । त्यसका लागि उनले पूर्वराष्ट्रपतिका रूपमा प्राप्त सबै सुविधाहरू छोड्नुपर्ने हुन्छ । उनले अहिले पनि पूर्वराष्ट्रपतिले लिने धेरै सुविधा लिएकी छैनन् र प्रत्यक्ष राजनीति गर्ने बाटो खुला नै राखेकी छिन् । बेलाबेलामा सार्वजनिक अन्तर्वार्ता दिएर त्यसको छनक पनि दिएकी छिन् ।
भण्डारीको यो छनक ओलीलाई राम्रो लागेको छैन । किनकि, उनलाई थाहा छ, भण्डारीले पार्टी अध्यक्ष बन्न चाहिन् भने ओलीको सम्भावना लगभग सकिन्छ । यसै पनि मदन भण्डारीका अनुयायीहरूको ठूलो पंक्ति भण्डारीको समर्थनमा हुन्छ नै, एमालेमा ओलीले पीर दिएका र पालो नदिएकाहरू पनि उनको समर्थनमा हुनेछन् ।
यो परिस्थितिमा ओली उम्मेद्वारी नै दिन नसक्ने प्रतिकुल अवस्थामा पुग्छन् । पार्टी कमाण्डबाट बाहिरिने बित्तिकै ओली शक्तिहीन हुन्छन् र उनीमाथि बदला सुरू भएर नेपाली वामपन्थी आन्दोलनका एक खलपात्रका रूपमा बदनाम हुने खतरा बढेर जान्छ ।
कम्युनिष्ट पार्टीमा नेतृत्वमा रहुञ्जेल पूजा गर्ने र नेतृत्वबाट हट्ने बित्तिकै उछित्तो काढ्ने सनातनी परम्परा नै रहेको छ । ओलीको अतिबाद पनि त्यस परम्परालाई थेग्न पर्याप्त छ ।
यो सवै सम्भावित खतराबाट ओली आत्तिएका छन् । र, विद्या भण्डारीलाई सम्मानित ठाउँमा बस्न भनेर धम्क्याउनसमेत थालिसकेका छन् । यही बीचमा उनले मदन भण्डारी प्रतिष्ठानमाथि धावा मात्र बोलेका छैनन्, भण्डारीका समर्थकविरूद्ध कारबाहीको डण्डासमेत चलाएका छन् ।
यी सबै घटनालाई नजिकबाट हेरिरहेकी भण्डारीले पनि आफ्ना समर्थकलाई नआत्तिन ढाडस दिएजस्तो देखिएको छ । पछिल्लो समय एक सार्वजनिक कार्यक्रममा एमाले उपाध्यक्ष सुभाष नेम्बाङले समेत संसद अवरूद्ध गर्ने आफ्नै नेतृत्वलाई ठेस लाग्ने धारणा राखेका छन् । नेम्बाङको त्यो अप्रत्यासित भनाइलाई संजोग मात्र भन्न सकिँदैन ।
यसरी एमालेभित्र आकार लिदै गएको आन्तरिक ध्रुवीकरण हेर्दा ओलीका खराब दिन सुरू हुन थालेको हो कि जस्तो देखिन्छ । ढिलो चाँडोको कुरा मात्र हो तर ओली व्यक्तिगत रूपमा खराबभन्दा खराब दिनका लागि अभिसप्त पात्र छन् । किनकि, उनले नेपालको वामपन्थी आन्दोलनलाई गम्भीर मोडमा धकेलेर नेपालको राजनीतिलाई वैचारिक आधारमा दुई कित्तामा ध्रुवीकरण हुन नदिने ठूलो अपराध गरेका छन् ।