Logo
Logo

प्रधानमन्त्रीद्वारा नयाँ भरतपुर सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन उद्घाटन


315
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ भरतपुर २२०र१३२ किलोभोल्ट (केभी) सबस्टेसन उद्घाटन गरेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन पनि उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

सबस्टेसनको लागत १ अर्ब ५२ करोड  र प्रसारण लाइनको लागत ५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । नयाँ भरतपुर सबस्टेसन परिसरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व पश्चिम विद्युत् आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताए। 

प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत् यहीं खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तिव्रता दिन र अतिरिक्त भएको विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे।

‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौं, नेपालको विद्युत् बङ्गलादेशसम्म पुर्याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ’ उनले भने,  ‘अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरू हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’

प्रधानमन्त्रीले जलविद्युत तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रूख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानुनको संसोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताए ।

१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत रूपान्तरणकारी आयोजना र १०,८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिन लागिएको प्रधानमन्त्रीले उल्लेख गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रुपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार र अतिरिक्त भएको विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको बताए । उहाँले यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाइएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्