Logo
Logo

भूराजनीति- हाम्रो सामर्थ्य र सीमा बताउने महत्वपूर्ण तत्व


माधवकुमार नेपाल

1.1k
Shares

सबै मुलुकहरूको भौगोलिक अवस्थितिले तिनको भूराजनीतिक अवस्था निर्माण गर्दछ । हाम्रा लागि भूराजनीतिक अवस्था अझ महत्वपूर्ण छ । भूराजनीतिक अवस्था आजका हाम्रा सामर्थ्य र सीमालाई बताउने एउटा महत्वपूर्ण तत्व हो । त्यसको ठोस जानकारीले समाजवादको नेपाली बाटोका चुनौति र सम्भावनालाई बुझ्न र लागू गर्न मद्दत गर्छ ।

नेपाल भू–भाग, जनसंख्या र अर्थतन्त्रका हिसाबले विश्वमै ठूला राष्ट्र चीन र भारतका बीचमा छ । यी दुवै मुलुकहरू प्राचीन सभ्यता भएका मुलुकहरू हुन् । ती विशेषताले गर्दा अहिले तिनका आकाङ्क्षा पनि आकाशिँदै गएका छन् ।

चीन एउटा विश्व शक्ति भैसकेको छ । केही वर्षमा त्यो संसारकै ठूलो आर्थिक शक्ति बन्दैछ । भारत पनि आर्थिक विकासको दर, प्राकृतिक स्रोतको प्रचुरता, सस्तो श्रम आदि कारणले गर्दा भविष्यको एउटा मुख्य आर्थिक शक्ति बन्दैछ ।

यी दुवै मुलुकमा हुने आर्थिक विकासले ल्याउने सामाजिक परिवर्तन र त्यसको राजनीतिले विश्वकै अर्थतन्त्र र राजनीतिलाई प्रभावित गर्नेछ । तिनका प्रतिस्पर्धा र सहकार्यका राम्रा वा नराम्रा प्रभावहरू हामीमाथि पनि पर्नेछन् । त्यसबीचमा एउटा स्वतन्त्र राष्ट्रका रूपमा समृद्ध र समाजवादतर्फ अगाडि बढ्न हामीसँग असाधारण चुनौति र सम्भावना दुवै छन् र भइरहने छन् ।

चीन अहिले अमेरिकी नेतृत्वको विश्व पुँजीवादी दुनियाँमाथि चुनौति खडा गरेको समाजवादी मुलुक हो । सम्पूर्ण पुँजीवादी दुनियाँ अहिले चीनको उदयलाई रोक्न आर्थिक, राजनीतिक, कूटनीतिक, सामरिक तथा जासुसी उपायहरू केन्द्रित गर्दैछन् ।

सन् २०५० सम्म संसारको सबैभन्दा समृद्ध समाजवादको निर्माण गर्ने चीनको राष्ट्रिय संकल्पले के कुरा स्पष्ट पार्छ भने नेपाल विश्व विचारधारात्मक द्वन्द्वको वरिपरि छ, रहनेछ । त्यसमाथि, हामी चीनको तिब्बतसँग जोडिएको मद्रलद्रक हौं, जसलाई पश्चिमाहरूले चीनको कमजोर कडिको रूपमा प्रयोग गर्न चाहान्छन् ।

यसर्थ पुँजीवाद र समाजवादको विश्वव्यापि अन्तरविरोध र त्यसले ल्याउने परिवर्तनका उथलपुथलको प्रभाव हामीमाथि परिरहने छ । एउटा कम्युनिष्ट पार्टीका रूपमा ती उथलपुथलमा आफुलाई बचाउँदै नेपालमा समाजवादको निर्माण गर्नु हाम्रो लागि अर्को चुनौति हुनेछ ।

चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दैछ । त्यस्तै, पश्चिमसँग चीनको अन्तरविरोध चर्किदा भारत बढि सुरक्षित हुनेछ । दुवै एशियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन् भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भैरहने छ ।

आधुनिक भारत र चीनको जन्मदेखि नै पश्चिमले यस पक्षलाई ध्यान दिएको छ । तसर्थ, ती दुवै मुलुकमाथि निगरानी राख्नका लागि पश्चिमले नेपाललाई विभिन्न रूपमा प्रयोग गरिरहेको छ, गरिरहने छ । त्यसका लागि हाम्रो राजनीति र अर्थतन्त्रमा पश्चिमले विभिन्न बहानामा दबाब दिइरहने छ ।

आवतजावत, लेनदेन, भाषिक– सांस्कृतिक आदान–प्रदानका हिसाबले भारत र हामी बीचमा घनिष्ठ सम्बन्ध रहिआएको छ । तर हामीबीचको सम्बन्धको अर्को पाटो पनि छ ।

भारतमा बेलायती साम्राज्य विस्तार हुँदै गर्दा नेपाल आधुनिक राष्ट्र बन्ने प्रक्रियामा थियो । त्यस क्रममा बेलायतले नेपालसँग युद्ध गयो । नेपालको भूभाग खुम्चियो तर एउटा आधुनिक स्वतन्त्र राष्ट्र बन्ने प्रक्रियामा नेपालले आफुलाई कायम राख्यो । यद्यपि बेलायतले नेपाललाई आफ्नो छत्रछायाँमा राख्ने प्रयास गरिनै रह्यो ।

भारतले स्वतन्त्र भएपछि पनि बेलायती नीति कायम नै राख्यो । यस क्रममा नेपाली शासकहरू कहिले झुके कहिले प्रतिरोध गरे । नेपालले आफ्नो स्वतन्त्रता तथा सार्वभौमिकताको रक्षा गर्दै आयो । भारतले उसका स्वार्थसँग हाम्रा शासक वा नेताहरू झुकेको इतिहास मात्रै नेपाल–भारत सम्बन्धको मुख्य प्रवृत्ति हो भन्ने स्थापित गर्न चाहन्छ र हामीलाई आफ्नो विशेष सम्बन्धको सीमाभित्र राख्न चाहन्छ ।

जबकि अंग्रेजहरूले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको निर्माणका लागि गरेको योगदानलाई हामीले नेपाल–भारत सम्बन्धको मुख्य प्रवृत्ति ठान्छौँ । इतिहासको यो समझदारी नै अन्तरविरोधपूर्ण छ, त्यसैले नेपाल भारतको सम्बन्ध पनि अन्तरविरोधपूर्ण छ । हामीले भविष्यमा पनि यो अन्तरविरोध व्यहोरिरहनु पर्ने छ, चुनौतिको सामना गरिरहनु पर्नेछ ।

(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको जारी छैटौं बैठक (२०८० भाद्र ५– ७) मा अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको अंश)

प्रतिक्रिया दिनुहोस्