काठमाडौँ, २२ पुस । एसपी ओमबहादुर राना । केही वर्षयता नेपाल प्रहरीमा यो नाम निकै बदनाम छ । जहाँ गए त्यही असुली आतंक मच्चाउने भएकाले उनी प्रहरीका सबैभन्दा विवादास्पद प्रहरी अधिकृत बनेका छन् ।
गत वर्ष उनकै कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालदेखि गृहमन्त्री रामबहादुर थापा बादललेसम्म आलोचना खेप्नुप¥यो । किनकी उनै एसपी रानालाई जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्ज बनाएर पठाइएको थियो । संगठनका राम्रा अधिकृतहरुलाई पाखा लगाएर उनलाई कास्की इन्चार्ज बनाएपछि विवाद त हुने नै भयो । गृहमन्त्रीका पुत्र प्रतिकसँगको सेटिङमा उनी कास्की गएका थिए ।
उनै एसपीलाई अहिले अर्काे महत्वपूर्ण जिम्मेवारी दिइएको छ । महानगरीय प्रहरी कार्यालयको घुमुवा टोलीको इन्चार्जको रुपमा । गृहमन्त्रालयसम्मको सेटिङमा उनलाई घुमुवा टोलीका नाममा पैसा उठाउन खटाउन लागिएको हो । डिआईजी विश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालयको इन्चार्ज भएसँगै उनले घुमुवा टोली खारेज गरेको भन्दै प्रचार गरेका थिए । खासमा पुरानालाई हटाएर विश्वासपात्र प्रहरीहरुलाई खटाएर पैसा असुल्न लागिएको स्रोत बताउँछ । त्यसैका लागि एसपी राना मेट्रो छिरेका छन् । अहिले पनि गृहमन्त्री पुत्र प्रतिकको समेत योजनामा उनलाई घुमुवा टोली बनाएर ठूला व्यापारीहरुसँग पैसा उठाउने योजना बनिरहेको छ ।
त्यस्तै डिआईजी पोखरेलले आफ्ना अर्का विश्वासिला एसपी रेवती ढकाललाई समेत मेट्रो लगेका छन् । पोखरेल कर्मचारी प्रशासनको एसपी हुँदा ढकाल पनि त्यही थिए । नवराज सिलवाललाई आईजिपी हुन नदिने खेलमा दुवै जनाको भूमिका थियो । प्रहरी नियमावलीमै नभएको पफर्मेन्स अडिट टिमका नाममा उनलाई खटाउन लागिएको छ ।
अन्य केही विवादास्पद प्रहरीहरु समेत मेट्रोमा गइसकेका छन् । ‘जसरी विगतमा नयाँ हाकिम आएपछि सेटिङ मिलाउन आफू निकट प्रहरीलाई सरुवा गरेर ल्याउने चलन थियो, अहिले ठ्याक्कै त्यस्तै देखिएको छ,’ एक प्रहरी अधिकारी भन्छन्,‘प्रहरीमा हप्तावारी फेरि सुरु होला जस्तो छ ।’