नेकपा (एमाले)मा नवौँ राष्ट्रिय महाधिवेशनको दौरान नेपाली समाजको चरित्र, वर्तमान क्रान्तिको चरित्र र कार्यदिशाको सवालमा जुन मतभेद उत्पन्न भएको थियो त्यो पछिसम्म पनि कायमै थियो । उक्त महाधिवेशनले सही कार्यदिशा तय गरेता पनि नेतृत्वमा भने उक्त कार्यदिशाका विरोधी व्यक्तिलाई छान्यो ।
पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनबाट पारित गरिएको कार्यदिशा कार्यान्वयन गर्न नै चाहेनन् । त्यसले गर्दा पार्टीभित्र गम्भीर मतभेद रहिरहेको थियो तर त्यस मतभेदलाई हामीले विद्रोहको विषय होइन आन्तरिक बहसको विषय मात्र बनाएका थियौँ । जब केपी ओलीले स्वेच्छाचारी ढङ्गले प्रतिनिधि सभाको विघटन गरेर मुलुकलाई प्रतिगमनको दिशामा धकेले तब मात्रै हामीले विद्रोहको झण्डा उठाएका थियौँ ।
प्रतिनिधिसभाको विघटन गर्ने कार्य जनताले सङ्घर्ष गरेर प्राप्त गरेका सम्पूर्ण अधिकार हरण गर्ने दुष्कर्म थियो । जनवादी क्रान्तिका सम्पूर्ण उपलब्धी नष्ट गर्ने र मुलुकलाई प्रतिगमनको दिशामा धकेल्ने प्रतिगामी कदम थियो । त्यसैले हामी त्यस प्रतिगामी दुष्कर्मका विरुद्ध उभिएका थियौँ र विद्रोहमा उत्रिएका थियौँ ।
हामी प्रतिगामी पुनरुत्थानवादी तत्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौं भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ । यी मूलभूत सवालहरूमा हाम्रो पार्टी र एमालेबिच भिन्नता रहेको हुनाले पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ ।
मुलुकको राजनीतिमा एकपछि अर्को सफलता प्राप्त गर्दै अगाडि बढेको कम्युनिष्ट आन्दोलनमा २०७४ सालको निर्वाचनको परिणाम र कम्युनिष्ट पार्टीहरूको एकिकरण एउटा ऐतिहासिक पानी ढलो थियो । २०७७ सालको पुषमा प्रतिनिधि सभा विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन भएपछि नेपाली राजनीतिको कोर्स अचानक बदलियो ।
लोकतान्त्रिक स्थिरताका साथ समृद्धिको दिशामा अगाडि बढ्ने नेपालीको आकाङ्क्षामा ब्यवधान उत्पन्न भयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ मोडियो । कम्युनिष्ट आन्दोलनमा असाधारण चुनौति थपिए । त्यस परिस्थितिमा हामीले विद्रोह गरेका थियौँ ।
हामीले संविधानको रक्षाका लागि ठूलो चुनौतिको सामना गरेका छौं, मूल्य चुकाएका छौं । नेपालको राजनीतिक इतिहासले त्यसको मूल्याङ्कन गर्ने नै छ । तर त्यो कदम संसदको रक्षा गर्ने एउटा राजनीतिक परिघटना मात्रै थिएन, बरु क्रान्तिको रक्षाका लागि क्रान्तिकारीहरूले गरेको विद्रोह थियो ।
हामीले विद्रोह मुलुकलाई प्रतिगमनको भूमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवादका विरुद्ध गरेका थियौँ । अर्को शब्दमा भन्नुपर्दा हामीले विद्रोह प्रतिगमनका विरुद्ध गरेका थियौँ । प्रतिगमनलाई परास्त गरी जनवादी क्रान्तिका उपलब्धीको रूपमा रहेका संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने हाम्रो विद्रोहका मुख्य लक्ष्य थिए ।
ती लक्ष्य प्राप्त गर्न हामी सफल भएका छौं । प्रतिगमनलाई परास्त गरिएको छ । संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधि सभा पुनःस्थापित भएर पूर्ण कार्यकाल कृयाशील रहेको छ । संविधान क्रियाशील भएको छ र सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भएका छन् । जनताले आफ्नो अधिकार प्रयोग गरी तीनै तहमा नया नेतृत्व चयन गरेका छन् । हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएनन् । यस अर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको हिसावले हेर्दा हामीले तत्कालीन नेकपा (एमाले)को नेतृत्व गुटमा देखापरेको दक्षिणपन्थी विसर्जनवादका विरुद्ध विद्रोह गरेका थियौँ । त्यस दक्षिणपन्थी विसर्जनवादी गुटसँग हाम्रा थुप्रै भिन्नताहरू रहेका छन् । तीमध्ये मुख्य भिन्नताहरू हुन् ः
१. हामी २०६२–६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौ भने एमाले यो मान्दैन ।
२. हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पूजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन ।
३. हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौँ भने एमाले यो मान्दैन ।
४. हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ ।
५. हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौँ भने एमाले यो मान्दैन ।
६. हामी समाजवादी कार्यदिशा अँगाल्ने भन्छौँ भने एमाले यो मान्दैन ।
७. हामी प्रतिगामी पुनरुत्थानवादी तत्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौं भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ । यी मूलभूत सवालहरूमा हाम्रो पार्टी र एमालेबिच भिन्नता रहेको हुनाले पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ ।
हामीले विद्रोह गर्दा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने कुरा पनि गरेका थियौँ । यो काम भने पूरा हुन सकेको छैन । यसमा सङ्गठनात्मक पुनर्गठन, विचारधारात्मक पुनर्गठन, आचरण र शैलीको पुनर्गठन आदि काम पर्दछन् ।
यो नेपाली कम्युनिष्ट आन्दोलनमा भित्रिएका अनेकन विकृति र विसङ्गतिका विरुद्ध मात्रै होइन आफैभित्रका नकारात्मक पक्षका विरुद्ध समेत लामो समय कठोर सङ्घर्ष चलाएर पूरा गर्नुपर्ने काम हो । नथाकीकन गर्नु पर्दछ । हामीले आँट गयौँ भने पक्कै पनि यो काम पनि पूरा गर्न सकिन्छ ।
(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको जारी छैटौं बैठक (२०८० भाद्र ५– ७) मा अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको अंश)