काठमाडौं । गीतकार जानकी पन्थको शब्द तथा संगीतमा नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतकार पन्थ लामो समयपछि सांगीतिक क्षेत्रमा फर्किएकी छन् । यसपटक ‘अब त चाहियो काठमाडौंमा घर’ बोलको गीतमार्फत उनी सांगीतिक क्षेत्रमा पुनरागमन भएकी हुन् ।
तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’को गीतको भिडियो केही दिनअघि नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । यो गीतमा गायिका अस्मिता अधिकारी तथा गायक अलिफ खानको स्वर सुन्न सकिन्छ । ‘मरक्कै कम्मर मर्काम्ला’ उपशीर्षकको यो गीतमा महेन्द्र भण्डारीको संगीत संयोजन छ ।
गीतको भिडियो आकर्षक बनेको छ । भिडियो अभिनेता एसराज गराच तथा अनु शाह मुख्य भूमिकामा छन् । भिडियोमा आनन्द थापा, नन्दा अधिकारीका साथमा बाल कलाकारहरु हृदया तथा आदित्यले पनि अभिनय गरेका छन् ।
मोहन राईको नृत्य संयोजन रहेको यो भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको यो भिडियोका छायांकन दिनेश पराजुली हुन् भने विष्णु खड्का यसका सम्पादक हुन् । तीज दोहोरीसङ्गै सबै पुस्ताको मन जित्ने गरि कोरस समेत राखेर तयार पारिएको यो गीत सकारात्मक सन्देश दिँदै टुङ्याइएको छ ।
पन्थका यसअघि ‘ओए बुढा’, ‘तम्घासबाट हिँडेको गाडी’, ‘पल्लाघरे लाहुरेले लान्छ अरे बाइ’, ‘बबाल तीज’ लगायतका तीज गीत तथा वाचा त गरे, बोल न केही, रोकिन लाग्यो सास मेरो प्रिया, मायालाइ तराजुमा, मायाकै पीडा नसकि खप्न लागायतका आधुनिक गीत गजल र हल्ला चल्छ चलिरहन देउ, यो मायामा रुन नपरोस्, डाडावारि जुन भयो त डाडापारी घाम, न्याउली रुदा यो मन रुन्छ नि, माया मारे है लगायतका लोकदोहोरी गीतहरु हालसम्म पनि लोकप्रिय छन् ।
जिन्दगानी दर्पणछायाँ, हाम्री चेली लगायत केही चलचित्रहरुमा पनि आफ्ना शब्द सजाएकी पन्थको एकल शब्द तथा सङ्गीतमा एल्वम निकाल्ने उनी नेपालकै पहिलो महिलासमेत हुन् । २०६८ सालमा सार्वजनिक भएको एल्वम संघारबाट उनले यो उपाधी कमाएकी हुन् ।