काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ३८ करोड २५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री गर्न अनुमति पाएको छ ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले भदौ ५ गते मङ्गलवार भिजन लुम्बिनीलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिसेयर अङ्कित मूल्य एक सय रुपैयाँ दरका ३८ लाख २५ हजार कित्ता आइपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी सो सङ्ख्यामा सेयर बिक्रीको अनुमति पाएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ बराबरको २० प्रतिशत सार्वजनिक निष्कासन गर्ने भएको हो ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित २५ मेगावाट विद्युत् क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।