Logo
Logo

जापानसँग नेपालको सम्बन्ध महत्त्वपूर्ण र ऐतिहासिक : चेम्बर अफ कमर्स


378
Shares

काठमाडौं । नेपाल र जापानबिचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

नेपाल भ्रमणमा रहेका जापानी सांसदहरू काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताए ।

राजदूत किकुता युताका सहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरूसँग आग्रह समेत गरे ।

अध्यक्ष मल्लले भने, ‘दुई मूलकबिचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ, ।’

उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको  वातावरण बनाउन सांसदहरुसँग आग्रह गरे । कृषिमा प्रविधि हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्न सक्ने अध्यक्ष मल्लको भनाइ छ ।

जापानमा १ लाख ३९ हजार हाराहारीमा नेपालीहरू रहेको भन्दै अध्यक्ष मल्लले नागरिक स्तरमा पनि दुई मुलुकबिचको सम्बन्ध निकै उत्कृष्ट रहेको उल्लेख गरे । नेपालले जापानमा ९० लाख डलर बराबरको बस्तु निर्यात गर्दा ४ करोड ७० लाख डलर हाराहारीमा आयात गर्ने गरेको छ ।

चेम्बरको स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरो कोवायासीले नेपालमा ३० वर्ष अघि आएर लुम्बिनीमा वृक्षारोपण गरेको स्मरण गरे । नेपाल र जापानबीचको आर्थिक र कूटनीतिक सम्बन्ध सधैँ उत्कृष्ट रहेको उनको भनाई छ ।

अर्का सांसद नागाई मनावुले पनि दुई मुलुकबिचको आर्थिक र कूटनीतिक सम्बन्धलाई जनस्तर सम्मै पुर्‍याउनुपर्नेमा जोड दिए । नेपालका लागि जापानी राजदूत युताकाले नेपाल जापानबिचको सम्बन्ध सुधारमा चेम्बरले गरेको प्रयासलाई धन्यावाद दिए 

प्रतिक्रिया दिनुहोस्