Logo
Logo

एकीकृत समाजवादीको दशौँ महाधिवेशन माघमा


2.4k
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको छ ।

सो पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त महाधिवेशनलाई एकीकृत समाजवादीले दशौं महाधिवेशन भनेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । अभियानको विस्तृत योजना सचिवालयले गर्नेछ ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । त्यसैगरी महाधिवेशन अघि पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतया संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटी सदस्यहरुको जिम्मेवारी पनि तोक्ने सो पार्टीले जनाएको छ ।

मंसिर मसान्तसम्म कमिटी नभएका पालिका तथा वडाहरुमा कमिटी गठन गर्न सबै कमिटीहरुले सदस्यता वितरण गर्न संगठनात्मक क्षेत्रको महत्त्वपूर्ण काम गर्ने पनि सो पार्टीले निर्णय गरेको छ । सबै जनसंगठनले पार्टीको महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन तथा प्रचार गर्न कार्ययोजना बनाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्