म, दारासिं पनि होइन
म, किङकङ पनि होइन
म, फाइटर पनि होइन
न त हुँ म, नन्दे तुम्बापो नै
तर,
म पनि गर्छु अब फौदारी
आन्तरिक उपनिवेशविरुद्ध खोज्छु जोरी
सांस्कृतिक अतिक्रमणविरुद्ध पड्काउँछु भरुवा बन्दुक
निषेधविरुद्ध छेड्छु विद्रोहको धनु काँड
च्यातिदिन्छु, जंगेको मुलुकी ऐन
जलाइदिन्छु, त्यसका संस्करणहरू
पूरा गर्छु
पुगेर रासा–रानी पोखरी
बाघतेलेम र सिङतेलेमको अधुरो भाकल
पित्छातेन्मा विधिपूर्वक दिन्छु– कोरली गाईको बलि
राष्ट्रिय जनावरको गिदी–जिब्रोको सितन
अनि
प्रकृतिको प्रसादले मातेर
नचाउँछु नाङ्गो तरबार
हो,
म, दारासिं पनि होइन
म, किङकङ पनि होइन
म, फाइटर पनि होइन
न त हुँ म, नन्दे तुम्बापो नै
तर,
म पनि गर्छु अब फौदारी
आन्तरिक उपनिवेशविरुद्ध खोज्छु जोरी
संसारकै सर्वोत्कृष्ट संविधानको
चिल्लो पानामा लेखिएको
धार्मिक स्वतन्त्र मुलुकको, सम्माननीय न्यायालयले
ठहर गरे गरोस्– जघन्य अपराधी ।
०००
दारासिं, किङकङ, फाइटर, नन्दे तुम्बापोः एक समय लिम्बुवान क्षेत्रका नामुद फौदारीवाजहरु, उनीहरूको फौदारीका किस्सा अझै पनि लिम्बुवान क्षेत्रका गाउँघरमा सुन्न पाइन्छ ।
रासा–रानी पोखरी/बाघतेलेम र सिङतेलेमः उहिल्यै पान्थर थुम्का पापोहाङ्का सन्तानमध्येको इङ्वाबाका दुई पुर्खाहरू रासा–रानी पोखरी हुँदै परदेश हिँडे, फर्किआउँदा कोरली गाईको बलि चढाउने भाकल गरेर आशीर्वाद मागे, उनीहरूले परदेशमा धेरै धन सम्पत्ति कमाए, तर फर्किँदा बलि दिन भुले, जस कारण उनीहरूले ठूलो अनिष्ट भोग्नु परेको जनश्रुति छ ।
पित्छातेन्ः पान्थर फेदेन् (हालः फिदिम नपा–५, चोकमागु) मा अवस्थित एउटा गाउँ, जहाँ उहिल्यै गाईको बलि दिने, गाईको मासु काट्ने गरिएको जनश्रुति छ, याक्थुङ (लिम्बू) भाषामा पित्छा÷सा भनेको गाईको मासु र तेन्/देन् भनेको स्थान वा ठाउँ भन्ने अर्थ लाग्छ ।