काठमाडौं । पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थामा साधारण बचतबाट मुद्दतीमा गएको निक्षेप पुनः बचततर्फ फर्कन थालेको देखिएको छ । बैंक, वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अनुपात पनि घट्न थालेको हो ।
बचतकर्ताले ब्याजदर बढेको समयमा बढी लाभ लिनका लागि आफ्नो निक्षेपलाई मुद्दतीमा राख्ने गरेका थिए । त्यस समयमा बैंकहरूको ब्याजदर पनि उच्च नै थियो । तर पछिल्लो पटक ब्याजदर घटेसँगै मुद्दतीमा रहेको रकम फेरि बचततर्फ फर्कन थालेको हो ।
गत आर्थिक वर्ष (आव) मा तरलता अभावसँगै निक्षेप बढाउन बैंकहरूले ब्याजदर बढाएका थिए । त्यसपछि बैंकमा मुद्दती निक्षेपको अंश वृद्धि भयो । पछिल्ला महीनाहरूमा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको हिस्सा घट्न थालेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव २०७९÷८० सम्ममा बैंक तथा वित्तीय संस्थासँग रहेको कुल ५७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेपमा ५८ दशमलव ९ प्रतिशत मुद्दतीमा रहेको थियो । त्यसभन्दा अघिल्लो आवमा बैंकहरूमा मुद्दती निक्षेपको अंश ५५ दशमलव ८ प्रतिशत थियो ।
प्रणालीमा तरलता अभाव भएपछि गत आवमा बैंकहरूले निक्षेप बढाउन मुद्दतीमा उच्च ब्याजदर दिएका थिए । निक्षेप आकर्षित गर्नकै लागि १० गुणासम्म प्रतिफल दिने गरी २१ वर्ष अवधिसम्मका योजनाबाट बैंकहरूले निक्षेप संकलन गरेका थिए । त्यसले गर्दा गत आवको पुसमा मुद्दती निक्षेपको अंश ६० दशमलव ४ प्रतिशतसम्म पुगेको थियो । २०७९ पुसमा वाणिज्य बैंकहरूको ब्याजदर १२ दशमलव ३३ प्रतिशतसम्म पुगेको थियो । पुस यता भने बैंकहरूले ब्याजदर घटाउन थालेपछि मुद्दती निक्षेपको अंश घट्न थालेको हो । वैशाखदेखि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेका थिए ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् ।
कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढी गर्न नपाइने व्यवस्था छ ।
यसैगरी बैंकहरूले विप्रेषण मुद्दतीको बचतमा साधारण मुद्दतीको बचतलाई दिएभन्दा १ प्रतिशत बिन्दु बढी ब्याज दिन पाउने प्रावधान छ । यसकारण बैंकहरूले निक्षेप आकर्षित गर्न मुद्दतीमा जोड दिँदै आएका छन् ।
२०८० असारमा बैंक, वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेप ७ दशमलव ७ प्रतिशत, बचत २६ दशमलव ६ प्रतिशत, अन्य ६ दशमलव ८ प्रतिशत छ । २०७९ असारमा चल्ती निक्षेप ८ दशमलव ९ प्रतिशत, बचत २७ दशमलव ६ प्रतिशत र अन्य ७ दशमलव ७ प्रतिशत थियो ।
२०७९ पुसमा मुद्दती निक्षेपको अंश ६० दशमलव ४ प्रतिशतसहित उच्च बिन्दुमा पुग्दा चल्ती ७ दशमलव ८, बचत २५ दशमलव ६ र अन्य ६ दशमलव २ प्रतिशत थियो । पुसको तुलनामा असारमा मुद्दती निक्षेपको अंश घट्दा बचत तथा अन्य निक्षेपको अंश बढेको छ ।
तरलता अभाव भएपछि बैंकहरूले साधारण बचतलाई मुद्दतीको ब्याज दिएकाले पनि मुद्दतीको अंश बढी भएको हो । पछिल्लो समय तरलता सहज भएपछि बैंकहरूले यसलाई घटाएका छन् ।
बैंकहरूले भदौका लागि प्रकाशित गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा १० दशमलव ८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण भएको छ ।
डेढ वर्षयता बैंकर्स संघमार्फत निर्धारण गरी एउटै ब्याजदर लागू गर्दै आएका बैंकहरूले साउनदेखि भने फरक–फरक ब्याजदर निर्धारण गर्न थालेका छन् । सोही अनुसार भदौमा पनि ब्याजदर फरक–फरक कायम भएको छ ।
राष्ट्र« बैंकका अनुसार २०७९ असारमा मुद्दती निक्षेपको अंश ५५.८ प्रतिशत रहेको थियो । २०७९ साउनमा त्यो सामान्य बढी ५८.८ प्रतिशत पुगेको थियो ।
त्यसपछि २०७९ भदौमा ५८.८ प्रतिशत रहेको मुद्दती निक्षेपको अंश असोजमा ५९ प्रतिशत, कात्तिकमा ५८ प्रतिशत, मंसिरमा ६०.३ प्रतिशत, पुसमा ६०.४ प्रतिशतसम्म पुग्यो ।
राष्ट्र« बैंकका अनुसार, पुससम्म बढ्दो क्रममा रहेको मुद्दती निक्षेपको अंश त्यसपछि भने घट्दो क्रममा रह्यो । बैंकहरूले ब्याजदर घटाउँदै जाँदा मुद्दती निक्षेपको अंश पनि क्रमशः सर्दै गयो ।
तथ्यांक अनुसार २०७९ माघमा ६०.१ प्रतिशत रहेको मुद्दती निक्षेपको अंश २०७९ फागुनमा ५९.९ प्रतिशत र चैत २०७९ मा ६०.१ प्रतिशतमा रह्यो । त्यसपछि वैशाख २०८० मा ६० प्रतिशत रहेको मुद्दती निक्षेपको अंश जेठमा ५९.८ प्रतिशत र असारमा ५८.९ प्रतिशतमा सीमित हुन पुग्यो ।
०७८ असारमा कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ४७ प्रतिशत थियो । २०७८ असार देखि नै विस्तारै मुद्दती निक्षेपको हिस्सा बढ्दो क्रममा रहेको थियो । धेरै ब्याज पाइनुका साथै लगानीका अन्य क्षेत्र घरजग्गा, सेयर, उद्योगलगायतमा उत्साह नहुँदा मुद्दती निक्षेपमा बचत गर्नेको संख्या त्यस समयमा बढेको थियो ।
गत आवमा पनि यी क्षेत्रमा सुस्तता छायो । जसकारण गत आवको अधिकांश महिनामा मुद्दती निक्षेपको हिस्सा बढेको थियो । तर अन्तिम समयमा क्रमशःघटेको थियो ।
यसरी मुद्दती निक्षेप बढिरहँदा साधारण बचतको हिस्सा भने घटिरहेको छ । यसबाट बचतकर्ताले साधारण निक्षेपमा राखेको रकम मुद्दतीमा परिवर्तन गरेको विश्लेषकहरू बताउँछन् । निक्षेपका लागि विभिन्न प्रकारका बैंक खाता हुन्छन् । यीमध्ये चल्ती, बचत र मुद्दती खाता मुख्य चलनचल्तीमा आएका खाता हुन् ।
निक्षेपकर्ताले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खाता चल्ती खाता हो । कार्यालयका लागि यो खाता बढी उपयोगी हुन्छ ।
बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । मुद्दती खातामा ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष वा सोभन्दा धेरै अवधिसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ ।
सामान्यतया रकम जम्मा गरेको भुक्तानी अवधि समाप्त नभई मुद्दती खाताबाट रकम झिक्न पाइँदैन । निकाल्नै परेको अवस्थामा बैंकले जरिवाना तिर्न लगाउँछ । यसकारण मुद्दती खातामा रकम जम्मा गरे बचत खातामा अरू खातामा भन्दा धेरै ब्याज पाइन्छ ।