Logo
Logo

ललिता निवास प्रकरण : सासू–ससुराबीच बकस लेनादेना


2k
Shares

काठमाडौं । बालुवाटास्थित ललिता निवासको जग्गा अनियमितता प्ररकणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जग्गा बकस लिनेलाई समेत प्रतिवादी बनाउन सरकारी वकिलसमक्ष प्रस्ताव गरेको छ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार बकस लिनेदिने कार्यमा संलग्न देखिएको भन्दै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य, मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङ, पूर्वसहसचिव गेहनाथ भण्डारी, डिल्लीबजार मालपोतका अधिकृत धर्मप्रसाद गौतम, नासु जगत पुडासैनी, डिल्लीबजार मालपोतका प्रमुख रहेका कलाधर देउजालाई कारबाहीको प्रस्तावसहित प्रतिवेदन बुझाइएको छ ।

यी सँगै सिआइवीले डिल्लीबजार मालपोतका मालपोत अधिकृत सुरेन्द्रमान कपाली, तत्कालीन नासु युक्तप्रसाद श्रेष्ठ र समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेल पनि बकस लेनदेनमा संलग्न रहेको दाबी गरेको छ । शाहपत्नी उर्मिला र भुवनकुमारीको नाममा पनि संयुक्त जग्गा फेला परेको छ ।

मालपोत अधिृकत धर्मराज गौतमले सालीका छोरा मोहनप्रसाद भट्टराईको नाममा बकस लिएको सिआइवीको अनुसन्धानले देखाएको छ ।

यता, रामकल्याण अधिकारी र रामनाथ घिमिरेले पनि यसरी जग्गा लिएको छानविनबाट खुलेको छ । अधिकारी र घिमिरे बिचौलिया हुन् । मालपोत विभागका पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्यले ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीको नाममा एक रोपनी लिएको तथ्य खुलेको छ । यता, खापुङले श्रीमती खिमादेवी आङबुङ तथा सालोकी श्रीमती शशिकला सुब्बाको नाममा तीन रोपनी एक आना दुई पैसा जग्गा लिएको प्रहरी प्रतिवेदनले औंल्याएको छ ।

तत्कालीन मालपोत अधिकृत गेहनाथ भण्डारीले श्रीमती भुवनकुमारी चापागाईँ र सासू सोदाकुमारी चापागाईँको नाममा १० आना लिएको तथ्यसमेत उजागर भएको छ ।

यस्तै सुरेन्द्रमान कपालीले पनि भतिजा बुहारी शान्तिदेवी प्रधानांगको नाममा मिठुदेवीसँगै संयुक्त रूपमा जग्गा लिएको अनुसन्धानबाट खुलेको छ । युक्तप्रसादले बहिनीको नाममा एक रोपनी १३ आना र श्रीमती सरस्वतीको नाममा मिठुदेवीसँग संयुक्त रूपमा लिएका थिए ।

समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा १४ आना बकस लिएका छन् । बिचौलिया अधिकारीले दुई रोपनी १२ आना र घिमिरेले तीन रोपनी चार आना लिएका छन् ।

जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईँका नाममा चार रोपनी दुई आना लिएका छन् । कलाधर देउजाले साढु इन्द्रबहादुर थापाको नाममा लिएका थिए । देउजाले मिठुदेवी चापागाईँसँगको संयुक्त नाममा पास गरेको विवरण छ  ।

प्रतिक्रिया दिनुहोस्