काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालनमा ल्याएको नेसनल पेमेन्ट गेटवेमा भ्रष्टचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्धनिर्देशक सुनील पौडेलसँग बयान लिएको छ ।
डेढ साता अघि आयोगले लगातार ४ दिनसम्म बोलाएर बयान लिएको अख्तियार स्रोतले बताएको छ । पौडेलको बयान सकिए पनि अख्तियारले ‘नेसनल पेमेन्ट गेटवे’ खरिदमा संलग्न विभिन्न पक्षसँग बयान लिने क्रम जारी राखेको छ । अख्तियार स्रोतका अनुसार नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा खरिद कार्यमा संलग्न, लागत अनुमान तयार गरी स्वीकृत गर्नेलगायतका सबै पक्षलाई क्रमशः बयानमा बोलाइएको छ र उनीहरूसँग बयान लिइरहेको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा सुनिल पौडेलको नेतृत्वमा भएको उक्त खरिद प्रकरणमा करोडौंको अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । सो उजुरीको सम्बन्धमा आवश्यक छानवीन गरिरहेको छ ।
अख्तियारले यसअघि यस्तै खरिद प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई मुद्दा हालेको थियो । अख्तियारले विकलसहित ९ जनाविरुद्ध सुरक्षण मुद्रणको पूर्वाधार खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानी–नोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको अभियोग लगाएको थियो ।
सुनिल पौडेलको नेतृत्वमा खरिद गरेको नेसनल पेमेन्ट गेटवेमा पनि अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको पाइएको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको स्रोतले जनाएको छ ।
बिकल पौडेलकै योजनामा कमिसनका लागि सूचना प्रविधि केन्द्रमार्फत हचुवामा नेसनल पेमेन्ट गेठवे किन्ने प्रस्ताव गरिएको थियो । १५ करोड मूल्यपर्ने पेमेन्ट गेटवे २५ करोड हालेर खरिद गरेको सञ्चार तथा सूचना प्रविधि केन्द्रका उच्च अधिकारीहरु बताउँछन् । पेमेन्ट गेटवे खरिद गर्दा कमिसनका लागि छुट्टै ओराकल समेत खरिद गरिएको छ । जसले गर्दा सुनिल पौडेल मुछिएको स्रोतको दावी छ ।
बिकल पौडेल सूचना प्रविधि केन्द्रको उपनिर्देशक हुँदा सर्बोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राहदानी विभाग, नेपाल राष्ट्र बैंक, आन्तरिक राजश्व विभाग, यातायात व्यवस्था विभागलगायतका निकायले गरेको आइटीसम्बन्धी खरिदमा खटिएका थिए ।
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड अनियमितता गर्न खोजेको आरोप लागेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको स्पेसिफिकेसन तयार गर्नेमा पनि पौडेल बन्धुहरु सामेल थिए । यी दुई बन्धुमध्ये विकलको भूमिका बढी हुने र सुनिल उनको सहयोगीका रुपमा रहेर काम गरिरहेको सरकारी उच्च अधिकारीहरुको दाबी छ । अख्तियार स्रोतका अनुसार अनुसन्धानपछि सुनिल पौडेलमाथि पनि विशेष अदालतमा मुद्दा चलाउने तयारी भइरहेको छ ।