Logo
Logo

सरकारले ‘सुशासन अभियान’ छोड्नेवाला छैन : गृहमन्त्री


126
Shares

काठमाडौं ।  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको दाबी गरेका छन् । 

आज बिहीवार नेपाल पर्वतारोहण सङ्घको ३३ औँ वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताए । 

उनले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान शुरु गरिएको हो त्यही प्रवृत्ति र तागतहरू सङ्गठित भएर सरकारको अभियान असफल गर्न लागेका जिकिर गरे । 

सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताउँदै मन्त्री श्रेष्ठले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाई छाड्ने दाबी गरे । उनले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीले सहमति कायम गर्नुपर्ने बताए ।

उनले भने, ‘सुशासन स्थापना गरे मात्रै समृद्धिलाई तीव्र बनाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यही आधारमा अहिले यो अभियान चलाइराखेका छौँ । यसले थोरै आशा पैदा गरेको छ । तर यो सुशासन जुन प्रवृत्ति र तागतका विरुद्ध सञ्चालन गरिएको हो, ती प्रवृत्ति र तागतहरू सङ्गठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न पनि गर्दैछन् भन्ने अर्को यथार्थ हो । तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन । हामी यसलाई सफल बनाई छाड्छौँ र नेपाललाई समृद्ध बनाई छाड्छौँ भन्ने सङ्कल्प छ । यसमा सरकार मात्र होइन सबै राजनीतिक पार्टीले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले  पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्‍याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्