Logo
Logo

भारतीय अभिनेत्री दिव्या दत्ता काठमाडौंमा


2k
Shares

काठमाडौं । भारतीय अभिनेत्री तथा लेखिका दिव्या दत्ता काठमाडौं आएकी छन् । भदौ १५ गते अर्थात भोलि शुक्रबारदेखि १७ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’मा सहभागी हुन बिहीबार काठमाडौँ आइपुगेकी हुन् ।

दक्षिण एसियाका नेपाललगायत भारत, भुटान, बंगलादेश र श्रीलंकासमेतका लेखक तथा कलाकारहरु भेला हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुुन लागेको हो ।
५७ वटा सेसन रहेको महोत्सवको पहिलो दिनको पहिलो सेसन सेसनमा डा. विवेक डेब्रोय, जगमान गुरुंग, प्रो. अवधेष प्रधान र प्रो. बिना पौडेलले ‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’ शीर्षकमा छलफल गर्नेछन् ।

पहिलो दिन नै यस महोत्सवकी मुख्य आकर्षण बलिउड अभिनेत्री तथा लेखिका दिव्य दत्ताले आफ्नो सिनेमा यात्राबारे प्रस्तुति दिने भएकी छन् । यसैगरी, बलिउड तथा नेपाली सिनेमा क्षेत्रमा काम गरेकी अभिनेत्री मनिषा कोइराला दोस्रो दिनको मुख्य आकर्षण रहनेछिन् । यी दुई अभिनेत्री एउटै मञ्चमा समेत देखिने बताइएको छ ।

अभिनेत्रीद्वय दिव्या र मनिषाले दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यताबारे अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।
महोत्सवको दोस्रो दिन हरहर शम्भो गीतकी ट्रेन्डिंग गायिका अभीलिप्सा पान्डाले आफ्नो प्रस्तुतिमार्फत् दर्शकलाई मनोरञ्जन गराउने छिन् । हरेक दिन कविता, गजल तथा कथा वाचनसमेत हुने महोत्सवमा तेस्रो दिनको प्रमुख आकर्षण बन्नेछन् ललितपुरका मेयर चिरिबाबु महर्जन ।

ललितपुरकै होटल हिमालयमा हुने कार्यक्रममा मेयर महर्जन र रेणु दाहालसँग हुने अबको कस्तो नगर ? शीर्षकको बहसमा यस महोत्सवकी अध्यक्ष रञ्जना निरौलाले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्