काठमाडौं । १६औँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० का अवसरमा पुरस्कृत र सम्मानित हुने संस्था र व्यक्ति छनोट भएको छ । पुस्तककालयतर्फ नरदेवी काठमाडौँको आशा सफु कुथीलाई रु ५० हजार राशिबाट पुरस्कृत गरिने भएको छ ।
यस्तै सम्मानका लागि छनोट भएकामा पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी–४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे, पुस्तकालयप्रेमी तथा अभियन्तातर्फ रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, पाठकतर्फ ललितपुरका गोदावरी नगरपालिका–४ बडिखेलका रुक्मिणी चालिसे छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा गत साउन २२ गते गठित समितिले ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य तय गरी दिवसको तयारीलाई अन्तिम रूप दिएको प्रचार–प्रसार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।
दिवस मनाउन प्रदेश र स्थानीय तहस्तरमा मूल समारोह समितिले आग्रह गरेको छ ।