विचार र व्यवहारबीचको दुरी जब दूर बन्छ, त्यो बेला राजनीतिप्रति जनविश्वास घट्दै जान्छ । जनता र नेताबीचको राजनीतिक, सैद्धान्तिक, वैचारिक र वर्गीय सम्बन्ध फिक्का बन्छ । त्यसपछि राजनीतिको सतहमा अनेकन समस्या देखिन थाल्छन् ।
राजनीतिमा पार्टीसत्ता, राज्यसत्ता र संविधानले महत्वपूर्ण अर्थ राख्छ । सत्तामा पुगेपछि राजनीतिकर्मीको हैसियत जनताले थाहा पाउछन् । आजका दिनमा के नयाँ ? के पुराना ? हाम्रो देशका राजनीतिक दलहरूप्रति जनता खासै आशावादी देखिँदैनन् । बरु उल्टै घोर निराशामा देखिन्छन् । देशमा डरलाग्दो रूपमा जातीय, धार्मीक, लोकप्रियतावाद र प्रतिक्रियावादको हावा हुण्डरी चलिरहेको छ ।
ठीक यसैबेला वैचारिक, सैद्धान्तिक र राजनीतिक दृष्टिकोणबाट हेर्दा केही आशा गरिएको र नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरेको बताउँदै आएको नेकपा (एकीकृत समाजवादी) ले दोस्रो पार्टी पुनर्गठन दिवस मनाएको छ । २०७८ सालमा एमालेबाट विद्रोह गरेर निर्माण भएको पार्टी (एकीकृत समाजवादी)सँग खासगरी कम्युनिष्ट विचारप्रति विश्वास राख्ने समाज आशावादी थियो र छ । संख्याका हिसाबले कम तर, गुणका हिसाबले उक्त पार्टीको पक्षमा उभिएका नेता तथा कार्यकर्ताहरू असल छन् भन्ने परिचय छ ।
तर, पार्टी पुनर्गठनदेखि नै सत्ताप्रतिको आशक्त रूझानमा फसेका कारण एकीकृत समाजवादी पार्टीले फराकिलो दायरा बनाउन नसकेको कुरा घाम जस्तै छ । राज्यसत्तामा पुगेका मन्त्रीहरूले राम्रो काम गर्न नसक्नु र पार्टीसत्तामा रहेका नेताहरूले समय सापेक्ष, मुलुकको परिस्थिति र जनताको मनस्थितिअनुसार पार्टीलाई सञ्चालन गर्न नसक्दा जनविश्वासको ग्राफ ओरालो लागेको छ ।
स्पष्ट अडान खोई ?
सत्ता गठबन्धनका नाममा एमसीसी प्रकरणदेखि आफ्नो स्वतन्त्र हैसियत गुमाउन सुरु गरेको एकीकृत समाजवादी पार्टीले पछिल्लो समयसम्म आइपुग्दा अनेकन राष्ट्रिय मुद्धामा आफ्नो स्पष्ट अडान लिन सकेको देखिएन । कोशी प्रदेश सरकारबारे स्पष्ट धारणा सार्वजनिक गर्न सकेन । समाजवादी कार्यदिशा तय गरेको पार्टीले कोशीमा पटकपटक संविधानमाथि प्रहार हुँदासमेत मौन बस्नुको अर्थ के हो ? यस सवालको सोझो जवाफ हो सत्ता ।
सरकारले सुन प्रकरण, भ्रष्टाचार र अनियमितताका अनेकन फाइल खोलिरहेको बेला एमालेले उच्चस्तरीय छानविन आयोगको माग गर्यो र सरकारले एकीकृत समाजवादीको सहभागिता बिना आयोग गठन गर्ने सहमति गर्यो । यो बेला सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर भ्रष्टाचारविरुद्ध सडकमा आउन सक्नुपथ्र्यो । जनता समस्यामा छन् । समाजमा तमाम मुद्धा छन् । रूपान्तरणसँग जोडिएका राजनीतिक, सैद्धान्तिक र वैचारिक मुद्धा लिएर जनताको बीचमा बस्नुपर्ने बेला पार्टीले प्राप्त गरेको जनमतलाई खण्डित हुनेगरी सत्ता साझेदारको बैशाखी बन्नु गतल हो ।
प्रतिक्रियावादी र लोकप्रियतावादीहरूले प्रदेश संरचना खारेजीको माग राखेर चुनाव जितिरहेको अवस्थामा मुख्यमन्त्री र प्रदेश प्रमुखको लागि संघीयताको मर्मविपरित काठमाडौँ उपत्यकामा आलिसान महलहरू निर्माण गरिएका छन् । सत्ता गठबन्धन संविधान विपरित, संघीयता विपरित अतिरिक्त विलाशीताको बाटोमा हिँहिरहेको छ । देशले सार्वजनिक तथा वैदेशिक ऋणको भारी बोकिरहेको छ । उत्पादन र व्यवसाय क्षेत्र धरासायी छ । अर्थतन्त्र सुधारोन्मुख भनिए पनि आर्थिक गतिविधि चलायमान हुन सकिरहेका छैनन् ।
देशको अधिकांश राजस्व मन्त्री, सांसद, कर्मचारीको तलव–भत्ता, अगुवा पछुवाको लागि ठिक्क छ । सरकार आफैले घोषणा गरेका कैयौं विकासका आयोजना बजेट अभावमा अलपत्र छन् । विकास आयोजनाको काम सकिएर पनि निर्माण व्यवसायीले भुक्तानी पाउन सकेका छैनन् । यसबारे एकीकृत समाजवादी पार्टीको धारणा के हो ?
डरलाग्दो गरी जनताका छोराछोरीहरू नेपाली नागरिकता त्यागेर विदेशको पिआर प्राप्त गर्ने सपना बुनिरहेका छन् । कतिपय पलायन भइसकेका छन् । कतिय पलायनको तरखरमा छन् । युवा श्रमशक्ति खाडितिर भासिरहेको चित्र झन् कहालिलाग्दो छ ।
मुलुक र जनताको जीवनसँग जोडिएका यस्ता गम्भीर सवालहरू एकीकृत समाजवादी पार्टीको मुल विषय र मुद्धा बन्न सकेनन् । किनकि, सत्ता गठबन्धनमा रहेकै कारण उसले आफ्नो स्वतन्त्र अस्तित्वलाई भुल्यो । माधवकुमार नेपाल-झलनाथ खनालले बुढेसकालमा विद्रोह गरेर निर्माण गरेको पार्टीलाई बचाउने एक मात्रै उपाए सत्ता बनेको छ ।
सत्ताको बैशाखीले कतिदिनसम्म पार्टी चल्छ ? कसैलाई अवसरै अवसर । कसैलाई भूमिकाविहीन बनाएर विद्रोहको झण्डा कहिलेसम्म उभिन्छ ? आफ्नो जयकार गर्ने नेतालाई सांसद र मन्त्री बनाउने, टिकट दिने अनि आफूलाई पार्टीसत्ता भए पुग्योसरी ?
अब पार्टीको सम्पूर्ण संरचना बदल्नुको विकल्प छैन । वैचारिक, राजनीतिक र सैद्धान्तिक रूपमा यो पार्टी कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो भन्ने कुराको पुष्टि गर्नुपर्ने बेला आएको छ । यो कुरा नेतृत्वले समयमै बुझ्नुपर्छ ।
सत्ता केन्द्रित र चुनाव केन्द्रित व्यस्ततालाई घटाउन नसक्नु यस पार्टीका नेता तथा कार्यकर्ताहरूको गम्भीर कमजोरी हो । यस्तो विषम परिस्थितिमा पनि जनविरोधी, देशविरोधि, भ्रष्टाचारी विरोधी, विभिन्न काण्ड विरोधि मुद्धा उठाएर पार्टी संगठन निर्माणका पक्षमा समय दिने हो भने पार्टीप्रतिको ग्राफ पुनःउकालो लाग्नेमा शंका छैन ।
वर्तमान अवस्था
पार्टीमा व्याप्त निराशा छ । पार्टी बन्छ र बनाउनुपर्छ भन्नेहरू निक्कै कम छन् । वैचारिक र सैद्धान्तिक विमती राख्ने नेताहरूमाथि प्रहार भइरहेको छ । पद, प्रतिष्ठा र अवसरका नाममा झमेला छ । यतिमात्रै होइन, केही केन्द्रीय नेता र जिल्ला अध्यक्षहरूको पलयन चित्र सतहमा देखिएको छ ।
यस्तो विकराल अवस्थामा अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रगति देखेर एमालेको निद हराम भएको टिप्पणी गरेको सुनियो । तेस्रो बरियताका नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, पूर्वराज्यमन्त्री हिराचन्द्र केसीदेखि कर्णाली प्रदेशका पूर्वमन्त्री कुर्मराज शाहीसहित २५ जनाभन्दा धेरै केन्द्रीय सदस्यले पार्टी छोडिसकेका छन् । त्यस्तै १३ जिल्लाका अध्यक्षहरू एमालेमा फर्किसकेको अवस्था छ ।
यो अवस्थाबारे पार्टीको पदाधिकारी टिम जानकार पक्कै छ । तर, मुल नेतृत्व माधव नेपाल र उनको सचिवालयले पार्टीभित्र गुट खडा गरेर बसेको छ । पार्टी छोडेर जानेहरूलाई अवसरवादी र धोकेवाज भन्दै आत्मरतिमा रमाइरहेको छ ।
झलनाथ खनालको सामु पार्टीको स्वतन्त्र अस्तित्वबारे बोल्नेबाहेक अर्को काम छैन । रामकुमारी जस्ता युवा नेताहरू सामु आफ्नो उर्जाशील उमेर, जोश जाँगर र पार्टी बनाउने हुटहुटी खेर फाल्ने शिवाय अर्को जिम्मेवारी छैन ।
अन्त्यमा, घनश्याम भुसालजस्ता वैचारिक नेता, रामकुमारी जस्ता युवा नेताहरूले भएको पार्टीले आगामी ६ महिनाभित्र मुलुकलाई नयाँ आशावादको दिशा दिन सक्नुपर्छ । यस पार्टीको भविष्य अझैं छ । सबैभन्दा पहिले सत्ता त्याग्न सक्नुपर्छ । विलासिता, प्राकृतिक स्रोत साधनको प्रयोगबारे, पर्यावरण, विभेद, एमसीसी कार्यान्वयनबारे, सरकारी ढुकुटीबाट विशिष्ठहरूले लिने रकमका बारेमा फरक र स्वतन्त्र पहिचान राख्न सक्नुपर्छ । एअरपोर्टमा नेताहरूलाई लिन र पु¥याउन लाग्ने भिडको बारेमा सोच्नुपर्छ । हरेक जसो कार्यक्रममा आफूमात्रै उपस्थिति हुने, अरु नेतालाई स्थान नदिने नेतृत्वको गलत रवैयाको अन्त्य गरिनुपर्छ ।
राज्य सत्ता र पार्टी सत्ताका बारेमा स्पष्ट खाँका तय गरिनुपर्छ । पार्टी बन्ने तमाम आधारहरू छन् । निस्कलंक नेताहरू छन् । युवाहरू छन् । पार्टी सैद्धान्तिक र वैचारिक रुपमा अरुभन्दा एक कदम अगाडि छ । पार्टीमा युवाहरूलाई अवसर दिन सकिन्न र पार्टी सत्तामै मात्र, मेरा मात्र भन्ने हो भने राजनीतिक रूपमा पार्टी विद्रोहको पुष्टि भइसकेको छ । अब पार्टी विघटन गरिदिए हुन्छ । सैद्धान्तिक र वैचारिक रुपमा पुष्टि गर्ने सामथ्र्य नेपाल—खनालसँग छैन ।
सैद्धान्तिक र वैचारिक पुष्टि नेपालमा समाजवाद कार्यान्वयनको चित्र सहतमा देखिएपछि हुनेछ । पहिलो पुस्ताको युग सकियो । समय धेरै पर पुगिसकेको छ । समय र परिस्थितिसँग हिड्न उनीहरूलाई न उमेरले साथ दिन्छ । न त एजेण्डा (विचार) ले । एक वाक्यमा भन्नुपर्दा पार्टी जीवनबारे स्वतन्त्र अस्तित्व र पहिचानबारे ठोस् विश्लेषण गरेर अगाडि बढ्नु नै नेतृत्वका लागि श्रेयकर हुनेछ ।