Logo
Logo

पूर्वउपपराष्ट्रपतिको छोरामाथि सिआइबीको निगरानी


4.2k
Shares

काठमाडौं । माओवादी सुन काण्डले बदनाम भएको छ । कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान नगरिएको भन्दै प्रमुख प्रतिपक्ष एमालेको असन्तुष्टि छ । महराका छोरा राहुलमाथि भने प्रहरीले अनुसन्धान थालेको छ ।

यसैबीच, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबीको अनुसन्धानको घेरामा परेका छन् । बाबु उपराष्ट्रपति हुँदा त्यसको आडमा बिचौलियाको धन्दा गरेको उनीमाथि आरोप लाग्ने गरेको थियो । तर, अहिले उनी सुन काण्डमा मुछिएका छन् । माओवादी नेता र तिनका छोराहरू एकपछि अर्को काण्डमा फस्दै गएका छन् ।

जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ थप तनावमा परेका छन् । भ्रष्टाचारी जोसुकै भए पनि कारबाही गरेरै छाड्ने प्रचण्डको प्रतिबद्धता भुइँमा खस्न नपाउँदै सुन काण्डमा महरा बाबुछोरा जोडिएपछि तनावमा त थिएनै, त्यसमाथि सुन तस्करको गिरोहसँग पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनको संलग्नता देखिएपछि प्रचण्ड धर्मसंकटमा परेका छन् ।

बेल्जियम नागरिक दावा छिरङ र दिपेश पुनको सम्बन्ध नजिकको देखिएकाले सिआइबीको अनुसन्धानले देखाएको छ । होटल भियानाका मालिक बेल्जियम नागरिक दावा छिरिङसँग दिपेशको संलग्नताबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले एक साताअघि मात्रै उनको संलग्नता हुनसक्ने शंकास्पद कागजात फेला पारेपछि अनुसन्धान सुरु गरेको बताइएको छ ।

भारतबाट किशोर बस्नेतलाई पक्राउ गरेपछि दावा छिरिङको ६० किलो सुन तस्करीमा संलग्नता खुलेको थियो । विवादास्पद भूमिकामा रहेका उपराष्ट्रपति पुनका छोरा दिपेश, दावासँगै मनाङ एयरबाट गोसाइँकुण्ड पनि गएको देखिएको र अन्य कामको पनि व्यवस्थापन गरिएको देखिएको स्रोतको दाबी छ ।

पक्राउ परेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु भएको छ । पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावाको बारम्बार भेटघाट भएको पुष्टि भएको छ ।

दावाले पुनको घरमा पुगेर भेटघाट गरेका, पारिवारिकरूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन् ।

राजस्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गरेपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको थियो । त्यति मात्र होइन, बुहारी जुनाले दावालाई भाइटीका लगाएको तस्बिर पनि बाहिरिएको थियो । जसले गर्दा उनीहरूको सम्बन्ध पारिवारिक रहेको देखिन्छ । पूर्व उपराष्ट्रपति पुनका जेठा छोरा अमेरिका पुगेका छन् । तीन महिनाअघि उनी किन र कसको खर्चमा अमेरिका पुगे भन्ने पनि खुलेको छैन ।

छिरिङको सम्पर्क माओवादी केन्द्रका उच्च तहका नेताहरू र उनीहरूका परिवारसँग बाक्लो उठबस भएकाले पनि तस्करीलाई सहजीकरण भएको स्रोतले जनाएको छ । त्यसैले प्रहरीले उनीहरूको ‘कनेक्सन’बारे अनुसन्धान सुरु गरेको हो । ‘दावाले माओवादीका नेताहरुसँगको सम्बन्ध देखाएर सुन तस्करी गरेका हुन् वा त्यसमा माओवादीका नेताहरुको संलग्नता रहेको छ भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ’, सिआइबी स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्