Logo
Logo

प्रचण्ड सरकार ढाल्ने खेलमा शेखर कोइराला, केपी ओलीसँग बालकोटमा गोप्य भेट


13.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला आफ्नै पार्टी संलग्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने खेलमा लागेका छन् । सरकार ढाल्न पार्टी सभापति शेरबहादुर देउवामाथि पनि दबाब बढाएका छन् ।

पछिल्लो समय कांग्रेस–माओवादीको सम्बन्धमा तिक्तता पैदा भएको प्रसङ्गहरू चलिरहेको बेला नेता कोइराला आफ्नै सरकार ढाल्ने खेलमा लागेका हुन् । कांग्रेसमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका कोइराला पछिल्लो समय सभापति शेरबहादुर देउवासँग निकट सम्बन्धमा रहँदै आएका छन् ।

सरकार ढाल्ने खेलमा लागेका कोइरालाले केही दिनयता निरन्तर आफू पक्षका नेताहरूसँग छलफल गर्दै आएका छन् । छलफलका क्रममा जसरी पनि प्रचण्ड सरकार ढालेर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राख्दै आएको कोइराला पक्षका नेताहरूले बताउँदै आएका छन् ।

कोइराला आफ्नै पार्टी संलग्न सरकार ढाल्ने पक्षमा रहेको कुरा मंगलबार कांग्रेस निकट कर्मचारी संगठनको कार्यक्रममा उनले राखेको धारणाले पनि थप पुष्टि गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले भने– ‘अब नेतृत्व हामीले लिन सक्ने हो कि होइन ? हामीले नेतृत्व लिने हो भने नेपाली कांग्रेसको वर्चस्व हुन्छ, जनतालाई पनि आश्वस्त पार्न सकिन्छ । किन भने अहिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र कूटनीतिक कुनै पनि कुरामा देश ठीक ठाउँबाट अघि बढिरहेको छैन ।’

नेता कोइरालाले ‘देशमा सबै कुरा ठीक ठाउँबाट अघि बढिरहेको छैन’ भनेता पनि अहिले उनले भने झैँ देशमा खास समस्या छैन । अर्थतन्त्र बिस्तारै लयमा फर्कँदै गएको छ भने राजनीतिक रूपमा त्यस्तो खास समस्या देखिएको छैन । उनले भने झैँ कूटनीतिक क्षेत्रमा पनि समस्या छैन । केही समय अगाडि मात्र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गरेका छन् भने छिट्टै अमेरिका र चीनको भ्रमण गर्दै छन् ।

नेता कोइरालाले पार्टी सरकारमा रहेता पनि पार्टीलाई चारैतिरबाट आक्रमण भइरहेको समेत बताएका छन् । मुख्य गरी मन्त्रीहरूलाई काम गर्न नदिएर प्रधानमन्त्री प्रचण्डबाटै कांग्रेसमाथि आक्रमण भइरहेको कोइरालाको आशय थियो ।

उनले भने– ‘नेपाली कांग्रेसमाथि चारैतिरबाट आक्रमण भइरहेको छ । यसो हेर्दा ९–१० वटा मन्त्रालय छ क्यारे, झन्डै ९० जना सांसदहरू छौँ हामी, तर गभर्मेन्ट हाम्रो हो कि होइन भन्ने आम नेपाली जनतालाई पिर गरेको छ । यसमा हाम्रो प्रधानमन्त्री प्रणाली र प्रधानमन्त्रीको भूमिका पनि कारक होला । तर, गभर्मेन्ट हाम्रो हो कि होइन भन्ने आम नेपाली जनतालाई पिर गरेको छ । यसमा हाम्रो प्रधानमन्त्री प्रणाली र प्रधानमन्त्रीको भूमिका पनि कारक होला । तर, कांग्रेसमाथि आक्रमण भइरहेको छ ।’ 

केही अभिव्यक्तिलाई लिएर कोइराला प्रधानमन्त्री प्रचण्डमाथि खनिएका छन् । प्रधानमन्त्रीले जातीय कुरा गर्नु अराजकता रहेको उनको भनाइ थियो । उनले भने– ‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ हामी जातीय पहिचानको राज्य बनाइदिन्छौ भनेर भन्न मिल्दैन, यसरी देश चल्दैन, यो कुरालाई पार्टीले गम्भीर रूपमा लिनुपर्छ ।’

इतर समूहकै नेतृत्व भए पनि पछिल्लो समय सभापति देउवासँग निकट भएका कारण हरेक भागबन्डामा सामेल हुँदै आएका कोइरालाको पछिल्लो धारणालाई अहिलेको अवस्थामा संस्थापन लाइनकै धारणाको रूपमा हेरिएको छ ।

पछिल्ला केही घटनापछि प्रधानमन्त्री प्रचण्डसँग सभापति देउवा सन्तुष्ट छैनन् । खास गरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा सल्लाह नै नगरी विश्वासपात्र बालकृष्ण खाँड पक्राउ परेसँगै देउवा–प्रचण्ड सम्बन्धमा चिसोपन आएको छ । सँगै, श्रीमती आरजु देउवासमेत पक्राउ पर्ने सम्भावनाहरूका कारण सत्ता गठबन्धनमै संकट पैदा भएको बेला सभापति देउवामार्फत कोइराला परिचालित भएको हुनसक्ने विश्लेषण हुने गरेको छ ।

केपी ओलीसँग गोप्य भेट
उच्च स्रोतका अनुसार नेता कोइरालाले यसै साता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेट गरेका छन् । ओली निवास बालकोटमा भएको भेटमा कांग्रेस–एमाले गठबन्धनको सम्भावनाबारे छलफल भएको बुझिएको छ ।

ओलीसँग निकट सम्बन्धमा रहँदै आएका कोइराला ओलीका हरेक कदमहरूमा सहमत हुँदै आएका नेता हुन् । केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गर्दा पनि कोइराला ओलीको कदम ठीक भन्ने पक्षमा थिए ।

ओलीसँगको भटेमा नेता कोइरालाले प्रचण्डसँगको सत्ता सहयात्रा धेरै टाढा जान नसक्ने भन्दै कांग्रेस–एमाले सत्ता सहयात्राका लागि पहल गर्न आग्रह गरेका थिए ।

यता, नेकपा माओवादी केन्द्रले पनि कांग्रेसले सहयात्रा टुङ्ग्याउन गरेको प्रयत्न थाहा पाइसकेको छ । यसै साता माओवादीको कोर नेतृत्वको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा कांग्रेसले धोका दिन लागेको भन्दै एमालेसँगको सहकार्यका सम्भावनाहरूमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्