Logo
Logo

चुच्चे नक्सामा ओलीको विचलन


डा. दीपेश केसी

3.3k
Shares

नेपालले ७ जेठ २०७७ मा कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नयाँ नक्सा जारी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विजेता ‘युद्ध सरदार’ जसरी प्रस्तुत गरेका थिए । उनले आफूलाई अहिलेसम्मकै राष्ट्रवादी नेता जस्तो देखाउन खोजे ।

‘चुच्चे नक्सा’ भनिने नयाँ नक्सा जारी गरेको जस लिँदै उनी त्यसबाट भविष्यसम्म व्यक्तिगत राजनीतिक लाभ लिनमा सक्रिय भए । चुनावी मुद्दामा यो विषय प्राथमिकतामा राखेर उल्लेख गरिरहे । त्यसो त नयाँ नक्सा जारी गर्दा राष्ट्रिय सहमति नै बन्यो । नक्सा छ, भू–भाग अझै नेपालको नियन्त्रणमा आउन सकेको छैन । न त यसले अन्तर्राष्ट्रिय मान्यता पाउन सकेको देखिन्छ । यतिसम्मकी, छिमेकी मुलुक चीनले समेत आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको चुच्चे नक्सालाई मान्यता दिएन ।

चीनले ११ भाद्रमा जारी गरेको नयाँ नक्सामा भारतको अरुणाञ्चल र लदाखका भूभाग समेटिएका छन् । यसप्रति भारतले आपत्ति जनाएको छ । साउथ चाइना सीका अधिकांश समुन्द्री क्षेत्र र टापुहरु चीनले नयाँ नक्सामा समेटेको छ । जसका कारण उसका छिमेकी फिलिपिन्स, मलेशियालगायत देशहरु विरोध गरेका छन् ।

एमाले अध्यक्ष ओलीको राष्ट्रवादको मुखुण्डो फेरि एकपटक उदांगिएको छ । उनी राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर भन्दा व्यक्तिगत राजनीतिक लाभ र हानीमा केन्द्रित भएर कार्डहरु फ्याँक्ने गर्छन् भन्ने देखिएको छ । चुच्चे नक्सामा ओलीको विचलन छर्लङ्ग देखियो ।

चीनले नेपालको चुच्चे नक्सालाई समावेश नगर्नुमा कूटनीतिक पहल राम्ररी गर्न नसक्नुलाई कारण ठहर्याउनेहरु नभएका होइनन् । तर, चीन जस्तो महाशक्ति बन्ने महत्वाकांक्षा बोकेको देश आफ्नो राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर चल्छ भन्ने बुझ्न जरुरी हुन्छ ।

अर्कोतर्फ, ऊ भारत जस्तो महत्वपूर्ण शक्तिलाई आफ्नो हितका लागि चिढ्याउन तयार होला तर, नेपालको लागि जुध्न तयार हुँदैन । भारतसँग नेपालको सीमा समस्या छँदैछ तर यस मामलामा साथ पाउने आशा राखिएको चीनले समेत बेवास्ता गरिदियो । त्यसको उचित जवाफ देशका कुनैपनि मुख्य दलहरुले दिन सकेनन् । बरु काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बोले ।

चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको सन्देश गएको ठहरका साथ बालेनले आफ्नो चीन भ्रमण रद्द नै गरे । चीनको यस्तो भूमिकाप्रति आपत्ति जनाउँदै उक्त देश भ्रमण गर्न नैतिकताले नदिने तर्क बालेनको छ । बालेनले त नैतिकता देखाए तर चुच्चे नक्सा जारी गरेको जस लिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जम्बो टोलीलाई चीन भ्रमणमा पठाए त्यो पनि १२ दिनका लागि ।

एमाले महासचिव शंकर पोखरेल, परराष्ट्र विभाग प्रमुख डा. राजन भट्टराईसहितको यो टोली चीनले चुच्चे नक्सालाई मान्यता नदिएको सांकेतिक घोषणालगत्तै चीन पुगे । चुच्चे नक्सा जारी गर्ने बेलामा सरकारको नेतृत्व लिएको एमालेले यसमा विरोध जनाउन समेत सकेन । विरोधका कुनै आवाज निकाल्न सकेन ।

देशको संसदले समेत अनुमोदन गरेको नयाँ नक्सामा चीनले जुन भूमिका देखायो, त्यसप्रति परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट समेत लेख्यो । तर, नेपालका सार्वभौम जनताको प्रतिनिधिबाट पारित भएको आफ्नो भूभाग सहितको नक्सालाई ठाडै मान्यता नदिने छिमेकको रवैयामा एमालेको भूमिकाले आशंकाहरु जन्माएको छ ।

राष्ट्रिय स्वार्थसँग जोडिएका महत्वपूर्ण विषयमा छिमेकसँग दरिलो अडान प्रस्तुत गर्न नसक्ने गतिविधि ओलीमा देखिएकै थियो । महाकाली सन्धीमा उनको अडान राष्ट्रिय स्वार्थमा थिएन भन्ने समयले पुष्टि गरिसकेको छ । चुच्चे नक्सा जारी गर्दा उनले राष्ट्रिय स्वार्थमा भन्दा राजनीतिक स्वार्थलाई प्राथमिकतामा राखेका थिए भन्ने अहिलेको घटनाक्रमले पुष्टि गरेको छ ।

नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई देशकै नियन्त्रणमा ल्याउन कूटनीतिक पहल गरेको देखिएन न त प्रधानमन्त्री हुँदा उनले यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके । उल्टै चुच्चे नक्सा जारी भएको ३ वर्षपछि चीनले समेत लोप्पा ख्वायो । यही बेलामा एमालेले जम्बो टोली चीन पठाएबाट अनेकन प्रश्नहरु उब्जिएका छन् ।

चीन, भारत, अमेरिका या जुनसुकै शक्तिराष्ट्रले नेपालको राष्ट्रिय स्वार्थमा असर पार्न खोज्दा जिम्मेवार दल तथा नेताहरु दरिलो ढंगले प्रस्तुत हुनुपर्छ । तर, चीनले चुच्चे नक्सालाई अस्वीकार गरेको सन्देश प्रवाह गर्दा एमालेको जम्बो टोली चीन भ्रमणमा जानुले राष्ट्रको महत्वपूर्ण सवालमा संवेदनशील छैन भन्ने देखाउँछ ।

कुनै एक देशको विरोध या समर्थन गर्दैमा राष्ट्रवादी भइँदैन । राष्ट्रवादी हुन आवश्यक पर्दा जुनसुकै शक्तिसँग दरिलो रुपमा प्रस्तुत हुनसक्नुपर्छ । आफ्नो वजन राख्न सक्नुपर्छ । जुन एमाले र उसका जिम्मेवार भनिएका नेताहरुमा देखिएन ।

बरु बालेनले नैतिकता देखाएर चीन भ्रमण नै रद्द गरेको घोषणा गरे । त्यो साहस एमालेका नेताहरुमा देखिएन । यसबाट एमाले अध्यक्ष ओलीको राष्ट्रवादको मुखुण्डो फेरि एकपटक उदांगिएको छ । उनी राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर भन्दा व्यक्तिगत राजनीतिक लाभ र हानीमा केन्द्रित भएर कार्डहरु फ्याँक्ने गर्छन् भन्ने देखिएको छ । चुच्चे नक्सामा ओलीको विचलन छर्लङ्ग देखियो ।

प्रतिक्रिया दिनुहोस्