Logo
Logo

घमण्डको श्रीपेच पहिरिएका ‘श्री आठ’ बालेन्द्र !  


2.6k
Shares


काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) साहलाई बेलाबेला सनक चढ्छ । उनीमा घमण्ड देखिन्छ– ‘मभन्दा माथि कोही छैन’ भन्ने । कहिले अदालतलाई नटेर्ने उद्घोष गर्छन् त, कहिले सिंहदबारमा आगो लाइदिने धम्की दिन्छन् ।

उनी नेतालाई फोहोर ठान्छन् । सिसडोलमै लगेर ‘डम्पिङ’ गर्नुपर्ने बताउँछन् । कहिले नेतालाई ‘चोर’ भन्छन् भने कहिले सरकारलाई । डोजर आतंक त उनको पहिचान नै बनिसक्यो । भत्काउँछन् तर बनाउँदैन । जताततै खन्छन् र अलपत्र छाड्छन् । जहाँ धराप बन्छ ।
 
गत शनिबार बालेनलाई औधी नै सनक चढ्यो । उनले सिंहदरबारमै आगो लगाउनेसम्मको धम्की दिए । त्यसको कारण एउटामात्रै थियो– पत्नी सविना काफ्ले चढेको सरकारी गाडीमाथि ट्राफिक प्रहरीको केरकार । 

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले महानगरको गाडी रोक्यो । ट्राफिकले बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी चलाउने अनुमति पत्र माग्यो । तर, ड्राइभरले महानगरको गाडी किन रोकेको भन्दै उल्टै थर्कायो ।

बालेन आफैँमा एउटा सरकार हुन् । तर, धम्की चाहिँ आतङ्ककारीको जस्तो छ । देशको प्रमुख प्रशासनिक केन्द्रमा खुलेयाम आगो लगाउने धम्की दिनु दण्डनीय उद्दण्डता हो । यस्तो धम्की दिँदा पनि चुपचाप बस्नु राज्यको निरीहता हो ।

केही मिनेट भनाभनपछि ट्राफिकले चिट नकाटी महानगरको गाडी छाड्यो । पत्नी सविना चढेको गाडी ट्राफिकले केरकार गरेको झोँकमा बालेनले आगो ओकले । सिंहदरबारमा आगो लगाउने धम्की दिए । सरकारलाई ‘चोर’ भने ।
 
सामाजिक सञ्जालमा लेखे, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

बालेनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भयो । आलोचनाबाट बच्न भावनासँग खेल्न खोजे । छोरी जन्मिएको उपाय झिके । त्यसको म्यानुपुलेसन रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजबाट भयो । मेयर बालेनको छोरी जन्मिएको विषय सार्वजनिक गर्यो । 
 
‘रुटिन अफ नेपाल बन्द’ले आइतबार बिहान बालेनकी छोरी जन्मिएको भन्दै पोस्ट गर्यो । त्यसपछि बालेनका समर्थकले निहुँ पाए । सुत्केरी व्यथाले च्याप्दा सरकार गाडी प्रयोग गर्न नपाउने भन्दै प्रश्न गर्न थाले ।

तर, ‘रुटिन अफ नेपाल बन्द’को त्यो उपाय धेरै समय टिकेन । बालेनको छोरी ९ दिनअघि नै जन्मिएको तथ्य सार्वाजनिक भयो । त्यसपछि रुटिन अफ नेपालले केही दिनअघि नै जन्मिएको भनेर ‘स्टाटस’ सच्यायो । म्यानिपुलेट गर्न असफल भयो । 

यो त भयो मेयर बालेनको कुरा । अब, सर्वसाधारणको कुरा गरौं । इमर्जेन्सी कक्षमै घटौं कुर्नुपर्छ । कुर्दाकुर्दै उपचार नपाएर बिरामीको मृत्यु हुन्छ । गत मंगलबार कान्ति बाल अस्पतालमा दुई घन्टा कुर्दा पनि उपचार नपाएर बाफल बस्ने पाँच वर्षीया रेजिशा गोपालीको मृत्यु भयो ।

बालेन श्रीमतीलाई दुई मिनेट रोक्दा सिंहदरबारमा आगो लगाउने धम्की दिन्छन् । तर, दुई घन्टा कुर्दा पनि उपचार नपाएर अस्पतालको इमर्जेन्सी कक्षमै रेजिशाको मृत्यु हुँदा चुइँक्क पनि बोल्दैनन् । किन ‘माहराज’हरुको मात्रै हो जीवन ? स्वास्थ्य ? ‘गरिबको बोलिने कोही छैन चमेली…’ किन गुञ्जिदैन ?

आवेग र आक्रोश सबैको हुन्छ । तर, सँधै देखाउनै पर्छ र ? बालेनका अक्रोश धारावाहिक रूपमा  हुन्छ । गत चैतमा उनले नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका थिए । उनले लेखेका थिए, ‘आजदेखि सिंहदरबारको फोहोर उठ्दैन, साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

उनको घमण्ड यस्तो छ कि, आफूलाई कानुनभन्दा माथि ठान्छन् । अदालतको आदेश मान्दैन भन्छन् । हिन्दी सिनेमा आदिपुरुष विवादलाई लिएर उनले अदालतको निर्णय नमान्ने घोषणा गरेका थिए । उनले लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’

बालेनको अराजकताले सीमा नाघेपछि चलचित्र निर्देशक विशाल भण्डारीले उनलाई ‘श्री आठ’ नै घोषणा गरेका थिए । बालेनले जथाभावी डोजर चलाएपछि गत माघमा विशालले भत्काउन भन्दा पनि बनाउनतर्फ लाग्न सुझाव दिएका थिए । उनले सामाजिक सञ्जालमा सुझाव दिएका थिए– अब बनाम्, भत्काउन पुग्यो ।

तर, बालेनलाई विशालको सुझाव मन परेन । सुझावले भाउन्न छुटायो । पदीय मर्यादा भुलेर निम्नकोटीको गालीगलौजमा उत्रिए । व्यक्तिगत लाञ्छना लगाए । विशालको व्यवसायमाथि नै प्रश्न उठाए । अहँकारको जवाफ दिए, ‘तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिनु छैन ।’

बालेनको सनक यतिमै सिमित छैन । गत पुसमा पनि उनले सांसदहरुलाई ‘नयाँ गफाडी’को संज्ञा दिएका थिए । जनताबाट निर्वाचित सांसदहरूलाई भनेका थिए, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू ! उही पुरानो देश । उही पुराना व्यापारीहरू ।’

गत चैतमै मिटरब्याजी पीडितलाई काठमाडौंमा प्रर्दशन गर्न रोक लगाउने प्रयास गरे । जनताको मञ्च भनेर चिनिने खुलमञ्चमा पीडितहरूलाई छिर्नै दिएनन् । ११ दिन पैदल हिँडेर काठमाडौं आएका पीडितहरू थकाइ, भोक, प्यास नभनी स्वर नसुकेसम्म चिच्याइरहे । तर, बालेनले सुन्दै सुनेनन् । खुल्दै खुलेन खुलामञ्चको गेट ।

बालेनको अराजक टिप्पणी र क्रूरता बग्रेल्ती छन् । सडकमा गरिबप्रति गरेको निकृष्ट व्यवहार उस्तै छ । बालेनमा भने आफू मात्र ठिक र अरू सबै खत्तम भन्ने मनोरोग देखिन्छ । बालेनले नेताको आलोचना गर्न पाउँछन्, तर अरूलाई गाली गरेर, दोष थुपारेर आफ्नो जिम्मेवारीबाट भाग्न पाउँदैनन् । 

बालेन आफैँमा एउटा सरकार हुन् । तर, धम्की चाहिँ आतङ्ककारीको जस्तो छ । देशको प्रमुख प्रशासनिक केन्द्रमा खुलेयाम आगो लगाउँछु भन्नु अपराध हो । यस्तो धम्की दिँदा पनि चुपचाप बस्नु राज्यको निरीहता हो । बालेनलाई हार्टअट्याक नै भएर अस्पताल लैजाँदै गरेको भएपनि ट्राफिकले शनिबार गुडेको सरकारी गाडी चेक गर्न पाउँछ । किनकि, त्यो उसको ड्युटी हो । 

सिंहदरबारमा बस्ने सबै ‘चोर’ भन्नु र सिसडोलमा फाल्नुपर्छ भन्नु बालेनको दम्भ हो । कवि अर्जुन पराजुलीको शब्द सापटी लिएर भन्दा श्रीपेच सुनको मात्रै हुँदैन, घमण्डको पनि हुन्छ । बालेनले त्यही घमण्डको श्रीपेच लगाएका छन् । अर्जुन र विशालको भनाइ समग्र रुपमा हेर्ने हो भन्ने ‘घमण्डको श्रीपेच’ले ‘श्री आठ’ बनेका छन्, बालेन । 

सिंहदरबार बस्नेहरूको कमजोरी पनि छन् । तर, उनीहरूलाई जनताले रोजेर पठाएका हुन् । बालेनले सिंहदरबारका सबैलाई चोर भन्नु नेतालाई गाली गर्नुमात्रै होइन, जनताको उपहास गर्नु पनि हो । 

बालेन आफ्नै समस्याले थिचिएका छन् । उनले थालेका कैयन काम लथालिङ्ग छ । थुप्रै समस्याको समाधान गर्न सकेका छैनन् । तर, बालेनले आफ्नो सीमा नै भुलिसके । मेयर पदको मर्यादा र जिम्मेवारीभित्र बस्नुपर्छ भन्ने कुरा हेक्क राख्नुपर्छ ।

हुन त बोलेनले जे लेखे पनि, जे बोले पनि र गरे पनि छुट पाउने देखिन्छ । नत्र किन सिंहदरबारमै आगो लगाउँछु भन्दा समेत कुनै सोधपुछ गरिँदैन । यसको एउटा कारण छ, उनका प्रशंसकले बालेनलाई ‘भगवान’ बनाइदिएका छन् ।  

सार्वजनिक पदमा बसेको मानिसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र त्यो पदको गरिमा राख्नुपर्छ । सार्वजनिक पदमा बस्ने अरूको गरिमाको पनि ख्याल गर्नुपर्छ । बालेनले सिंहदरबारमा आगो लगाउँछु भनेको के हो ? यो आफैँमा घोर अराजक र अराजनीतिक अभिव्यक्ति हो । नेतालाई ‘चोर’ भनेर चोर औँला उठाइरहँदा कसैले आफूतिर पनि चोर औँला ठड्याउन सक्छन् भन्ने हेक्का राख्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्