Logo
Logo

बालेन आक्रोशको समाजशास्त्र दर्शनसँग जोडिन्छ


1.9k
Shares

हामीले खासगरी ७० को दशकको सुरूवातीदेखि निरन्तर उठाउँदै आएको कुरा हो, ‘दर्शनमाथि विज्ञान र राजनीतिमाथि लोकप्रियतावादले कब्जा जमाउँदैछ ।’ नेपाली समाज एक वाक्यमा भन्नुपर्दा सत्य, तथ्यभन्दा पनि सतहमा जे आयो त्यसैलाई विश्वास गर्ने समाजका रूपमा विकसित भइरहेको देखिन्छ । जो नेपाली समाजको प्रमुख कमजोरी हो भने आफैमा यो कुरालाई श्रेयकर मान्नसमेत सकिँदैन ।

समाजशास्त्री चैतन्य मिश्रको एउटा भनाई छ, ‘सामाजिक परिवर्तन नै समाजशास्त्रको जग हो । परिवर्तन नहुँदो हो त समाजशास्त्रको आवश्यकता नै पर्दैनथ्यो । जे–जे कारणले समाजमा परिर्वतन ल्याउँछन्, ती सबै कारण नै समाजशास्त्रका जननी हुन् ।’

मिश्रको भनाईलाई आधार मानेर नेपाली समाज (आजको दिनमा) कसरी विकसित भइरहेको छ ? यसको समाजशास्त्रीय चरित्र र प्रवृत्ति के हो ? नयाँ पुस्ताका लागि यि सवाहरू निक्कै महत्वपूर्ण छन् । खैर, यस स्तम्भमा खासगरी पछिल्लो समय तीव्र गतिमा विकासित भइरहेको लोकप्रियतावाद र यसले नेपाली समाजलाई पार्ने प्रभावका बारेमा केही चिन्तन गरौं ।

७० को दशकको सुरुवातीमा वर्तमान प्रधानमन्त्री प्रचण्डका ठूलठूला फोटो, बुख्याँचा, जयकार खुब सुनिथ्यो । प्रचण्ड पनि मख्ख देखिन्थे । त्यो समय धेरै टिकेन । २०७२ सालपछि त्यहि शैली केपी ओलीमा देखियो । केपी ओलीमा देखिएको लोकप्रियतावादी प्रवृत्ति आजप्रयत्न जारी छ । कुनै पुस्तक सरसर्ती हेरेर पुरै किताबको सार बताउछन् र त्यसलाई दुनियाँले वाहवाही गर्छ ।

ओलीपछि रवी लामिछाने, केही घोसित सामाजिक अभियन्ताहरू, स्वतन्त्र नामका जनप्रतिनिधिहरूमा लोकप्रियतावादको भुतले तमामा देखाउँदैछ । यसलाई अझँ जोड दिएर भन्ने हो भने लोकप्रियतावाद आजको दिनमा तमासावादतर्फ केन्द्रीत छ ।

काठमाडौँ आफैमा एउटा इतिहास हो । नेपालको संघीय राजधानी मात्र नभएर विश्वका मानिसहरूको रोजाईको सहर पनि हो । देशकै ठूलो महानगर काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहलाई देशले मात्र होइन, अन्य देशका मानिसले समेत चिन्दछन् । छिमेकी देशको अनावश्यक हस्तक्षेपको खुलेर विरोध गर्ने परिचय बनाएका बालेनमा पछिल्लो समय तमासावादले गाँजेको देखिन्छ । कुनै न कुनै फण्डा गरिरहने बालेन कहिले नेतालाई चोर भन्छन् त कहिले सिंहदरबार जलाईदिनेसम्मका धम्की दिन्छन् । अब प्रश्न उठ्छ, बालेन आक्रोशको समाजशास्त्र के हो ?

बालेन आक्रोशको समाजशास्त्र
सामाजिक परिवर्तन नै समाजशास्त्रको जग मान्ने हो भने आजको सामाजिक परिर्वतनले कुन दिशा लैजान खोजेको हो ? यि गम्भीर सवालहरू हुन् । जसको फेहरिस्त र यथार्त बौद्धिक जगतले लेखिदिनुपर्छ । बोलदिनुपर्छ ।

केपी ओली, रवी, बालेन, हर्कहरूले जे गर्दा पनि ठिक गरे भन्ने जमात समाजमा कम देखिँदैन । यसरी हेर्दा समाजमा सत्य, तथ्य र स्वतन्त्र ढंगले विषयलाई विश्लेषण गर्ने मान्छेको अभाव देखिन्छ ।

खासगरी बालेन साहको तमासावादको पछाडि यथास्थितिवादी शक्तिहरू लागेका छन् भन्ने सुनिन्छ । यदि यो सत्य हो भने लोकतन्त्र, संघीय गणतन्त्र र समाजवादी संविधान कार्यान्वयनको पाटोलाई प्रभावित गर्नेगरी उनीहरूले बालेनलाई प्रयोग गरिरहेका छन् भन्न सकिन्छ । बालेनको पछि केही अराजक समूह लागेको पक्कै देखिन्छ ।

फेसबुकमा जयजयकार गरेकै भरमा बालेन मैमत्त हुनु दुर्भाग्य हो । जसले सत्यको गहिराइमा पुग्ने सामथ्र्य राख्दैन । त्यहि समूहको कमजोर जगमा उभिएर बालेन मैमत्त बनिरहेका छन् । यस खालको मैमत्तले सामाजिक पुनर्गठनलाई समेत प्रभावित गर्छ भन्ने कुरा बालेन साहले बुझ्नुपर्छ ।

अर्कोतर्फ राज्यले सिंहदरबार जलाई दिने जस्ता हिँसात्मक अभिव्यक्तिलाई केवल आक्रोशित अभिव्यक्तिका रुपमा लिन मिल्दैन । यसरी कुनै पनि विषयलाई देखाएर उन्माद र तमासावादलाई आक्रोशित न हो भनियो भने गम्भीर भुल हुनेछ । साथै भ्रमको पछाडि दौडिने समाजले मुलुकलाई सहि दिशा दिन सक्दैन । सत्य, तथ्य खोज्नु जिम्मेवार नागरिकको कर्तव्य हो । भावना र आवेगको नदिमा पौडिन खोज्नु मुर्खता सिवाय अरु केही हुँदैन ।

वि.स. १९९० को दशकलाई सामाजिक पुनर्गठनको आधार मान्ने हो । ८० को दशकसम्म आइपुग्दा अनेकन बाधा अवरोधलाई छिचोल्दै नेपाली समाजको गती अगाडि बढिरहेको देखिन्छ । लोकतन्त्र, संविधानवाद, अधिकारमात्र नभएर सामान्य रहनसहन, खानपानको आधारमा पनि सामाजिक पुनर्गठन भइरहेको हुन्छ । पछल्लो समय प्राविधिक रुपमासमेत समाज पुनर्गठित भइरहेको छ । सामाजिक सञ्जालमा देखिने ध्रुविकरणले यो कुराको पुष्टि गर्छ । सामाजिक सञ्जालमा निशारावादको खेती कम छैन । बालेनहरूमा देखिएको तमासावाद र राज्यसत्तामा रहेकाहरूको अतिवाद खेदजन्य छ ।

खासगरी राज्यले संकृतिवाद, लोकप्रियतावादको आवरणमा हुर्किदै गरेको हिन्दुवादको प्रभुत्वलाई समयमै चिन्न सक्नुपर्छ । त्यस्तै पछिल्लो समय बेरोजगारी भयंकर ठूलो चुनौती बनिरहेको छ । नेपालमा बसेर १५–२० हजारको काम गर्न कोही तयार छैनन् । समान उमेरको साथिले बिदेशमा दुई–चार लाख महिनामा कमाइ रहेको, रमाइरहेको र जमाईरहेको देखिरहेको युवा पुस्तालाई स्वदेशमा रोक्ने उपाय मुख्य चुनौती बन्दैछ ।

यस चुनौतीलाई राज्यले समयमै पहिचान गरेर समाधान गर्न सकेन भने विगतमा राजनीतिक दलहरूले गरेर आएको जस्तो अनुसासित, मर्यादित र राजनीतिक आन्दोलन हुँदैन । अराजक आन्दोलन हुन्छ । जसको आँखा हुँदैन । संवेदना हुँदैन । यो अवस्था सन्निकटमै देखिन्छ । यो धेरै परको कुरा होइन । यस्ता अराजक र अतिवादले परिर्वनलाई संस्थागत गर्न दिदैनन् । लोकतन्त्र मासिन्छ । गणतन्त्र धरापमा पर्न सक्छ ।

बालेन आक्रोशको अर्को समाजशास्त्र दर्शनसँग जोडिएको छ । उनी कुनै राजनीतिक दर्शन–विचारसँग स्पष्ट खुलेका हुन्थे भने यस खालको राजनीति उनीबाट नहुन पनि सक्थ्यो । अर्कोतर्फ उनलाई समर्थन गरिरहेको युवा समाजले आफ्नो आमाबाबहरूले बोकेको विचार र गरेको संघर्षलाई बुझ्न चाहाँदैन । यसको सिधा फाइदा बालेन जस्तालाई पुगिरहेको छ । लोकप्रियतावादले कानून, नियम, अड्डा अदालत सबैलाई पंगु बनाई दिन्छ । यसमा सचेत बन्नुपर्छ ।

अन्तयमा, मुलतः नेपाली समाज वर्गसंघर्षको मझदारबाट विकसित छ । जो समाजवाद उन्मुख छ । सतहमा देखिएका केही अराजक पक्षहरूले सिमित समय राज गर्छन् । अन्ततः नेपाली समाज आफ्नो गतीमा अविचलित हुनेछ । आजकोभन्दा पछिल्ला वर्षहरूमा समतामुलक समाज स्थापित हुँदै जानेछ । सत्यले आफै जित्दैन । सत्यलाई जिताउन चेतनशील मान्छेहरुले निरन्तर संघर्ष गरिरहनुपर्छ । असत्यको हार, सत्यको जित पक्कै हुन्छ । जसरी बालेनले अन्ततः तमासावादी स्टाटस हटाउन बाध्य भए ।

प्रतिक्रिया दिनुहोस्