काठमाडौ, १ माघ (एजेन्सी) । पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । साथै, अरु ५३ जना घाइते भएका छन् भने २८ जना हराइरहेका बताइएको छ ।
अधिकारीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् ।
देशको निलम उपत्यकामा सवै भन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् ।
हराईरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिनुभयो । उनले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताएका छन् । काश्मिरमा कैयौँ स्थानमा हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाई छ ।
वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ । उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यसपटकको विपद् निकै घातक भएको छ ।
खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।