विराटनगर । युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा अरुण गुरुङ निर्वाचित भएका छन् । पहिचानवादीहरुको अवरोधका बिच शनिबार सम्पन्न भएको अधिवेशनबाट अरुण गुरुङको अध्यक्षतामा ८९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो ।
गुरुङ यसअघि अधिवेशन आयोजक कमिटीका संयोजक थिए । संघको उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिवमा विनोद राना सहसचिवमा निरजमान सिंह बस्नेत, सहसचिवमा शरण फागो निर्वाचित भएका छन् ।
प्रथम अधिवेशनले कोषाध्यक्षमा दीपेन्द्र तामाङलाई निर्वाचित गरेको नव निर्वाचित अध्यक्ष अरुण गुरुङले बताए । अधिवेशनले साइबर सर्कल प्रमुखमा सागर पोखरेललाई जिम्मेवारी दिएको छ । यस्तै महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ ।
अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । युथ फोर्स प्रमुखमा भने राजन बानिया निर्वाचित भएका छन् । धरानमा सम्पन्न अधिवेशन बिथोल्न पहिचानवादी प्रयास गरेका थिए । अधिवेशनको उद्घाटन सुभाष नेम्बाङ्ले गरेका थिए ।