काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्। शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका-१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरी हातहतियार लुटपाट गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका-१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको थियो।सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताएका थिए।
उनका अनुसार पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो। तर, आक्रमणकारीको समूह ठूलो र प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको एसपी रेग्मीले बताए।
आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। अर्का प्रहरी पनि घाइते छन्।