काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ पक्राउ गरेको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनीहरुले विभिन्न व्यक्तिलाई फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु पठाउने भन्दै रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जननएको छ । उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।