काठमाडौं । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीको सरुवा नेताहरूको सुरक्षा व्यवस्थापन गर्ने अंग रक्षक गणमा भएको छ । उनको सरुवा भएपछि कास्कीमा आफ्नो कार्यकाल सफल भएको भन्दै ललितपुरस्थित गोदावरीमा रहेको सिरुपाते रिर्सोटमा ट्राउट माछा र मदिरा सहितको भव्य पार्टी गरेका छन् ।
जसको व्यवस्थापन भने ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले गरिदिएका थिए । कास्कीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालबाट मोहनकुमार थापा पुगेका छन् । उनी विश्वराज पोखरेलका खास मानिस हुन् ।
पोखरेलले केही समय प्रहरीको प्रबन्ध शाखामा उनलाई राख्न चाहेका थिए । तर, धिरजप्रताप सिंह आइजीपी भएपछि भने थापा अख्तियार नै फर्केका थिए ।
प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दा केसी काठमाडौं फर्केका हुन् । सरुवासँगै एसपी इन्चार्ज रहने कास्कीसहित १४ जिल्लाका प्रमुख फेरिएका थिए । प्रहरी प्रधान कार्यालयले ०७९ साउन ६ गते एसपी अजय केसीलाई कास्कीको जिम्मेवारी दिएको थियो । समग्रमा एक वर्ष जिम्मेवारी पूरा गरेका केसीले पोखरामा सबैलाई मिलाएर फर्केका हुन ।
आफ्नो टिमलाई विश्वासमा राख्ने एसपी केसीले ८९ जनालाई पुरस्कृत र प्रहरी आचरणविपरीत काम गर्ने ४९ जनालाई कारबाही गरेर मिडयाबाजी गरेका थिए । उनीअन्तर्गत रहेका तथा वडा कार्यालय प्रमुखहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिई सिधै हस्तक्षेप गरेका केसीले आफ्नो कार्यकाल सफलतामा गोदावरी आएर खुसीमा ताली पिटेका थिए ।
उनकै कमाण्ड अवधिमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएको थियो । निर्वाचनको बजेटसमेत तर मारेका एसपी केसीले ललितपुरको गोदावरीमा केही साथीहरू राखेर खुसी साटेको त्यहाँ सहभागी एक प्रहरीले भने । केसी अहिले राजनीतिक दलका नेताहरूलाई पिएसओ खटाएर बसेका छन् । ‘छानी छानी पिएसओ खटाउँदैछन्’, त्यहाँ रहेका एक प्रहरी अधिकारीले दृष्टिसँग भने ।