काठमाडौं । आइतबार साँझ नेपाली सेनाले आफ्ना अधिकृत र केही सञ्चारकर्मी र काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्याक)को निर्माणमा संलग्न ठेकेदार कम्पनी तथा त्यहाँ सैनिक अधिकारीलाई रात्रीकालीन भोजको व्यवस्था गरेको थियो । शान्त भनिएको रात्रीकालीन ‘कक्टेल डिनर’मा सहभागी सेनाका अधिकृतहरूले चिनियाँ राजदूतको भने प्रशंसा गरेका छन् ।
गत हप्ता नेपाल चाइना हिमालय फ्रेण्डसिप, नेपाल नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा चिनियाँ राजदूत छन् सोङले नेपाल भारत बीचको सम्बन्धका बारेमा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेका बेला सेनाका जर्नेल भने त्यसमा खुसी नै देखिन्थे । ‘
राजदूत सोङले ‘दुर्भाग्यवश, तपाईँहरूको भारत छिमेकी छ । तर, भाग्यवश भारत तपाईँहरूको छिमेकी छ । तपाईँले बिजुली व्यापार घाटामा गर्नुभयो । तपार्ईँहरूको गर्ने उत्पादनमध्ये एक हो– बिजुली । तपाईँहरू सोच्नुहुन्छ बिजुलीले तपाईँको देशमा स्वतन्त्रता ल्याउँछ । त्यसैले नेपाल सरकारलाई मैले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिँदै आएको छु’ भनेका थिए ।
उनको सो अभिव्यक्ति सार्वजनिक भएसँगै अहिले तीव्र आलोचना भइरहेको छ । तर, नेपाली सेनाले चार वर्षमा काम सक्ने गरी ६ वर्षअघि लिएको काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्याक)को प्रगतिविवरण सार्वजनिक र प्रधानसेनापति प्रभूराम शर्माको कार्यकाल दुई वर्ष पुगेको अवसरमा दिएको रात्रीकालीन भोजमा सहभागीहरूले भने आपसी कुराकानीको क्रममा चिनियाँ राजदूतको प्रशंसा गरेका थिए ।
सेनाले चार वर्षमा काम सक्ने गरी ६ वर्षअघि लिएको काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्याक)को प्रगतिविवरणमा निर्माण कार्यको हालसम्म २८ प्रतिशतमात्रै काम सकेको छ । ६ वर्षमा २८ प्रतिशत काम सकेको सेनाले अबको दुई वर्षमा सबै काम सिध्याउने भनेपनि पत्यारलाग्दो कुनै आधार दिन सकेको छैन ।
गत ५ वैशाखको मन्त्रिपरिषद् निर्णयपछि ‘फास्ट ट्र्याक’ निर्माणको समयावधि दुई वर्ष थपिएको हो । महालेखा परीक्षकको कार्यालयले २१ प्रतिशत मात्रै काम सकिएको रिपोर्ट बुझाएको केही दिनमा सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ‘फास्ट ट्र्याक’ अवलोकन गर्न लगेर कुल लागत र समय बढाएको थियो ।
चैत ०८१ मा काम सक्ने पूर्वकार्यतालिकामा हेरफेर गर्दै ‘फास्ट ट्र्याक’ निर्माणको नयाँ कार्यतालिका चैत ०८३ बनाइएको थियो । त्यसको केही दिन अघि मात्रै सेनाले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री खड्कालाई फाष्ट ट्रयाको अवलोकनका लागि भन्दै हेलिकोप्टर चढाएर बाराको निजगढ पु¥याएको थियो ।