काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवार र उनका छोरा दिपेश पुनसँग कुराकानी भएको देखिए पनि उनले उन्मुक्ति पाउने अवस्था बनेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को बयानमा बोलाए पनि तस्करीका लागि आवश्यक प्रमाण नपुगेको भन्दै छाडिदिएको छ ।
उनले दावासँग सम्बन्ध भएको स्वीकार गरे पनि कारोबारबारे इन्कारी बयान गरेका छन् । सिआइबीले दिपेश पुनलाई प्रतिवादी बनाउनुपर्ने पर्याप्त आधार भने फेला पारेको छैन । तर, उनको मोबाइल भने प्रहरीले कब्जामा लिएको छ । दावासँग असाधारण तवरमा सम्पर्क भएकाहरूलाई बुझ्न बोलाउने क्रममा दिपेशसँग पनि सोधपुछ गरिएको थियो । सिआइबीका अनुसार प्रारम्भिक सोधपुछमा अनुसन्धानका लागि आवश्यक उल्लेखनीय कुरा खुलेको छैन ।
यद्यपि, दावाकी श्रीमती अमला रोकाका व्यापारिक साझेदारसँग समेत दीपेशको सम्बन्ध देखिएकाले उनलाई केही कुरा बुझ्नुपर्ने भएकाले सिआइबीले बोलाएको थियो । तर, पुनले अमलामार्फत चिनजान भएपनि कारोबारबारे केही थाहा नभएको तथा उनको कारोबारको विषयमा कोही कसैलाई पनि सोर्सफोर्स लगाउने नगरेको र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई फोन नगरेको दाबी गरेका थिए ।
उनले दावासँगको चिनजान अमलाको कारण भएको स्वीकारेका छन् । उनले आफ्नो वयानमा ‘बुवा पहिला थवाङमा पढाउनुहुन्थ्यो । त्यतिबेलाबाटै हाम्रो परिवार र थवाङवासीबीचको सम्बन्ध विशेष खालको छ । माओवादी ‘जनयुद्ध’को समयमा थवाङवासीले पु¥याएको योगदानलाई हाम्रो पार्टीले भुलेको छैन । त्यसक्रममा अमला पनि थवाङकै भएको, सहिद परिवारको पनि भएको, रोल्पा काठमाडौं सम्पर्क मञ्चको नेता पनि भएको हुँदा उहाँको परिवार र हाम्रो परिवारबीच भेटघाट हुने गरेको सत्य हो । तर, उहाँहरूको व्यापार–व्यवसायबारे हामी जानकार छैनांै’, दीपेशले भनेको स्रोतले जनाएको छ ।
त्यसैगरी, उनले ठमेलमा उनको होटलमा जाने गरेको पनि खुलाएका छन् । ‘त्यस होटलमा रोल्पाका माओवादी नेता–कार्यकर्तहरूको जमघट हुने गर्छ । त्यस्तो जमघटको आयोजना पनि अमलाले नै गर्ने भएकाले त्यहाँ कहिलेकाहीँ हामी जानु स्वाभाविक हो । तर, अहिले प्रचार गरिएजस्तो सुन काण्डमा हामीले जोगाएको र दावाका काममा सहयोग गरेको जस्ता आरोप निराधार हुन् ।
राज्यले दावालाई पक्राउ गरेको छ । यस्तो विषयमा जोसुकै भए पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो धारणा छ । अनुसन्धान गर्ने राज्यको दायित्व भएकाले निष्पक्ष अनुसन्धान होस् भन्ने हाम्रो चाहना छ । अपराध कर्ममा जोकोही जोडिए पनि कारबाहीको भागीदार हुनैपर्छ । तर, म यो विषयसँग विल्कुलै जानकार छैन’, उनले सिआइबीमा दिएको बयानलाई उदृत गर्दै स्रोतले भन्यो ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वअर्थमन्त्री वर्षमान पुनका परिवारको सुन तस्करीमा संलग्न गिरोहसँग व्यापारिक साझेदारी रहेको पाइएको छ । २०७६ माघ १ गते अमला र दीपेश तीनजना चिनियाँसहित मनाङ एअरको हेलिकोप्टरमा गोसाइँकुण्ड गएका थिए । काठमाडौंको भियना होटलमा अमलासँग साझेदार रहेका चु जिलियाङ पनि उक्त भ्रमणमा सामेल थिए ।
उक्त होटलमा दावा, अमला, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिकहरू जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ साझेदार छन् । यो होटल ३० करोड रुपैयाँ चुक्ता पूँजीसहित २०७४ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको कागजातबाट खुल्छ ।
दावा पक्राउ परेको भोलिपल्टसमेत अमलाले पूर्वउपराष्ट्रपति नन्दबहादुरलाई भेटेको भिडिओ उनकी बहिनी नाता पर्ने बिन्दु मगरले फेसबुकमा राखेकी थिइन् । यी घटनाक्रमले दावा–अमला गिरोहसँग दीपेशको लामो समयदेखि साँठगाँठ रहेकोसमेत खुलाउँछ ।
दीपेश माओवादी भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिवसमेत हुन् । दावा नेपालमा चिनियाँ गिरोह ल्याउने एजेन्ट रहेको प्रहरी स्रोतको दाबी छ ।
स्रोतका अनुसार पुनलाई आवश्यक परेको बखत उपस्थित हुनेगरी छाडिएको छ । यस्तै राहुल महरालाई पनि सिआइबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । राहुल महराले पनि दाओजिन वाङसँग सम्बन्ध रहेपनि कारोबारबारे जानकारी नभएको बताएका छन् ।
उनले सिआइबीमा वयानमा भनेका छन्, ‘उनी व्यापारी हुन भन्ने थाहा छ, तर के को व्यापार गर्थे भन्ने जानकारी छैन’, राहुलको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो । सिआइबी स्रोतका अनुसार राहुललाई ९ किलो सुन तस्करीमा प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी रहेको छ ।