काठमाडौं । केही समयअघि ज्योति विकास बैंक प्रायः चर्चामा आइरहने तथा वित्तीय विवरणमा पनि निकै राम्रो बैंकको रुपमा परिचित थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीका कारण बैंक निकै अघि बढेको थियो । हुन पनिः राष्ट्र बैंकको जागिर छाडेका विभिन्न बैंकमा अनुभव लिएका उनले ज्योतिलाई एक किसिमको ज्योति दिलाएकका थिए आफू सिइओ हुँदा । उनी अहिले जहाँ छन् त्यहाँ पनि उनको छुट्टै क्रेज छ ।
हाल नबिल बैंकको डेपुटी सिइओको भूमिका निभाइरहेका उनी कुशल उत्प्रेरकका रुपमा समेत परिचित छन् । ज्योतिबाट बाहिरिएपछि अहिले बैंकको अवस्था केही खस्किएको कर्मचारीहरू बताउँछन् । अहिले ज्योतिका सीईओ छन् श्रीचन्द्र भट्ट ।
ज्ञवालीले बैंक छाडेपछि सिइओ बनेका भट्टले ज्ञवालीको क्रेजलाई बैंकमा जोगाइराख्न सकेनन् । जसकारण अहिले पनि बैंकका कर्मचारीहरू ज्ञवालीको अभाव महशुस भइरहेको बताउँछन् । भट्टले बैंक चलाउन नसकेपछि बिदा हुने तयारी गर्दैछन् ।
उनी मात्रै हैन पछिल्लो समय बैंकका सिइओहरू फेरिइरहेका छन् । पूराना विरासतमा छुट्टै क्रेज बनाएका सिइओहरू बाहिरिँदा नयाँ सिइओहरूलाई बैंक अगाडि बढाउन हम्मे हम्मे परिरहेको छ ।
केही समयअघि सानिमा बैंकका सिइओ भुवन दाहाल बाहिरिए । त्यसपछि निश्चलराज पाण्डे बैंकको सिइओ बने । तत्कालीन सिइओ दाहालको पकड यति ठूलो थियो कि राष्ट्र बैंकको नेतृत्व तहमा समेत उनी प्रिय थिए । जसकारण उनले बैंकलाई एक किसिमको उचाइ दिए । बैंकको ‘पफर्मेन्स’ राम्रो देखियो । प्रायः जुनसुकै ठाउँमा दाहालको छुट्टै क्रेज थियो ।
मिलनसार स्वभावका दाहालको मिठो बोलीले समेत सबैलाई लठ्ठ बनाउने गरेको चर्चा अझै चलिरहेको पाइन्छ । तर, हालका सिइओ पाण्डेले दाहालको सो क्रेज जोगाउन सकेनन् । तत्कालीन सिइओ दाहालले पद छाड्दा सेयर लगानीकर्ताहरूले समेत रुचाएका थिएनन् ।
अहिले अवस्था फरक छ । तत्कालीन सिइओ दाहालको विरासत तथा विश्वास बैंकमा हालका सिइओ पाण्डेले जोगाइराख्न सकेनन् । जसकारण बैंकको पफर्मेन्स समेत क्रमशः गिर्दो अवस्थामा रहेको विश्लेषण हुन थालेको छ । गैर आवासीय नेपालीहरूको मुख्य लगानीमा रहेको यस बैंकका लगानीकर्ताहरू समेत अहिले बैंकमा दाहाललाई ‘मिस’ गरिरहेको सुनाउँछन् ।
हालैमात्र प्राइम कमर्सियल बैंकका सिइओ नारायणदास मानन्धर बैंकबाट बाहिरिए । सो पदमा सञ्जिव मानन्धर नियुक्त भएका छन् । उनी सिइओ बनेसँगै प्राइममा नारायणदासको विरासत जोगाउन सक्ने या नसक्नेबारे चर्चा चल्न सुरु भइसकेको छ । विगत नियाल्ने हो भने बैंकहरूका नयाँ सिइओले पूरानाको विरासत जोगाउन सकेको देखिँदैन । जसकारण बैंकको वित्तीय विवरण र सूचकहरूमा समेत सुधार हुन नसकेको पाइन्छ । अब नयाँ मानन्धरले पूराना मानन्धरको विरासत जोगाउन सक्छन् कि सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।
नयाँ सिइओहरूले पूराना सिइओहरूको विरासत जोगाउन नसक्नु बैंकको ख्यातिमाथि नै प्रश्न चिह्न उठ्नु हो । यसले बैंकको अवस्थालाई समेत निक्र्यौल गर्ने तथा सेयर बजारमा समेत सोही किसिमको प्रभाव पर्ने हुन्छ । नयाँ सिइओहरूले आफूकेन्द्रित मात्रै निर्णय गर्दा बैंकको साखः गुम्न जाने जानकारहरू बताउँछन् ।
माथि उल्लेख गरिएका बैंकहरू प्रतिनिधि बैंकमात्रै हुन् । ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नबिल बैंक लगायतका अन्य बैंकहरूमा पनि नयाँ सिइओ छन् । उनीहरूले पनि बैंकका पुराना सिइओहरूको विरासत जोगाउन नसकेको चर्चा अझै वित्त वृत्तमा चर्चा चल्ने गरेको छ ।