Logo
Logo

सुन तस्करी : हङकङमा डिल, नेपालमा कारोबार


693
Shares

काठमाडां । अवैध सुन तस्करीमा अन्तरदेशीय आपराधिक संगठित सञ्जाल सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निष्कर्ष निकालेको छ । पछिल्लो छानबिनका क्रममा सीआईबीले सुन तस्करी कार्यमा नेपाली र विदेशी नागरिक संलग्न रहेको उल्लेख गरेको छ ।

सीआईबीले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको समेत निष्कर्ष निकालेको छ । गत २ साउन गते बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । साथै यो समूहले अरु विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पुरक अनुसन्धान गर्ने सीआईबी प्रमुख किरण बज्राचार्यले बताएकी छन् ।

बुधबार सीआईबीले पत्रकार सम्मेलन गर्दै ६० किलोलगायतका सुन तस्करीमा यस्तै गिरोह संलग्न रहेको र त्यसमा विभिन्न भुक्तानी प्रणालीबाट कारोबार गरेको देखिएको अनुसन्धानमा देखिएको जनाएको हो । सीआईबीका अनुसार यस्तो संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ ।

सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेको भन्दै यस विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । पछिल्लो सुन तस्करीमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक रहेको सीआइबीले जनाएको छ ।

सुनको कारोबारको मुख्य डिल हङकङमा हुने गरेको र त्यहाँबाट नेपाल हुँदै बाहिर जाने गरेको पनि सीआईबीको अनुसन्धानमा देखिएको छ । सुन बेच्ने मान्छे हङकङबाटै टुंगो लगाएर किन्ने मान्छेसम्म कोडको माध्यमबाट जाने गरेको अनुसन्धानमा देखिएको सीआइबीले जनाएको छ । सुन पगालेर बिस्कुट आकारमा तयार गरी बेच्ने गरिएको र सुन गाल्नका लागि काठमाडौंको टोखा र लाजिम्पाटमा कारखाना नै खोलिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्