काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक चालु आव २०७९/८० मा साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।
बैंकको शेयरधनीहरुलाई गत आवको मुनाफबाट रु एक अर्ब ३६ करोड ४२ लाख एक हजार ६९२ (चुक्ता पूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु सात करोड १८ लाख ८९ (चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनका लागि गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेसँगै भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुने जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैंया संचित छ ।
बैंकले हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावलाई सेवा प्रदान गर्दै आइरहेको छ ।