काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२३ मा गाडी अवलोकनकर्ता तथा आगन्तुकको भीड लागेको छ । मंगलबारदेखि जारी नाडा अटो शोको तेस्रो दिन बिहीबार सार्वजनिक विदाको दिन भएर पनि होला अवलोकनकर्ता एवं आगन्तुकको उत्तिकै भीड लागेको थियो ।
यसपटक नाडा अटो शोमा विभिन्न कम्पनीले नयाँ मोडलका गाडीहरूसमेत सार्वजनिक गरेका छन् । अटो शो अवलोकन गर्न आउने आगन्तुकहरुलाई विद्युतीय गाडी ‘बीवाइडी’को स्टलले आकर्षित गरिरहेको छ । बीवाइडीको स्टलमा डल्फिन, ईभी गाडी हर्ने र बुकिङ गर्नेको घुँइचो लागेको छ । डल्फिल ईभीको कलाकार हरिवंश आचार्यले काठमाडौंमा शुभारम्भ गरेका थिए । विशेषगरी मध्यमवर्ग र कर्मचारीहरुलाई लक्षित गरेर ल्याइएको डल्फिन कारले काठमाडौंमा राम्रो बजार पाउने देखिन्छ ।
त्यसो त प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लकहरू छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधनहरु लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायक कम्पनीहरुको सहभागिता रहेको छ ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चारपांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।
जसमा बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले दुई वटा नयाँ मोडलसहित पाँच वटा कार प्रदर्शनीमा राखेको छ । कम्पनीले आफ्नो लाइनअपमा सबैभन्दा सस्तो मोडल प्रिमियम ह्याचव्याक डल्फीन र सबैभन्दा महँगो मोडल प्रिमियम सेडान कार सिल प्रदर्शनीमा राखेको छ ।
बीवाइडी डल्फिन हयाचव्याक गत साता नेपाल आइसकेको थियो । निकै सानदार ह्याण्डलिङ रहेको डल्फिन ईभी अटो शोमा धेरैको रोजाइमा परेको छ ।
अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल थ्रीसँग सिधा प्रतिस्पर्धा गरिरहेको सिल मोडल थुप्रै आधुनिक फिचर लोडेड सेडान कार हो । यी दुई मोडलको अलावा अहिले बजारको हटकेक बनिरहेको एट्रो–थ्री पनि अटो शोमा प्रदर्शनमा राखिएको छ । बीवाइडीसँग ई–६ र एट्रो– थ्री जस्ता मोडल रहेपनि कम्पनीको प्राथमिकतामा डल्फिन, सिल र एट्रो थ्री रहेको छ ।
विद्युतीय सवारी साधनको लोकप्रियता बढिरहेका बेला साइमेक्स इन्कले नेपालमा पहिलोपटक इलेक्ट्रोनिक भेहिकल ‘बीवाइडी’ भित्राएको हो । नेपाल भित्रिएसँगै गाडीका सौखिन एवं गाडी पारखीका ध्यान तान्न सफल हुँदै आएको छ । यसैबेला साइमेक्स इंकले नाडा अटो शो–२०२३ मा ‘बीवाइडी’का दु्ई नयाँ प्रदर्शन गरेको हो ।
नाडा अटो शोमा अवलोकनसँगै बीवाइडी बुकिङ गर्नेहरुको संख्या पनि बढिरहेका छन् । अटो शोको पहिलो दिन नै बीवाइडीकाे डल्फिन बुकिङ भएको र त्यो क्रम तेस्रो दिन पनि जारी रहेको विनित प्राधानांङले जनाए ।
नाडा अटो शोमा बीवाइडीका विभिन्न चारवटा आर्कषक रंगका कार प्रदर्शनीमा राखिएको छ । जसमा सेतो, पिंक, ग्रे र पर्पल कलरका रहेका छन् । जसमा ग्रे र पर्पल कलरका बीवाइडी कारले ग्राहकको ध्यान तानिरहेको उनले बताए । ‘धमाधम बुकिङ भइरहेको छ’, उनले भने, ‘तर, अहिलेसम्म कति वटा कार बुकिङ भयो त्योचाहिँ मलाई थाहा भएन ।’ बुकिङ गरेको केही समयमै ग्राहक पाउनेछन् ।
बीवाइडीको डल्फिन मूल्य नेपालमा ३९ लाख ८० हजार रहेको छ । यसमा ७० किलोवाट आवरको मोटर दिइएको छ । उक्त मोटरले १७५ एनएम टर्क प्रदान गर्छ । कम्पनीका अनुसार बीवाइडीको ब्लेड टेक्नोलोजीबाट बनेको ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री यसमा पाउन सकिन्छ । यसले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
६ दिनसम्म चल्ने उक्त नाडा अटो शोमा ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ । भदौ २६ गते सुरु भएको नाडा अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालमा बीवाइडीको ई–६ भिआईपीको रोजाईमा पर्ने कार हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्वअर्थ तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले बीवाइडीको ई–६ चढिरहेका छन् भने बिवाइडीका ब्राण्ड एम्वेसडर हरिवंश आचार्यले एट्रो–३ चढ्दै आएका छन् । अहिले नेपालभर बीवाइडीको सात सयभन्दा बढी इलेक्ट्रिक कार गुडिरहेका छन् ।
वैकल्पिक इन्धन (इभी)का कारहरुमा यतिबेला चीनको बिवाइडीले सबैलाई उछिनेको छ । सन् २०२१ मा दक्षिण कोरियालाई चीनले कार निर्यातमा उछिनेको थियो । त्यस्तै जर्मनीलाई २०२२ मा उछिनेको थियो भने यस वर्ष जापानलाई उछिन्ने मुडिज डेटाले जनाएको छ ।
चीनले आफ्नो आवश्यकता चीनकै कारखानाबाट पूरा गर्ने नीति लिएपछि घरेलु कारखानाहरूलाई निकै महत्व दिएको छ । यसैबीच बिवाइडी कम्पनीले उछिन्दै कार उद्योगकै नम्बर एक बन्न पुगेको हो । चीनमा यतिबेला चेरी, साइक, बिवाइडी, गिली र चागनजस्ता घरेलु कार कम्पनीहरू छन् ।
कम्पनीका संस्थापक तथा अध्यक्ष वाङ चुआङफुले अर्को वर्ष चार लाख वटा कार निर्यात गर्ने घोषणा गरिसकेका छन् । बिवाइडीले इभीमा प्रयोग हुने ब्याट्रीसमेत बनाउने हुनाले बीवाइडी भरपर्दो र विश्वासनीय मानिएको छ ।
विश्वका धनढय बफेटद्वारा लगानी गरिएको यो कम्पनीसँग लगानीका हिसाबले अन्य कम्पनीभन्दा पाँच वर्ष अगाडिको प्रविधि, व्यापकता र आर्थिक सुदृढता छ भने १० वर्षसम्म अझैपनि अरूले प्रतिस्पर्धाका लागि भेट्न नसक्ने विश्लेषण गरिएको छ ।