Logo
Logo

डाक्टर कुटपिट प्रकरणः हेटौंडाका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सबै सेवा ठप्प


882
Shares

काठमाडौं । चिकित्सकमाथि कुटपिट भएपछि मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।

बुधबार बिहान हेटौँडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि साङ्घातिक आक्रमण भएपछि हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । आक्रमणमा परी एनेस्थेसिया डा प्रशान्त बिडारी र डा विकास थापा घाइते भएका छन् ।

चिकित्सकमाथि अस्पतालमै कुटपिट भएपछि हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

चिकित्सक कुटपिटको विरोधमा चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गरेको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए । चिकित्सकहरूले असुरक्षित महसुस गर्दै काम गर्न नसक्ने बताएपछि सेवा प्रवाह बन्द गरिएको हो ।

यसैबीच हेटौँडाका विभिन्न अस्पतालमा कार्यरत ७८ चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन् । एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् ।

यस घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्