काठमाडौं । भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शोमा विद्युतीय सवारीसाधनप्रति ग्राहकहरुको बढ्दो आकर्षण देखिएको छ । पेट्रोल–डिजेलको भाउ दिनप्रतिदिन महँगो हुँदै गएकोले पनि विद्युतीय सवारीसाधनप्रति ग्राहक आकर्षित भएको बुझिएको छ । पेट्रोलियम पदार्थबाट चल्ने पुरानो सवारीसाधनसँग नयाँ विद्युतीय सवारी साधन साट्न चाहनेहरुको संख्या पनि बढी नै छ ।
पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधन किन्दा सस्तोजस्तो देखिए पनि पेट्रोलियम पदार्थको भाउ वृद्धि, सर्भिसिङ खर्च र मर्मत गर्नुपर्दा पार्टपुर्जा महँगो हुने भएकोले विद्युतीय सवारीप्रति उपभोक्ताहरु लोभिएका हुन् । पेट्रोल, डिजेलको सवारीसाधनभन्दा विद्युतीय सवारीसाधन बढी अत्याधुनिक मोडेल र सुरक्षाका लागि एयर ब्यागदेखि इन्टिरियर राम्रो भएकोले विद्युतीय सवारीको स्टलमा उपभोक्ताहरुको बढी भीड लाग्ने गरेको छ ।
प्रदर्शनीमा बिवाइडी कम्पनीको ‘डल्फिन’ कार उपभोक्ताको रोजाइमा परेको छ । साइमेक्स इन्कका अनुसार हिजोसम्म डल्फिल कार १५० वटाभन्दा बढी बुकिङ भइसकेको छ । डल्फिल बुकिङ गर्नेमा डाक्टर, महिला र बैंक तथा निजी संस्थाका कर्मचारीहरु बढी छन् ।
गत साता वरिष्ठ कलाकार हरिवंश आचार्यले शुभारम्भ गरेको डल्फिल कारको मूल्य ३९ लाख ८० हजार रहेको छ । ‘डल्फिन’ खरिद गर्ने ग्राहकहरुका लागि बैंकले ८० प्रतिशतसम्म ऋण दिने गरेको छ । जम्मा २० प्रतिशत नगद, बाँकी ८० प्रतिशत बैंक ऋण पाइने भएकोले पनि ‘डल्फिन’ कार उपभोक्ताहरुको रोजाइमा परेको हो ।
बीवाइडीको डल्फिनमा ७० किलोवाट आवरको मोटर दिइएको छ । उक्त मोटरले १७५ एनएम टर्क प्रदान गर्छ । कम्पनीका अनुसार बीवाइडीको ब्लेड टेक्नोलोजीबाट बनेको ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । काठमाडौंलगायत देशका प्रमुख सहरहरुमा यसको माग बढ्दो छ ।
नेपालमा बीवाइडीको ई–६ भिआईपीको रोजाईमा पर्ने कार हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्वअर्थ तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले बीवाइडीको ई–६ चढिरहेका छन् भने बिवाइडीका ब्राण्ड एम्वेसडर हरिवंश आचार्यले एट्रो–३ चढ्दै आएका छन् । अहिले नेपालभर बीवाइडीको सात सयभन्दा बढी इलेक्ट्रिक कार गुडिरहेका छन् ।
चीनको बिवाइडी मुलतः व्याट्री निर्माता कम्पनी हो । यस कम्पनीले विश्वका प्रमुख मोटर निर्माता कम्पनीलाई ब्याट्री निर्यात गर्दै आएको छ । विश्वमा बढ्दो वातावरण प्रदूषणलाई रोक्न विश्वभरि विद्युतीय सवारीसाधनको माग बढ्दो छ ।
नेपालमा पनि विद्युतीय सवारीसाधनको प्रयोगले पेट्रोलियम पदार्थमा व्यहोरिरहेको व्यापारघाटा कम गर्न सहयोग पु¥याउन सक्छ । नेपालले पेट्रोलियम पदार्थ उत्पादन गर्न नसके पनि नेपालमै उत्पादित विद्युत् खपत हुने हुँदा दीर्घकालीनरुपमा देशको आर्थिक विकासमा विद्युतीय सवारीसाधनको प्रयोगले टेवा दिनेछ ।
विद्युतीय सवारीसाधन कुन राम्रो र भरपर्दो भन्दा पनि कुन विद्युतीय सवारीसाधनको ब्याट्री कस्तो छ भन्ने कुरा प्रमुख कुरा हो । बिवाइडी ब्याट्री उत्पादक कम्पनी भएकोले यसले उत्पादन गरेको सवारीसाधन अन्यभन्दा बढी टिकाउ हुने उपभोक्ताहरुको विश्वास छ । बिवाइडीले पाँच वर्ष अगाडि नेपाली बजारमा परिचय गराएको इ–सिक्समा अहिलेसम्म उपभोक्ताबाट कुनै गुनासो नआउनु बिवाइडीप्रतिको विश्वास हो । त्यही जगमा भिआइपीहरुको रोजाइमा बिवाइडीका उत्पादनहरु परेका हुन् ।
भृकुटीमण्डपमा बिवाइडीका डल्फिनका साथै अटो–३ प्रति बढ्दो आकर्षण छ । अहिले काठमाडौंका सडक अटो–३ ले ढाकेको छ । नाडा अटो शोमा अटो–३ बुकिङ गर्नेको संख्या पनि उल्लेख्य छ । खासगरी युवा पुस्तामा अटो–३ लोकप्रिय छ । साइमेक्स इंकका अनुसार हिजोसम्म ७० भन्दा बढी अटो–३ बुकिङ भइसकेको छ ।
बिवाइडीले टेस्ला मोडलको ‘सिल कार’ पनि प्रदर्शनीमा राखेको छ । यसको माग बढी भए पनि कम्पनीले यसको मूल्य तोकेको छैन ।