सिन्धुपाल्चोक, ५ माघ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ ।
बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।
सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो । सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडपसमेत भएको थियो ।