काठमाडौं । नेपाल टेलिकमले यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा चाडपर्व अफर सार्वजनिक गरेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै आज आफ्ना ग्राहकका लागि उक्त अफर आजदेखि लागू हुने जानकारी दिएका हुन् ।
अफर अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध हुनेछ । टेलिकमका अनुसार यो अफर आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ ।
अफर अन्तर्गत ४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।
त्यसैगरी ९८ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १९९ मा ७ दिन सम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २९४ मा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ मा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
यही अफर अन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुने पनि टेलिकमले जनाएको छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेकोसमेत टेलिकमले जनाएको छ । त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दासमेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ ।
यस अनुसार २०० देखि ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।